मेरो मोबाइलको घण्टी लगातार बजिरहेको थियो। व्यस्त सडकमा सवारी चलाइरहेको हुनाले फोन उठाउन सम्भव थिएन। एकपटक, दुईपटक, तीनपटक... फोनको घण्टी रोकिँदै फेरि बज्न थाल्यो। कसैलाई निकै हतार भएजस्तो लाग्यो। अन्ततः ट्राफिक केही पातलो भएको ठाउँमा गाडी सडकको किनारमा रोकेँ र फोन उठाएँ।
‘हेलो!’
उताबाट प्रश्नहरूको वर्षा हुन थाल्यो।
‘विनोद हो? के छ खबर? के गर्दै छस्? छोरा–छोरी कति भए? कत्रा भए? कहाँ बस्छस्? बूढो भइस् होला, होइन? कपाल फुले कि अझै कालै छन्? के काम गर्छस्? घुमघाम कत्तिको हुन्छ? कि जागिर र घरको चक्करमै जिन्दगी बिताइरहेको छस्? फुर्सद छ कि छैन? मैले बोलाएको ठाउँमा आउँछस् कि आउँदैनस्?’
म एकछिन त अवाक् भएँ।
न परिचय, न अभिवादन, न कुनै औपचारिकता! एकोहोरो प्रश्नमाथि प्रश्न। त्यसमाथि सम्बोधन पनि ‘तँ’!
अपरिचित व्यक्तिले यसरी सम्बोधन गर्दा कसलाई पो चित्त बुझ्छ र? मेरो रिसको पारो चढिसकेको थियो।
‘पहिला तपाईं को बोल्नुभएको हो भन्नुस् त! अनि कुरा गरौँला।’
मेरो कुरा नसकिँदै उताबाट हाँसोको आवाज आयो।
मैले झन् झर्किँदै भनेँ, ‘के हाँस्नुभएको? को हो तपाईं?’ फोन काटिदिएँ।
तर महाशयलाई मेरो असन्तुष्टिले कुनै असर गरेन। केही सेकेन्डमै फेरि फोन आयो। यस पटक फोन उठाउनेबित्तिकै मैले आफ्नो रिस पोख्न थालेँ। मेरो गालीको वर्षा भइरहँदा उताबाट भने बेलाबेला हाँसेको आवाज मात्र आइरह्यो।
अन्ततः उसले मेरो कुरा काट्दै भन्यो, ‘तेरो गाली सकियो कि अझै बाँकी छ? कति सानो कुरामा रिसाउँछस् यार! तेरो यो बानी अझै उस्तै रहेछ। उमेरले परिपक्व भए पनि स्वभावचाहिँ दुई दशकअघिकै रहेछ। तँ कहिल्यै परिवर्तन नहुने भइस्, होइन?’
म चुप लागेँ।
उसको आवाजमा एउटा अनौठो आत्मीयता थियो। मेरो रिसाउने बानीसम्म थाहा पाउने, मेरो स्वभावको मजाक उडाउन सक्ने र मेरो गालीलाई पनि हाँसेर पचाउन सक्ने मान्छे पक्कै सामान्य परिचित हुन सक्दैनथ्यो।
‘ल, अब भन्नुस् त हजुर! को बोल्नुभएको?’
‘लौ, बल्ल बुद्धि पलाएछ! भोलि मेरो किताबको विमोचन छ। मण्डला थिएटर, कालिकास्थानमा। मिल्छ भने आइज है!’
‘कुन किताब? अनि तपाईं...’
‘भोलि भेटौँला, सबै कुरा गरौँला। अरूलाई पनि खबर गर्नुछ। राखेँ है!’ उसले फोन राखिदियो।
म भने मोबाइल हातमा लिएर केही बेर टोलाइरहेँ, मेरो मोबाइल नम्बर उसले कसरी भेट्यो। आवाज परिचित थियो, शैली पनि परिचित थियो, तर नाम सम्झन सकिरहेको थिइनँ।
घर पुगेपछि श्रीमती उर्मीसँग सबै कुरा सुनाएँ। मेरा प्रायः मिल्ने जति सबै व्यक्तिगत कुरा उर्मीसँग छलफल गर्ने बानी थियो।
उर्मीले एकछिन सोचिन् र झट्ट भनिन्, ‘जहाँसम्म मलाई याद छ, तपाईंको कवि साथी त एउटै हुनुहुन्थ्यो नि! रामेश। कतै उहाँ नै त होइन?’
रामेश!
नाम सुन्नासाथ मनभित्र कताकता एउटा पुरानो ढोका खुलेझैँ भयो। हो, हुन त रामेश नै हुन सक्छ। तर यकिन गर्न सकिनँ।
रामेश मेरो विद्यालय जीवनदेखिको साथी थियो। सहपाठी मात्र होइन, सुखदुःखको अभिन्न सहयात्री। हामीबीच सायद लुकाउनुपर्ने कुनै कुरा थिएन। कयौँ दिन र रात बेतुकका गफ गरेरै बिताउँथ्यौँ। कहिले भविष्यका ठूला सपना देख्थ्यौँ, कहिले संसार बदल्ने योजना बनाउँथ्यौँ त कहिले आफैँले बनाएका योजनामाथि आफैँ हाँस्थ्यौँ।
म उसलाई प्यारले ‘रामु’ भन्थेँ र ऊ मलाई ‘बिन्दु’।
साहित्य उसको विशेष रुचिको विषय थियो। उसले कविता, कथा, निबन्धलगायत विभिन्न विधामा कलम चलाउँथ्यो। तर कथाप्रति उसको विशेष लगाव थियो।
ऊ बारम्बार भन्ने गर्थ्यो, ‘बिन्दु, एक दिन म यति धेरै कथा लेख्नेछु कि तैँले पढेर भ्याउने छैनस्।’ म उसको कुरा सुनेर हाँस्थेँ। ‘पहिला लेख्न त सुरु गर्, अनि पढ्ने मान्छे पनि खोजौँला!’
ऊ झन् जोसिँदै भन्थ्यो, ‘तँलाई देखाउँछु नि एक दिन!’
विद्यालय शिक्षा पूरा गरेपछि हामी प्राविधिक शिक्षाका लागि पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पुग्यौँ। त्यहाँ हाम्रो मित्रता अझ प्रगाढ भयो। त्यहीँ कन्दरा ब्यान्डका विवेक श्रेष्ठसँग पनि हाम्रो घनिष्ठता बढेको थियो। होस्टेलका कोठामा हुने सांगीतिक जमघट, गफगाफ र सिर्जनाका ती दिनहरू अहिले पनि स्मृतिमा ताजा छन्। ‘चञ्चले कान्छीको जोवन’ जस्ता गीतको सिर्जनात्मक माहोल त्यही समयको एउटा अविस्मरणीय सम्झना बनेर बसेको छ।
कलेजमा मात्र होइन, बाहिर कतै साहित्यिक कार्यक्रम भयो भने पनि रामेशको चर्चा छुट्दैनथ्यो। कविता होस् वा कथा प्रतियोगिता, पुरस्कारको सम्भावित विजेताको सूचीमा उसको नाम प्रायः निश्चित हुन्थ्यो।
ओभरसियरको पढाइ पूरा भएपछि म इन्जिनियरिङमा स्नातक गर्न पुल्चोक गएँ। रामेश भने सिँचाइसम्बन्धी काम गर्ने एउटा विदेशी संस्थामा आबद्ध भयो।
केही वर्षसम्म हाम्रो पत्राचार र बेलाबेलाको भेटघाट भइरह्यो। तर मैले स्नातक पूरा गरेर भौतिक योजना मन्त्रालयमा जागिर सुरु गरेपछि हाम्रो सम्पर्क बिस्तारै पातलिँदै गयो। जिम्मेवारी थपिँदै गए, प्राथमिकताहरू फेरिँदै गए र जिन्दगीको व्यस्तताले पुराना सम्बन्धलाई क्रमशः ओझेलमा पार्दै लग्यो।
समयले हामीलाई टाढा बनायो, तर सम्झनाले कहिल्यै छुट्टिन दिएन। सायद यही कारणले पनि फोन गर्ने व्यक्ति रामेश नै हो कि भन्ने लागिरहेको थियो।
भोलिपल्ट बिहान उर्मीले सोधिन्, ‘आज अफिस जानुहुन्छ कि साथीको निम्तोमा जाने विचार छ?’
म केही बेर मौन रहेँ। मनले जाने निर्णय गरिसकेको थियो, तर व्यस्तताको बहानामा मेरो प्राथमिकता फेरिने, मन बहकिने र फेरि कतै पाइला पछि हट्ने त होइन भन्ने द्विविधा चाहिँ बाँकी नै थियो। अन्ततः मोबाइल उठाएर सहयोगी पुष्पाञ्जलीलाई फोन गरेँ।
‘पुष्पाञ्जलीजी, आज म एउटा विशेष कामले अफिस आउन नसक्ने भएँ। बिदामा बसेको जानकारी गराइदिनुहोला। कुनै अत्यावश्यक काम परे खबर गर्नुहोला, आवश्यक परे म आउँछु।’
‘हवस् सर,’ उनले सहजै उत्तर दिइन्।
मेरो बिदाको कुरा छोरीले सुनिछे। ऊ खुसीले उफ्रिन थाली। ‘ममी! आज बाबा घरमै बस्ने रे? हामी घुम्न जाने हो है? मल्टिप्लेक्समा फिल्म पनि हेर्ने हो नि! बाबा, तपाईंले कति दिनदेखि मलाई घुमाउन लैजान्छु भन्नुभएको छ!’
उसको उत्साह देखेर मन अलि खिन्न भयो। आज उसको चाहना पूरा गर्न सक्ने अवस्था थिएन।
उर्मीले सम्झाउँदै गरेको मधुरो आवाज सुनियो, ‘छोरी, बाबाको आज विशेष कार्यक्रममा जानुपर्ने छ रे। तिमी पनि यसपालि कक्षा दशमा पढ्दै छौ। एसईईको परीक्षा दिनुपर्ने मान्छे, यसरी स्कुल गयल हुनुहुन्न नि! बरु अर्को कुनै दिन तिम्रै रोजाइको ठाउँमा घुमाउन लैजान म पनि बाबालाई भन्छु। आज जिद्दी नगर, तयार भएर स्कुल जाऊ।’
म ऐनाअगाडि उभिएँ। ऐनाले मेरो अनुहारभन्दा बढी समयको परिवर्तन देखाइरहेको थियो। कपाल लगभग सेतै भइसकेका थिए। निधारमा चाउरीका केही रेखा थपिएका थिए। केही बेर आफ्नै अनुहार हेरिरहेँ।
के म साँच्चै त्यति धेरै बदलिएको थिएँ?
दुई दशकअघि पोखराका गल्लीहरूमा सपनाको पछि दौडने त्यो बिन्दु कहाँ हरायो? समयले उसको ठाउँमा एउटा जिम्मेवार कर्मचारी, पति र बाबु खडा गरिदिएको थियो।
सधैँझैँ सुट लगाएर तयार भएँ।
भित्रबाट उर्मीको आवाज आयो, ‘हैन, अफिस जान लागेको हो कि अन्तै? अनौपचारिक कार्यक्रममा पनि औपचारिक पोसाक! यो मान्छेलाई त ड्रेस सेन्स नै छैन। ल, त्यो सुट खोलेर क्याजुअल ड्रेस लगाउनुस्।’
हो त नि! म पनि कस्तो मूर्ख! साथीको पुस्तक विमोचनमा पनि अफिसकै पोसाक! कपडा परिवर्तन गरेँ र मण्डला थिएटर, कालिकास्थानतर्फ लागेँ। मण्डला थिएटरको गेटनजिकै एउटा ठूलो फ्लेक्स बोर्डले आगन्तुकहरूलाई स्वागत गरिरहेको थियो।
‘रामेशको कथा सङ्ग्रह ‘साथी हराएको सूचना’ को विमोचन कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत!’
बोर्डमा लेखिएको शीर्षक पढ्नासाथ म केही बेर रोकिएँ।
‘साथी हराएको सूचना!’
कस्तो अनौठो शीर्षक! कतै मेरो र रामेशको सम्बन्धसँग यसको कुनै साइनो त छैन?
मनमा अनेक प्रश्न उठ्न थाले।
धेरै दिनपछि जीवनमा एउटा यस्तो दिन आएको थियो, जहाँ पुग्ने निर्णय कुनै बाध्यता वा जिम्मेवारीले होइन, मनले गरेको थियो। छातीमाथि हात राखेर केही बेर आँखा चिम्लिएँ।
मनमनै भनेँ, ‘ओहो! आज नआउने निर्णय गरेको भए त जिन्दगीको एउटा ठूलो अवसर गुमाउने रहेछु।’
त्यही बेला ढोकामा पाहुनाहरूको स्वागत गरिरहेको एक व्यक्तिको नजर ममाथि परेछ।
ऊ एक्कासि चकित भयो। हातमा भएका कागज र मोबाइल सहायकलाई थमाएर ऊ दौडिँदै मतिर आयो।
‘बिन्दु!’
त्यो आवाज!
म केही बोल्न नपाउँदै उसले मलाई बेस्सरी अँगालो हाल्यो।
‘रामु!’
दुई दशकको दूरी केही सेकेन्डमै समाप्त भयो। हाम्रा आँखामा आँसु भरिए। मुखबाट शब्द निस्कन सकेनन्। एकअर्कालाई अँगालोमा कसिरह्यौँ।
त्यो अँगालोमा पोखराको होस्टेल थियो, कलेजका ती रमाइला दिनहरू थिए, अनगिन्ती सपना थिए, अधुरा वाचा थिए र वर्षौँदेखि थन्किएका सम्झनाहरू थिए।
हामी दुवैलाई छुट्टिन मन थिएन। त्यत्तिकैमा कसैले बोलाएको आवाज आयो।
‘रामेश!’
हामी अँगालोबाट छुट्टियौँ।
‘प्रतिभा! तिमी? मैले तिमी आउँदिनौ भन्ने सोचेको थिएँ। लौ, राम्रो भयो!’ रामेशले खुसी हुँदै स्वागत गर्यो।
ती रामेशकी परिचित रहिछन्। केही बेरको भलाकुसारीपछि रामेशले मलाई परिचय गराउँदै भन्यो, ‘बिनु, चिनिस् प्रतिभालाई? हामी पोखरामा ओभरसियर पढ्दा सँगै थियौँ नि!’
मैले प्रतिभालाई ध्यानपूर्वक हेरेँ। अनुहार कताकता परिचित लाग्थ्यो, तर स्मृतिले नामसँग अनुहार जोड्न सकेन। ‘खै, सम्झिनँ यार,’ मैले सहजै भनेँ।
प्रतिभाले पनि हाँस्दै भनिन्, ‘मलाई पनि त्यस्तै भयो। समयले हामी सबैको अनुहार फेरिदिएछ।’ हामी दुवैको अपरिचित देखाउने नाटकको झुट अनुहारमा प्रस्ट झल्कियो।
‘ल, तिमीहरू कुरा गर्दै गर। म पाहुनाहरूलाई स्वागत गर्न जान्छु। कार्यक्रमपछि धित मर्ने गरी गफ गरौँला,’ रामेश फेरि ढोकातिर लाग्यो।
म र प्रतिभा एकअर्कालाई हेरेर मुस्कुरायौँ। के बोल्ने, कहाँबाट सुरु गर्ने भन्ने अलमल थियो।
भीडमा नचिनेका अनुहार धेरै थिए। त्यसैले केही बेरको मौनतापछि मैले नै कुराकानी सुरु गरेँ।
‘तिमी अहिले कहाँ छौ, के गर्दै छौ?’
‘म त काठमाडौँमै छु। एउटा शैक्षिक संस्थामा शिक्षण गर्छु, तिमीलाई मन पर्ने विषयको शिक्षक, याद छ ‘इन्जिनियरिङ फिजिक्स’ कान्तिपुर इन्जिनियरिङ कलेजमा। तिमी नि?’
‘म त मन्त्रालयमै छु। जागिर, घरपरिवार, छोराछोरी... जिन्दगी त्यसैगरी बितिरहेको छ।’
उनी मुस्कुराइन्।
‘जिन्दगी त सबैको त्यस्तै हो नि। तर कहिलेकाहीँ पुराना दिन सम्झिँदा अहिलेको जीवन आफ्नै हो कि अर्कैको जस्तो लाग्छ।’
उनको कुरामा म सहमत भएँ।
‘हो नि! पोखराका ती दिनहरू सम्झिँदा अहिले पनि लाग्छ, हामी कति भाग्यमानी थियौँ।’
‘विशेषगरी होस्टेलका दिनहरू!’ उनले थपिन्।
म हाँसेँ।
‘होस्टेलका दिन सम्झनेबित्तिकै रामेशको साहित्यिक गोष्ठी सम्झना आउँछ। हामीलाई सुत्न नदिएर मध्यरातसम्म कथा सुनाउँथ्यो।’
प्रतिभा एकाएक गम्भीर भइन्। ‘हो, तर उसले लेखेका कथाभन्दा पनि उसले नभनेका कथाहरू धेरै थिए।’
उनको यो भनाइले मलाई अलि अचम्मित बनायो। ‘के भन्न खोज्नुभएको?’
‘केही होइन। आजको कार्यक्रमपछि कुरा गरौँला।’ उनले कुरा टुङ्ग्याइन्।
मलाई भने उनको त्यो अधुरो वाक्यले झन् जिज्ञासु बनायो।
कार्यक्रम सुरु भयो।
सभाकक्षमा साहित्यकार, पत्रकार, लेखक, शुभचिन्तक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। म र प्रतिभा अगाडिको एउटा कुर्सीमा बस्यौँ।
कार्यक्रम सञ्चालकले रामेशको साहित्यिक यात्राबारे चर्चा गर्न थाले। उसको लेखन, संघर्ष, साहित्यप्रतिको समर्पण र नेपाली कथासाहित्यमा उसको योगदानबारे बोलियो।
रामेश मञ्चमा पुग्यो। उसको अनुहारमा खुसी थियो, तर आँखाको गहिराइमा कुनै पुरानो पीडाको छाया पनि देखिन्थ्यो।
उसले आफ्नो मन्तव्य सुरु गर्यो।
‘आदरणीय अतिथिज्यूहरू, साहित्यप्रेमी महानुभावहरू र मेरा प्रिय साथीहरू!
आज मेरो जीवनको एउटा विशेष दिन हो। वर्षौँदेखि मनमा सँगालेर राखेका केही अनुभूति, सम्झना र पीडाहरूलाई कथाको माध्यमबाट तपाईंहरूसामु ल्याउन पाउँदा म अत्यन्त खुसी छु।
मान्छेले जीवनमा धेरै कुरा कमाउँछ। धन, पद, प्रतिष्ठा, परिवार र सामाजिक पहिचान। तर यी सबै प्राप्त गर्ने क्रममा कहिलेकाहीँ उसले आफूलाई सबैभन्दा नजिक ठानेका मान्छेहरू गुमाइरहेको हुन्छ।
म पनि त्यस्तै एउटा मान्छे हुँ।
आजको यस पुस्तकमा रहेका कथाहरू काल्पनिक मात्र होइनन्। कतिपय मेरा जीवनका भोगाइ हुन्, कतिपय अरूका अनुभव हुन् र कतिपय समयले मभित्र छोडेका घाउहरू हुन्।
यस सङ्ग्रहको शीर्षक कथा ‘साथी हराएको सूचना’ मेरो हृदयको सबैभन्दा नजिकको कथा हो।’
उसले केही बेर रोकिएर सभाकक्षतिर नजर दौडायो।
उसको नजर ममाथि आएर अडियो।
म झसङ्ग भएँ।
‘यो कथा मैले एउटा यस्तो साथीका लागि लेखेको हुँ, जसलाई मैले जिन्दगीको एउटा मोडमा गुमाएँ। ऊ कहाँ गयो, किन टाढियो, के भयो, मलाई केही थाहा थिएन। वर्षौँसम्म उसको कुनै खबर आएन। तर अनौठो कुरा, ऊ मेरो सम्झनाबाट कहिल्यै हराएन।’
सभाकक्ष शान्त थियो।
रामेशले फेरि भन्यो, ‘आज ऊ यहीँ उपस्थित छ। त्यसैले आज मेरो पुस्तक विमोचन मात्र होइन, मेरो जीवनको एउटा लामो प्रतीक्षाको पनि अन्त्य भएको दिन हो।’
उसको आवाज केही भारी भयो।
मेरा आँखा रसाए।
त्यसपछि पुस्तक विमोचन गरियो। उपस्थित सबैले ताली बजाए।
कार्यक्रमपछि रामेश म भएको ठाउँमा आयो।
‘बिन्दु, कस्तो लाग्यो मेरो पुस्तक?’
‘तँलाई थाहा छ, म धेरै बोल्दिनँ। तर आज भन्नैपर्छ, तेरो यो पुस्तक पढ्न म आतुर छु।’ मैले केही मौनतापछि बिस्तारै उत्तर फर्काएँ।
‘त्यसो भए एउटा प्रति तेरो लागि विशेष छ।’ उसले आफ्नो झोलाबाट एउटा पुस्तक निकाल्यो। पहिलो पृष्ठ खोल्यो र मलाई दियो।
त्यहाँ लेखिएको थियो—‘मेरो जीवनको एउटा अमूल्य साथी बिन्दुलाई, जसलाई समयले टाढा लग्यो, तर सम्झनाले कहिल्यै टाढा हुन दिएन। मित्रता भनेको सधैँ सँगै हुनु होइन रहेछ, कहिलेकाहीँ वर्षौँ नबोलेर पनि उस्तै आत्मीय रहन सक्नु रहेछ।’
— रामेश
म केही बोल्न सकिनँ।
उसले मेरो काँधमा हात राख्दै भन्यो, ‘बिन्दु, केही कुरा छन्, जुन आज तेरो अगाडि खोल्नुछ।’
त्यत्तिकैमा प्रतिभा पनि आइपुगिन्।
‘रामेश, अब तिमीले सबै कुरा भन्नुपर्छ,’ उनले भनिन्। मैले दुवैतिर हेरेँ।
‘कस्तो कुरा? मलाई पनि केही बुझ्न देऊ न!’ रामेशले गहिरो सास फेर्यो।
‘ल, अब तिमीहरू दुवै बस। आज एउटा पुरानो हिसाब मिलाउनुछ।’ हामी मण्डलाको एउटा शान्त कुनामा गएर बस्यौँ।
रामेशले कुरा सुरु गर्यो।
‘बिन्दु, तैँले सम्झेको छस्, पोखरामा हामीले एउटा साहित्यिक पत्रिका निकाल्ने योजना बनाएका थियौँ?’
‘किन सम्झन्नँ! तैँले सम्पादक बन्ने, मैले आर्थिक व्यवस्थापन गर्ने, प्रतिभाले सम्पादनमा सहयोग गर्ने भनेर योजना बनाएका थियौँ।’
‘हो, त्यही योजना।’
प्रतिभाले बीचैमा भनिन्, ‘त्यतिबेला रामेशले लेखेको एउटा कथा थियो नि, ‘हराएको मान्छे’, इन्जिनियरिङ फिजिक्सको किताब अनि किताबको पन्नाबीचमा राखेको एक हजार रुपैयाँको नोट। त्यसको पाण्डुलिपि, किताब र किताबभित्रको रुपैयाँ तिमीले नै राखेका थियौ।’
मलाई धमिलो सम्झना आयो।
‘हो, उसले मलाई एउटा फाइल दिएको थियो। तर पछि त्यो फाइल कहाँ पुग्यो, थाहा भएन।’ मैले हराएछु।
रामेशले मेरो आँखामा हेर्दै भन्यो, ‘त्यही फाइल हराएपछि हाम्रो सम्बन्धमा एउटा ठूलो गलत बुझाइ र दूरी सिर्जना भयो।’
‘के?’
‘तैँले मेरो पुस्तक, पैसा र पाण्डुलिपि लिएर फर्काइनस् भन्ने कुरा कसैले मलाई सुनाएको थियो, कसले सुनाएको हो चाहिँ नसोध नि, त्यो चाहिँ भन्दिनँ। पछि मैले तँलाई पत्र पनि लेखेँ। जवाफ आएन। त्यसपछि मैले पनि तँलाई सम्पर्क गर्ने प्रयास छोडेँ।’
म अचम्मित भएँ।
‘के कुरा गर्छस् रामु! मैले त तँलाई कैयौँ पत्र लेखेको थिएँ। तर तेरो जवाफ कहिल्यै आएन।’
प्रतिभा एकाएक गम्भीर भइन्। ‘त्यहीँ त समस्या थियो।’
हामी दुवैले उनीतिर हेर्यौँ। उनले बिस्तारै भनिन्,
‘त्यतिबेला रामेशको संस्थाको ठेगाना परिवर्तन भएको थियो। तिमीले पुरानो ठेगानामा पत्र पठाउँथ्यौ। रामेशले पनि तिम्रो पुरानो ठेगानामा पत्र पठाउँथ्यो। दुवैका पत्रहरू एकअर्कासम्म पुगेनन्। मैले पछि केही पत्रहरू फिर्ता आएको अवस्थामा देखेकी थिएँ।’
म केही बोल्न सकिनँ।
प्रतिभाले आफ्नो झोलाबाट एउटा पुरानो खाम निकालिन्। ‘यो हेर।’
खामको बाहिरी भागमा मेरो नाम लेखिएको थियो।
अक्षर रामेशकै थिए। मेरा हात काँप्न थाले।
‘यो कहाँबाट आयो?’
‘रामेशले वर्षौँअघि मलाई दिएको थियो। उसले तिमीलाई पठाउन खोजेको अन्तिम पत्र थियो। तर तिम्रो ठेगाना परिवर्तन भएको थियो। त्यसैले मैले पनि पठाउन सकिनँ। पछि समय बित्दै गयो। आज तिमीहरू दुवैलाई भेटेपछि यो कुरा लुकाउनु उचित लागेन।’
मैले खाम खोलेँ।
भित्र एउटा पुरानो पत्र थियो।
पत्रमा लेखिएको थियो—
प्रिय बिन्दु,
तँसँग रिसाएको छु कि तँलाई सम्झेर दुःखी भएको छु, आफैँले छुट्याउन सकेको छैन। हामीले सँगै देखेका सपना, सँगै बिताएका दिन र सँगै गरेका वाचाहरू यति चाँडै बिर्सन सकिन्छन् भन्ने मलाई लागेको थिएन।
तँलाई भेट्न मन छ। धेरै कुरा गर्नुछ। त्यो हराएको पाण्डुलिपिको कुरा त बहाना मात्र हो। मलाई त मेरो पुरानो साथी चाहिएको हो।
यदि यो पत्र तिमीसम्म पुग्यो भने एकपटक जवाफ लेख्नू। म अझै पनि तेरो प्रतीक्षामा छु।
उही तेरो रामु।
पत्र पढिसक्दा मेरा आँखाबाट आँसु झरिसकेका थिए।
मैले रामेशतिर हेरेँ। ‘यार, हामी कति मूर्ख रहेछौँ! एउटा सानो गलत बुझाइले हाम्रो दुई दशकको मित्रता खोस्यो।’
रामेशले मेरो हात समात्यो।
‘मित्रता कसले खोसेको थियो र बिन्दु? हामी आफैँ समयको बहावमा बग्यौँ। कहिलेकाहीँ सबै इगोलाई थाती राखेर सामान्य बन्नुपर्छ, हराएकालाई खोज्नुपर्ने हुन्छ, तर हामी त्यसलाई पनि वर्षौँसम्म थाती राख्छौँ।’
प्रतिभाले थपिन्, ‘मान्छेहरू हराउँदैनन्। कहिलेकाहीँ उनीहरूलाई खोज्न हामीसँग समय हुँदैन। अनि एक दिन अचानक उनीहरू भेटिँदा थाहा हुन्छ, हराएको त मान्छे होइन, हाम्रो सम्बन्ध रहेछ।’
हामी तीनै जना केही बेर मौन रह्यौँ।
त्यो मौनतामा पछुतो पनि थियो, खुसी पनि थियो र वर्षौँदेखि थन्किएका भावनाहरूको एउटा अव्यक्त उत्सर्ग पनि।
केही बेरपछि रामेशले आफ्नो पुस्तकको अन्तिम भाग खोल्यो।
‘बिन्दु, तैँले यो शीर्षक कथा पढ्नुपर्छ। यो कथा मैले तेरो नाममा लेखेको हुँ।’
मैले पुस्तक हातमा लिएँ।
कथाको पहिलो पृष्ठमा एउटा सूचना प्रकाशित गरिएको थियो-
साथी हराएको सूचना!
नाम: विनोद।
सम्बन्ध: अभिन्न मित्र।
अन्तिम पटक भेटिएको स्थान: पोखरा।
हराएको मिति: ठ्याक्कै याद छैन, तर दुई दशकअघि।
पहिचान: सानो कुरामा रिसाउने, ठूलो सपना देख्ने, साथीका लागि जस्तोसुकै त्याग गर्न सक्ने र आफूलाई संसारको सबैभन्दा बुद्धिमान् ठान्ने एउटा सोझो मान्छे।
खोजी गर्नुको कारण: उसलाई कुनै जरुरी काम छैन। केवल पुराना दिनहरू सम्झन मन छ। अधुरा गफ पूरा गर्न मन छ। सँगै देखेका सपनाहरूको हिसाब गर्न मन छ।
यदि कसैले भेट्टाउनुभयो भने कृपया खबर गरिदिनुहोला। पुरस्कारस्वरूप उसलाई उसको पुरानो साथीको अँगालो प्रदान गरिनेछ।
सूचना प्रकाशित गर्ने: रामेश।
कथा पढ्दै गर्दा म हाँसेँ पनि, रोएँ पनि।
‘रामु, तैँले त मेरो मजाक नै बनाइदिइस्!’
ऊ हाँस्यो।
‘अझै कहाँ सकिएको छ र, बिन्दु!’
उसले पुस्तकको अन्तिम पृष्ठ पल्टायो।
त्यहाँ एउटा वाक्य लेखिएको थियो—‘कुनै साथी हराएको छैन, केवल उसलाई खोज्ने समय हराएको छ।’
म केही बेर त्यो वाक्य हेरिरहेँ।
जीवनमा हामीले धेरै कुरा खोज्छौँ। राम्रो जागिर, राम्रो घर, सामाजिक प्रतिष्ठा, आर्थिक समृद्धि र सफलताको शिखर। तर यही खोजीमा कहिलेकाहीँ ती मान्छेहरूलाई बिर्सन्छौँ, जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाएका हुन्छन्।
हामीले आफ्नो सफलताको सूचीमा धेरै नाम थप्छौँ, तर खुसीको सूचीमा छुटेका पुराना अनुहारहरू सम्झन भ्याउँदैनौँ।
त्यस दिन हामी तीनै जना लामो समयसम्म सँगै बस्यौँ।
पोखराका पुराना दिन सम्झियौँ। होस्टेलका रमाइला घटना, कलेजका साथीहरू, साहित्यिक कार्यक्रम, विवेकसँगका सांगीतिक जमघट र भविष्यका अधुरा सपनाहरूको चर्चा गर्यौँ।
प्रतिभाले पनि आफ्ना जीवनका अनुभव सुनाइन्। उनी पनि समयसँगै धेरै बदलिएकी रहिछन्। तर उनको हाँसोमा अझै पनि पोखराकै पुरानो आत्मीयता बाँकी थियो।
बेलुका छुट्टिने बेला रामेशले भन्यो, ‘अब फेरि हराउने होइन नि, बिन्दु!’
मैले उसको हात समात्दै भनेँ, ‘यसपटक हरायौँ भने खोज्न धेरै समय लाग्नेछैन। मोबाइल नम्बर छ, सामाजिक सञ्जाल छ, भेट्ने बहाना छ। तर सबैभन्दा ठूलो कुरा, अब हामीसँग हराउन नदिने इच्छा छ।’
रामेश मुस्कुरायो।
प्रतिभाले पनि भनिन्, ‘अब तिमीहरू दुवैले एउटा वाचा गर्नुपर्छ। सम्बन्धलाई समयको जिम्मा लगाएर छोड्ने छैनौ।’
हामीले एकअर्कालाई हेर्यौँ र मुस्कुरायौँ।
त्यति नै बेला, ‘बाबा, ममी, म ढिलो भएँ, कार्यक्रम सकिएछ है,’ भन्दै एउटा केटो रामेश र प्रतिभालाई अँगालो हाल्न आइपुग्यो। म अलमल्ल परेर उनीहरूलाई हेरिरहेँ। के गरूँ, कसो गरूँ, भेउ नै पाइनँ। आफ्नो मूर्खता र अनभिज्ञता देखेर आफैँलाई दिक्क लाग्यो। रामु र प्रतिभा त श्रीमान्–श्रीमती पो रहेछन्, उनीहरूले मलाई दिनभरि मूर्ख बनाएका रहेछन्।
घर फर्कँदै गर्दा गाडीको झ्यालबाट बाहिर हेरेँ। काठमाडौँका सडकहरू उस्तै व्यस्त थिए। मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ दौडिरहेका थिए। कसैलाई अफिस पुग्नु थियो, कसैलाई घर, कसैलाई आफ्ना सपनाहरूको पछि लाग्नु थियो।
तर मेरो मन भने पोखराका ती पुराना गल्लीहरूमा भौँतारिइरहेको थियो।
घर पुगेपछि छोरी दौडिँदै आई। ‘बाबा! आज कहाँ जानुभएको थियो? फिल्म हेर्न जान पाइएन नि!’
मैले उसलाई अँगालो हाल्दै भनेँ, ‘आज बाबा एउटा धेरै पुरानो साथी भेट्न गएको थियो।’
‘कति पुरानो?’
‘तिमी जन्मिनुभन्दा पनि धेरै पुरानो।’
‘अनि भेट्नुभयो त?’
‘भेटेँ नि! तर थाहा छ छोरी, आज मैले एउटा ठूलो कुरा सिकेँ।’
‘के कुरा बाबा?’
मैले उसको टाउको मुसार्दै भनेँ, ‘हामीले जीवनमा धेरै नयाँ साथी बनाउनुपर्छ, धेरै नयाँ सम्बन्ध जोड्नुपर्छ। तर पुराना सम्बन्धलाई कहिल्यै हराउन दिनुहुँदैन। किनकि केही सम्बन्ध यस्ता हुन्छन्, जुन वर्षौँसम्म नबोले पनि मनबाट कहिल्यै टाढा हुँदैनन्।’
उसले मेरो कुरा पूरै बुझी कि बुझिन, थाहा भएन। तर मेरो अँगालोमा बेरिएर मुस्कुराई।
त्यसपछि म आफ्नो कोठामा गएँ। रामेशले दिएको पुस्तक फेरि खोलेँ। अन्तिम पृष्ठमा लेखिएको वाक्य पढेँ— ‘कुनै साथी हराएको छैन, केवल उसलाई खोज्ने समय हराएको छ।’
त्यो रात निद्रा लागेन।
म सोचिरहेँ— हामी सबैको जीवनमा कुनै न कुनै रामेश हुन्छ, कुनै प्रतिभा हुन्छ र कतै न कतै एउटा विनोद पनि हराइरहेको हुन्छ।
कहिलेकाहीँ हामी आफैँ पनि कसैको जीवनमा हराएको साथी बनिरहेका हुन्छौँ।
हामी सोचिरहन्छौँ, उसले फोन गरोस्। उसले भेट्न बोलाओस्। उसले पहिले सम्झियोस्। तर एउटा सम्बन्धलाई जीवित राख्न कसैले त पहिलो कदम चाल्नुपर्छ नि!
भोलिपल्ट बिहान उठ्नेबित्तिकै मैले मोबाइल उठाएँ।
रामेशको नम्बरमा फोन गरेँ।
‘हेलो, रामु!’
उताबाट उही पुरानो आवाज आयो।
‘के छ बिनु? फेरि के भयो?’
मैले हाँस्दै भनेँ, ‘केही भएको छैन यार। आज एउटा नयाँ सूचना प्रकाशित गर्न मन लाग्यो।’
‘कस्तो सूचना?’
‘हराएको साथी फेला परेको सूचना!’
उताबाट जोडले हाँसेको आवाज आयो।
‘हा... हा... हा...!’
त्यो हाँसोमा पोखरा थियो, होस्टेल थियो, कलेज थियो र दुई दशकपछि फेरि भेटिएको मित्रताको न्यानोपन थियो।
मैले फोन राखेँ।
प्रतिभालाई पनि व्यक्तिगत रूपमै फोन गर्न मन लाग्यो, त्यसपछि सामाजिक सञ्जाल खोलेँ र प्रतिभाको नम्बर खोज्न थालेँ।
मनमनै सोचेँ— आजदेखि हराएका साथीहरू खोज्ने अभियान सुरु गर्नुपर्छ।
किनकि जिन्दगी धेरै लामो छैन। अनि सम्बन्धहरूलाई सधैँ भोलिका लागि थाती राखिरहनु पनि हुँदैन।
सायद साथी हराएको सूचना प्रकाशित गर्नुभन्दा ठूलो कुरा, साथी हराउनै नदिने प्रयास गर्नु हो।