किताब चर्चा
फागुन–चैतलाई हामी आन्दोलनको याम भन्छौं।
यो बेला खेतीपाती भित्र्याएर किसानहरू फुसर्दिला हुन्छन्। मौसम पनि सामान्यतया सफा रहन्छ — न टन्टलापुर घाम, न ठिहिरो जाडो। त्यही भएर राज्यसत्ता पल्टाउने ठूल्ठूला आन्दोलन हामीकहाँ यही समय भएका छन्।
विश्व परिवेशमा कुन समयलाई आन्दोलनको याम भन्ने होला? के त्यस्तो कुनै बेला हुन्छ होला, जब संसारै आन्दोलनमय होस्?
एकचोटि अन्तर्राष्ट्रिय जगतमा सर्सती आँखा दौडाउनुस् त! संसार अहिले त्यही समयबाट गुज्रँदैछ।
युरोपदेखि अमेरिका र एसियादेखि अफ्रिकासम्मका साना–ठूला, धनी–गरिब सबै खालका देश आन्दोलित छन्। दसौं हजार जनता सडकमा ओर्लेका छन्।
यस्तै लहर सन् १९८० दशकको अन्त्य र ९० दशकको प्रारम्भमा थियो, जब संसारभरि उदार लोकतन्त्रको पक्षमा आवाज सल्बलाएको थियो।
अहिलेको आन्दोलन भने लोकतन्त्रको निम्ति उठेको आवाज होइन। विरोधको आगो सल्केका प्रायः देशमा लोकतान्त्रिक शासन व्यवस्था नै छ। जनताले चुनेकै प्रतिनिधिहरू सरकारमा छन्। तै पनि जनता खुसी छैनन्, सन्तुष्ट छैनन्। कतै राजनीतिक नेताहरूको व्यवहारले असन्तुष्टि छ, कतै आर्थिक असमानताले।
उदाहरणका लागि, केही मुलुकको अवस्था हेरौं।
चिलीमा मूल्य वृद्धिले आन्दोलन चर्कायो। आर्थिक र राजनीतिक रूपले स्थिर ठानिएको यो दक्षिण अमेरिकी देशमा चार प्रतिशत सवारी भाडा बढ्नासाथ जनता सडकमा ओर्ले। बढ्दो आर्थिक असमानताले भित्रभित्रै गुम्सेको आक्रोश छताछुल्ल भयो।
लेबनानमा पनि आर्थिक समस्या, भ्रष्टाचार र सार्वजनिक सेवाको बेथितिले जनतालाई सडकमा आउन बाध्य पार्यो। त्यहाँ प्रधानमन्त्री साद–अल–हरिरीले राजीनामा दिइसकेका छन्, तर संकट टरेको छैन। थप राजनीतिक अस्थिरताका संकेत देखिँदैछन्।
त्यत्रो लडाइँबाट गुज्रेर आएको इराकमा एक महिनाअघि सरकारविरुद्ध प्रदर्शन हुँदा दुई सयभन्दा बढीको ज्यान गयो। हजारौं घाइते भए।
हङकङमा सुपुर्दगी विधेयकविरुद्ध उर्लेको जनसागरले थामिने लक्षण देखाएको छैन। जनमत संग्रह गरेर युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतमा फेरि नयाँ जनमत संग्रहको माग हुँदैछ।
इथियोपियादेखि बोलिभिया, होन्डुरसदेखि हैटी र टर्कीदेखि जापानसम्म असन्तुष्टिका यस्तै स्वर सुनिँदै छन्।
कतिपय मुलुकमा त लोकतान्त्रिक पद्धतिबाट चुनिएका सरकार नै निरंकुशतातर्फ बढिरहेको आभाष हुन्छ।
अमेरिकाकै उदाहरण लिउँ — महिलामाथि यौन दुर्व्यवहारविरुद्ध अमेरिकाबाट सुरू अभियान संसारभरि फैलियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्प नै त्यसमा मुछिएको घटना बाहिर आउँदा पनि उनलाई कसैले छुन सकेन। बहुल समाजको पक्षमा वकालत गर्दै आएको अमेरिकाका उनी यस्ता राष्ट्रपति हुन्, जो आप्रवासी मुद्दामा अत्यन्तै कठोर छन्। सीमा नाघेर अमेरिकी भूमिमा छिरेका आमाका काखबाट तिनका नाबालकहरू खोस्न पछि पर्दैनन्। नागरिक समाजलाई गन्दै गन्दैनन्, प्रेसलाई त ‘फेक मिडिया’ भनेर खुलेआम लाञ्छना लगाउँछन्।
यता भारतमा पनि बहुमतप्राप्त प्रधानमन्त्री नरेन्द्र मोदी न संसदप्रति जवाफदेही देखिन्छन्, न उनले संसदलाई इज्जत गरेको पाइन्छ। सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयता भारत धार्मिक र क्षेत्रीय रूपले यति धेरै विभाजित सायदै कहिल्यै भएको थियो।
यस्ता राजनीतिक उकुसमुकुस, अनिश्चय र अन्यौललाई हामीले कसरी हेर्ने? कसरी विश्लेषण गर्ने?
आजको यो स्तम्भमा म विश्वव्यापी राजनीतिक उथलपुथलको कारण, राजनीतिक अभ्यासमा भएका त्रुटि र इतिहासबाट सिक्नुपर्ने पाठबारे चर्चा गर्दैछु।
सबभन्दा पहिला कुरा गरौं, राजनीतिक उथलपुथलको।
सन् नब्बे दशकको प्रारम्भमा पूर्वी र पश्चिमी जर्मनीलाई सैद्धान्तिक र भौगोलिक रूपमा छुट्टयाएको बर्लिन पर्खाल ढल्यो। रूसी क्रान्तिबाट स्थापित सोभियत संघ पनि त्यही समय विभिन्न राज्यमा छिन्नभिन्न भयो।
बर्लिन पर्खाल ढल्नु र सोभियत संघ विघटनले संसारभरि उदार लोकतन्त्रको पक्षमा अभूतपूर्व लहर ल्यायो। हामीकहाँ २०४६ को जनआन्दोलनले तीसवर्षे पञ्चायत ढालेर बहुदल ल्याएको त्यही बेला हो।
अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले त्यही कालखण्ड चित्रण गर्दै ‘अब उदार लोकतन्त्रको विकल्प नरहेको’ भविष्यवाणी गरेका थिए, जसका बारेमा मैले सेतोपाटीको स्तम्भमा यसअघि नै चर्चा गरिसकेको छु। (हेर्नुहोस्: सनसनी मच्चाएको 'एन्ड अफ हिस्ट्री')
अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा।फुकुयामाले ‘एन्ड अफ हिस्ट्री’ मा सोभियत संघ विघटनलाई उदार लोकतन्त्रको जित मानेका छन्। उनको आसय के थियो भने, संसारभरि जे–जति राजनीतिक अवधारणा अभ्यास गरिए, कालान्तरमा ती सबै असफल भए। अमेरिकाले वकालत र पोषण गर्दै आएको उदार लोकतन्त्र नै सबैतिर सर्वमान्य बन्यो। यसैलाई संकेत गर्दै फुकुयामाले भने, ‘उदार लोकतन्त्र नै हाम्रो वर्तमान हो, र यही हाम्रो भविष्य।’
कालान्तरमा फुकुयामाको भनाइ व्यवहारिक रूपले सही साबित भएको देखिएन।
उनले उदार लोकतन्त्र नै राजनीतिक विचारधाराको अन्तिम विन्दु हो भनेका थिए। त्यसो हो भने उदार लोकतन्त्र आत्मसात् गरिसकेका र बहुलवादी राजनीतिक प्रणाली अंगीकार गरेका मुलुकहरूमै असन्तुष्टि र आन्दोलनको लहर किन?
के फुकुयामाको ‘एन्ड अफ हिस्ट्री’ कुनै अर्कै ग्रहका लागि लेखिएको ग्रन्थ थियो?
यसको निम्ति हामीले तीनवटा राजनीतिक अवधारणा बुझ्नुपर्छ।
पहिलो, बजारनिर्देशित अवधारणा, जसको सुरूआत अमेरिकाबाट भयो। अमेरिकाको पुँजीवादी लोकतन्त्रले बजारलाई सर्वोपरी ठान्छ। खुला बजार र लोकतन्त्रको मिश्रणले नै समृद्धि र खुसी ल्याउँछ भन्ने अमेरिकी राजनीतिक अवधारणाको विश्वास छ।
दोस्रो, समुदायनिर्देशित अवधारणा, जुन युरोपेली विचारधारा हो। जब मान्छेले लडाइँको विभीषिका देख्छ, तब शान्तिको महत्व बुझ्छ। पहिलो र दोस्रो विश्वयुद्धबाट गुज्रेका युरोपेली मुलुकहरूले राष्ट्रिय आकांक्षाको विभेद नै युद्धको कारण हो भन्ने बुझे। युद्धको खतरा टार्न, आर्थिक समृद्धि र खुसी ल्याउन उनीहरूले एकतामा जोड दिए। युरोपेली संघ, संयुक्त मुद्रा, एकीकृत अर्थतन्त्र, सीमारहित राष्ट्रको परिकल्पना त्यसैका परिणाम हुन्।
तेस्रो हो, सोभियत संघको प्रविधिनिर्देशित अवधारणा। जसले भन्छ– इतिहासको गति भनेको हुने र नहुनेबीचको द्वन्द्वले निर्धारण गर्छ। प्रकृतिको यो भौतिक नियमलाई हस्तक्षेप गर्ने एउटा महत्वपूर्ण पक्ष प्रविधि हो। यही मान्यताका आधारमा उनीहरूले प्रविधिको बाटो खोले। प्रविधिले सामाजिक परिवर्तन ल्यायो। सामाजिक परिवर्तनले क्रान्ति ल्यायो र त्यही क्रान्तिले समृद्धि हासिल हुने कल्पना पनि लिएर आयो।
पछिल्लो समय संसारभरिका राजनीतिक तथा आर्थिक परिवर्तनमा यी तीनैवटा अवधारणा कतै अड्किएको आभाष हुन्छ।
आज प्रतिनिधिमूलक लोकतन्त्रप्रति मान्छे आश्वस्त छैन। चुनाव जितेर आएका जनप्रतिनिधिको कमजोरीले जनताको विश्वास गुम्दैछ। विभिन्न जातजाति, भाषाभाषी समेटेर बनेको राज्यले बहुलताको मुद्दा सम्बोधन गर्न सकेको छैन।
बजारप्रति पनि मान्छे त्यत्तिकै क्षुब्ध छ। उदार अर्थतन्त्रका नाममा सानो समूहले राज्यका स्रोतसाधन र अर्थतन्त्रमा कब्जा जमाएका छन्। कानुनी शासन भुत्ते भएको छ। आर्थिक असमानता नियन्त्रण गर्न लोकतान्त्रिक संस्थाहरू असफल हुँदैछन्।
जब समाज बहुल हुँदै जान्छ, विविध पहिचानले भरिन्छ, राज्यका स्रोतसाधन र नीतिहरूमा समुदायको आ–आफ्नै दाबी र प्रतिदाबी सुरू हुन्छ। विगतमा उदार लोकतन्त्र वामपन्थी र दक्षिणपन्थीबीच विभाजित थियो। वामपन्थीहरू राज्यको उपस्थिति बढी हुनुपर्छ भन्थे, दक्षिणपन्थीहरू राज्यभन्दा बजारको भूमिका बढी खोज्थे। आज अधिकांश राज्य पहिचान, आदर्श, निराशा र तनावमा जेलिएका छन्। एकातिर पहिचानको खोजी छ, अर्कातिर खोजेको पाइनँ भन्ने निराशा। कोही समृद्ध हुन नसकेर तनावमा छन्, कोही आफूले भोगचलन गर्दै आएको स्रोत बाँड्नुपरेकोमा क्रोधित।
हरेक व्यक्ति आफ्नो हैसियत स्थापित भएको अनुभूति गर्न चाहन्छ। राज्यले बराबरी व्यवहार गरोस् भन्ने अपेक्षा राख्छ। यही परस्परविरोधी अपेक्षाले उत्पन्न गराउने तनाव, क्रोध र निराशाले समाजलाई चिरा पारेको छ। असन्तुष्टि र द्वन्द्वको बिज रोपेको छ।
अर्कातिर, प्रविधिले सुनौलो भविष्य दिन्छ भन्दा भन्दै यसप्रति प्रशस्त शंका उब्जन थालेका छन्। हिजोसम्म प्रविधिले सबैको आवाजलाई समान हैसियत दिन्छ भन्ने ठानिन्थ्यो। आज यसमा पनि बोल्नेहरूकै पिठो बिकेका प्रशस्त दृष्टान्त छन्। म्यानमारमा रोहिंगा मुस्लिम समुदायविरुद्ध घृणा फैलाउन फेसबुक नै हतियार बन्यो, जुन प्रविधिसिर्जित सामाजिक सञ्जालको सशक्त माध्यम हो।
यी सब घटनाक्रम हेर्दा अहिलेसम्मका समाजशात्रीय वा राजनीतिक चिन्तनले पछिल्लो परिवर्तन बुझ्न नसकेको हो कि जस्तो लाग्छ। हिजोसम्म इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम विद्वता (आर्टिफिसियल इन्टिलिजेन्स) लगायतको परिकल्पनै थिएन। आज संसार यी सबैबाट जेलिएको छ, जसलाई हिजोको समाजशास्त्रीय चिन्तनले सम्बोधन गर्दैन।
इतिहासकार युभल नोहा हरारीका अनुसार, कृषि युग सुरू भएपछि मान्छेले त्यसलाई आत्मसात् गर्न सयौं वर्ष लगाएका थिए। अबको परिवर्तन भने यति चाँडो–चाँडो भइरहेको छ, मान्छेले नयाँ परिवर्तन आत्मसात् गर्न पर्याप्त समय पाइरहेका छैनन्। यसले संसारको भविष्य प्रक्षेपण गर्न कठिन छ। समाजको आकांक्षा के हो र समाज कता जाँदैछ भन्ने न समाजशास्त्रले बुझेको छ, न राजनीति वा अर्थशास्त्रले।
विश्वव्यापी राजनीतिक उथलपुथलको कारण यही अन्यौल र अस्थिरतामा लुकेको छ।
त्यसो भए के यी अन्यौल र अस्थिरताको हल छैन?
यहाँ आएर जोडिन्छ, राजनीतिक अभ्यासको कुरा।
![](/uploads/shares/FEATURE/sudeep shrestha/IMG_6148.jpg)
जब हामी पोखरीमा ढुंगा हुत्याउँछौं, त्यो ढुंगाको वेगले पानीमा तरंग ल्याउँछ। त्यो तरंग रोक्न अर्को ढुंगा हुत्यायौं वा जाल हाल्यौं भने तरंग अझ बढ्छ। जबसम्म हामी बाहिरबाट बल प्रयोग गरिरहन्छौं, तबसम्म पानीको तरंग थामिँदैन।
तरंगको नियम हुन्छ– त्यो विस्तारै आफैं थामिन्छ।
उदार लोकतन्त्र भनेको पनि पोखरीजस्तै हो। सरकारका विभिन्न राजनीतिक वा आर्थिक हस्तक्षेपले लोकतन्त्ररूपी पोखरीमा अस्थिरताका तरंग उत्पन्न हुन्छन्। त्यो तरंग थाम्न हामीले बल प्रयोग गर्यौं वा लोकतन्त्रको मर्मविपरीत त्यसलाई बाहिरबाट सच्याउन खोज्यौं भने पानीको छालझैं अस्थिरता अझ बढ्दै जान्छ, थामिँदैन।
अहिले संसारभरि उठेको तरंग लोकतन्त्रको पोखरीमा देखिएका चुनौतीका छाल हुन्। त्यसलाई थाम्ने उपाय भनेको लोकतान्त्रिक संस्थाहरूको अनादर, उपेक्षा वा मूल्य–मान्यताहरूको परिधि नाघेर होइन, लोकतान्त्रिक संस्थाहरूबाटै खोजिनुपर्ने थियो। लोकतन्त्रको विकल्प भनेको झन् बढ्ता लोकतन्त्र नै हो।
हरेक राजनीतिक अवधारणाले समृद्धि वा खुसीको बाचा गर्छ। चाहे त्यो हामीले माथि चर्चा गरेको अमेरिकी अवधारणा होस् वा युरोपेली वा सोभियत। यी तीनैवटा राजनीतिक अवधारणाबाट नागरिकले अपेक्षा गर्ने समृद्धि र खुसी नै हो। नेताहरूले पनि समृद्धि र खुसीकै बाचा गरेर सत्ताको यात्रा तय गरेका हुन्छन्। जब जनताका अपेक्षा पूरा हुँदैन, तब राजनीतिक प्रणालीप्रति विश्वास धर्मराउन थाल्छ।
पछिल्लो समय यी तीनैथरी अवधारणा अंगालेका मुलुकमा यस्तो किसिमको राजनीतिक नेतृत्व उदय भइरहेको छ, जो अधिनायकवादी चरित्रको छ। जो जनताले निर्वाचनका माध्यमबाट दिएको अधिकारलाई आफ्नो शक्ति सञ्चय गर्ने उपकरण मान्छन्। जनताबाट प्राप्त अधिकार जनताकै हितमा प्रयोग गर्नुपर्छ भन्ने लोकतान्त्रिक मान्यताको कदर गर्दैनन्। संसदको अनादर गर्ने, आफ्नै जनताको अनादर गर्ने र प्रतिपक्षीहरूको अनादर गर्ने प्रवृत्ति यसैका उपज हुन्।
त्यस्ता नेताहरू लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा त पुग्छन्, तर त्यहाँ पुगेपछि जनताको आवाज प्रतिनिधित्व गर्ने एक्लो वाहक मै हुँ भन्ठान्छन्। प्रतिपक्षीलाई देखी सहँदैनन्। नागरिक समाज र प्रेसलाई त शत्रु नै ठान्छन्। मानौं, उनीहरूको अधिकारमाथि अब कसैको अंकुश छैन, जनताको पनि छैन।
कसैले विरोध गर्यो भने, नेतादेखि कार्यकर्तासम्म एकल स्वरमा जवाफ दिन्छन्, ‘हामीले पाँच वर्षको जनादेश लिएर आएका छौं। बीच–बीचमा झिँगाजस्तो भन्भनाएर दुःख नदेओ।’
अमेरिकादेखि रुस र चीनदेखि भारतसम्म सबैतिर यस्तै राजनीतिक प्रवृत्ति हाबी छ। नेपाल पनि यसबाट अछूतो छैन।
हामीकहाँ प्रधानमन्त्री, मन्त्री र सत्तारुढ पार्टीका नेता–कार्यकर्ताहरू सबैले एक स्वरमा दुईतिहाइको राग अलापेको सुनेका छौं। उनीहरू सरकारले गरेका कुनै पनि निर्णयमा विरोधी आवाज सहन सक्दैनन्। त्यसमा बहस गर्न चाहँदैनन्। नागरिक समाज र प्रेसको त खेदो नै खन्छन्। यस्तो राजनीतिक प्रवृत्तिले हामी कतै निरंकुशतातर्फ धकेलिँदै त छैनौं भन्ने आभाष हुन्छ।
फुकुयामाले उदार लोकतन्त्रको युग भनेको एक्काइसौं शताब्दीमा नेपालसहित संसारका विकसित देशहरूमा समेत मडारिएको निरंकुशताको कालो बादललाई कसरी चिर्ने? के यो कालो बादल चिर्न सकिन्छ?
यहाँ कुरा गरौं, इतिहासबाट सिक्नुपर्ने पाठको।
युरोपेली इतिहासका अध्येता तिमोथी स्नाइडरले ‘अन टाइरेनी’ भन्ने किताबमा बीसौं शताब्दीबाट सिक्नुपर्ने २० वटा पाठको बुँदागत चर्चा गरेका छन्।
खल्तीमै घुसारेर हिँड्न मिल्ने १२६ पृष्ठको यो सानो पकेट–साइज किताबले निरंकुशता कसरी चिन्ने, कसरी त्यसको प्रतिकार गर्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई कसरी मलजल गर्ने भन्ने सिकाउँछ। यसलाई किताब मात्र होइन, निरंकुशताविरुद्धको घोषणापत्रका रूपमा लिइएको छ।
‘इतिहास दोहोरिँदैन, तर इतिहासले हामीलाई वर्तमान बुझ्न मद्दत गर्छ,’ तिमोथी भन्छन्, ‘अहिलेको समय–सन्दर्भमा हाम्रो के चिज दाउमा छ भन्ने हामी इतिहास हेरेर चाल पाउन सक्छौं।’
तिमोथी स्नाइडर।यो किताबअनुसार बीसौं शताब्दीका निरंकुश शासनबाट हामीले सिक्नुपर्ने पाठ यस प्रकार छन्ः
१) शासकले भन्नुभन्दा पहिले नै आदेश पालना नगरः अधिकांश अवस्थामा हामी शासकलाई खुसी पार्न उसले भन्नुभन्दा अगाडि नै त्वम् शरणम् गर्छौं। यो लोकतान्त्रिक आचरण होइन।
लोकतन्त्रले सरकारको कुनै पनि निर्णय वा आदेशलाई शंका गर्न सिकाउँछ। त्यसमा प्रश्न गर्न सिकाउँछ। लोकतन्त्र भनेको प्रश्न गर्ने अधिकार नै हो। जब हामी प्रश्न गर्न छाडेर सरकारलाई खुसी पार्न उसले चाहेभन्दा बढी सम्झौता गर्न थाल्छौं, तब शासक आफूलाई बलियो ठान्छ र झन् झन् बढ्ता कसिलो हुँदै जान्छ।
२) लोकतान्त्रिक संस्थाहरूको बचाउ गरः लोकतन्त्र भनेको आवधिक निर्वाचन मात्र होइन, न त्यो निर्वाचनमा भाग लिने दलहरू मात्र हुन्। लोकतन्त्र भनेका संस्थाहरू हुन्। संसद हो, अदालत हो। मानवअधिकार आयोग पनि हो, अख्तियार पनि। प्रेस पनि हो, नागरिक समाज पनि। जबसम्म यी संस्थाहरूलाई आफ्नै स्वविवेकमा काम गर्ने अधिकार हुन्छ, तबसम्म लोकतन्त्र जीवित रहन्छ।
कुनै दलले आवधिक निर्वाचमा बहुमत ल्याएर सरकार बनायो भन्दैमा उसलाई यी संस्थाहरू दपेट्ने अधिकार हुँदैन। ऊ संसदप्रति उत्तरदायी हुनैपर्छ। अदालतको मान राख्नुपर्छ र प्रेसलाई निर्भीक रूपले प्रश्न उठाउने ठाउँ दिनुपर्छ।
लोकतान्त्रिक संस्थाको कदर नगर्ने सरकार दुईतिहाइ बहुमतप्राप्त नै किन नहोस्, ऊ निरंकुश कहलिन्छ।
३) एउटा मात्र पार्टीको राज्यसँग सचेत हौः कुनै पनि दल वा सरकारले आफ्ना प्रतिपक्षीहरूलाई कदर नगर्नु भनेको आफूलाई अंकुशरहित ठान्नु हो।
दोस्रो बुँदामा भनेजस्तै लोकतन्त्रमा सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ। संसद भनेकै प्रतिपक्षीको आवाज सुन्ने ठाउँ हो। जब कुनै सरकार ‘मै सबथोक हुँ’ भन्ने घमण्ड देखाउन थाल्छ, ऊ लोकतान्त्रिक आचरणबाट बाहिरियो भन्ने ठान्नुपर्छ। बहुदलीय प्रणाली, प्रतिपक्षीको कदर र लोकतान्त्रिक निर्वाचनका नियमहरूको पालना निरंकुशताका संकेतचिह्न हुन्।
४) नागरिकको हैसियतमा जिम्मेवारी वहन गर्ने क्षमता विकास गरः सोभियत संघमा जति बेला जोसेफ स्टालिनको शासन थियो, उनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानहरूलाई सुंगुरका रूपमा चित्रण गर्दै ‘प्रोपोगान्डा’ पोस्टरहरू बनाए। यो सन् १९३० दशक प्रारम्भको कुरा हो।
सोभियत संघले ग्रामीण क्षेत्रमा आफ्नो वर्चश्व स्थापित गरेर राष्ट्रिय औद्योगिकीकरणको निम्ति त्यहाँको स्रोत दोहन गर्ने प्रपञ्च रचेको थियो। धेरै जमिन र ठूलो मात्रामा पशुपालन गर्ने किसानहरूलाई सबभन्दा पहिला सुंगुरका रूपमा चित्रण गरियो। उनीहरूको जमिन खोसियो। जो किसान आफ्नो जमिन खोसिएन भनेर सुरूमा दंग थिए, पछि उनीहरू पनि शासकको सिकन्जामा परे।
‘आजको संकेत भोलिको वास्तविकता हो,’ तिमोथी भन्छन्, ‘कुनै एउटा वर्गको हकअधिकार खोसिँदा मलाई त केही भएको छैन भनेर सोच्नु मूर्खता हो। आज अरूमाथि थिचोमिचो गर्ने वा आज अरू कसैको स्वतन्त्रता हनन् गर्ने सत्ताले भोलि तिमीलाई पनि छाड्ने छैन। र, समग्रमा त्यो सत्ता निरंकुश भएर निस्कनेछ।’
‘आज देखिने निरंकुशताको सानोभन्दा सानो संकेतलाई पनि नजरअन्दाज नगर। जसको विरुद्ध अन्याय भएको होस्, आवाज सबैले उठाऊ, ताकि आज तिमी मौन बसेकाले भोलि सरकारलाई निरंकुशताको बाटोमा नहिँडाओस्।’
५) पेसागत मर्यादा पालना गरः अरूलाई प्रश्न गर्नुअघि आफ्नो पेसागत मर्यादा कायम राख्नु जरुरी छ। देशलाई दिशानिर्देश गर्ने अभिभारा बोकेका राजनीतिक नेताहरूले सबभन्दा पहिला आफ्नै जीवनलाई उदाहरणीय बनाएर देखाउनुपर्छ। समग्र राजनीति वा सबै नेताप्रति वितृष्णा उत्पन्न हुने नकारात्मक गतिविधिहरूबाट परहेज राख्नुपर्छ।
यही कुरा निजामती सेवा, नागरिक समाज, न्याय, प्रेस, प्रहरी सबैका निम्ति लागू हुन्छ। यीमध्ये कसैले पनि आफ्नो पेसागत मर्यादा इमानदारीपूर्वक पालना नगर्नु भनेको सत्ताको दायरा फराकिलो हुनु हो। कुनै पनि शासकलाई राज्यस्रोत दोहन गर्न वा जनताको अधिकार कुण्ठित पार्न आज्ञाकारी कर्मचारीको खाँचो पर्छ। निजामती कर्मचारीहरू आफ्नो मर्यादामा बसेनन् भने शासकको अभीष्ट सजिलै पूरा हुन्छ।
प्रेसको काम हो, प्रश्न गर्नु। जुनसुकै शासक प्रेस आफ्नो दाहिना होस् भन्ने चाहन्छ। विपक्षी मत राख्ने सञ्चारमाध्यमलाई किनारा गर्छ। प्रेसले मर्यादा छाड्ने हो भने शासकका गैरकानुनी हरकतको सूचना जनतासम्म पुग्दैन। यसले शासक निरंकुश हुँदै जान्छ र अन्ततः अधिनायकमा परिणत हुन्छ।
६) हतियारधारी लडाकू समूहबाट सचेत होऊः मान्छेले आफ्नो अधिकार निम्ति राजनीतिक प्रणालीको विरोध गर्नु स्वाभाविक हो, तर जब विरोधका नाममा ऊ हतियार उठाएर, सैन्य पोसाकमा सुसज्जित भएर समाजमा आतंक मच्चाउन थाल्छ, त्यसपछि राज्यसत्तालाई निरंकुश हुनबाट कसैले रोक्न सक्दैन।
शान्ति स्थापना गर्ने नाममा राज्यसत्ता जनताका आधारभूत अधिकार कुण्ठित पार्न थाल्छ। विद्रोह दबाउन राज्यशक्ति परिचालन गर्छ। देश लडाइँमा होमिन्छ। र, लडाइँ भनेको यस्तो समय हो, जब जनताका अधिकार कटौती हुन्छन्, शासकको दायरा फराकिलो हुन्छ।
७) आफ्नो जिम्मेवारी आत्ममूल्यांकन गरः हरेक पेसाका व्यक्तिले आफ्नो जिम्मेवारी आत्ममूल्यांकन गर्दै त्यसलाई दुरुपयोग हुन नदिनु लोकतन्त्रका लागि अतिआवश्यक छ। तिमोथीले खासगरी यो कुरा हतियारधारी सेना र प्रहरीका सन्दर्भमा भन्न खोजेका हुन्।
कुनै पनि शासकले प्रहरी वा सेनाको सहयोग नपाएसम्म आफू वा आफ्ना कार्यकर्ताको बलमा मात्र अधिनायक लागू गर्न सक्दैन। शासकको स्वार्थका खातिर निहत्था जनतामाथि दमन गर्ने र नरसंहार गर्ने भनेका राज्यका सैनिक र प्रहरी नै हुन्।
सन् १९३७–३८ सालतिर सोभियत संघमा ६ लाख ८२ हजार जनाभन्दा बढीको हत्या गरियो। मारिएकाहरू धेरैजसो गरिब किसान र अल्पसंख्यक समुदाय थिए। उक्त हिंसामा राज्यकै सैनिक प्रयोग भयो। यस्तै उदाहरण अन्य अधिनायकवादी शासनमा पनि देखिन्छ।
‘निरंकुशता रोक्ने जिम्मेवारी हतियारधारी सुरक्षा निकायको पनि हो,’ तिमोथी भन्छन्, ‘तिमी हतियार चलाउने जिम्मेवारीमा छौ भने त्यसको सही ढंगमा प्रयोग भइरहेको छ कि छैन भनेर नियाल।’
८) अनियमित काम वा पद्धतिविरुद्ध आवाज उठाऊः कुनै पनि अनियमितताविरुद्ध पहिलो आवाज उठाउनु भनेको चुनौती मोल्नु हो। अरूलाई पछ्याउन सजिलो हुन्छ, आवाज उठाउन गाह्रो। सबै चुपचाप बसेका बेला आफू एक्लै उभिएर बोल्न अप्ठ्यारो हुन्छ। सचेत वर्गका सबैले यसैगरी अप्ठ्यारो मान्दै हात बाँधेर बसे भने निरंकुशता अवश्यम्भावी छ।
लोकतन्त्र भनेको सगरमाथा आरोहणजस्तै हो, जहाँ शिखरमा पाइला टेक्नु मात्र सफलता होइन, शिखरबाट सकुशल आधारशिविर फर्किनु पनि सफलताको मानक हो। ठूलो राज्यक्रान्तिबाट हामी लोकतन्त्र त हासिल गर्छौं, तर त्यसपछि आफूले चुनेर पठाएका व्यक्ति वा दललाई नै सम्पूर्ण जिम्मा सुम्पने हो भने तिमीले रगत बगाएर ल्याएको लोकतन्त्र कुन बेला अधिनायकवादमा परिणत भइसक्छ पत्तै हुन्न।
‘कतै अन्याय हुँदैछ, कसैको स्वतन्त्रता हनन् हुँदैछ भने चुपचाप नबस। एक्लै बोल्नु गाह्रो कुरा हो, तर स्वतन्त्रता सजिलै हासिल हुने फल होइन। यसका लागि निरन्तर खबरदारी जरुरी छ,’ तिमोथी भन्छन्।
९) आफूले प्रयोग गर्ने भाषामा विचार गरः अरूले प्रयोग गर्ने अशिष्ट वा अमर्यादित भाषाशैली तिमी नदोहोर्याऊ। हामीले एकअर्काप्रति घृणाका शब्द ओकल्न थाल्यौं भने लोकतन्त्रको जग कमजोर हुन्छ, शासकलाई निरंकुश हुन बल पुग्छ।
पछिल्लो समय सामाजिक सञ्जालहरूको बढ्दो प्रयोगका सन्दर्भमा शिष्ट भाषाशैली अझै महत्वपूर्ण भएर गएको छ। व्यक्तिगत रूपले भेट्दा तिमी कहिलेकाहीँ अनौपचारिक रूपले प्रस्तुत हुन सक्छौ, तर त्यही मान्छेलाई सामाजिक सञ्जालमा सम्बोधन गर्दा एक किसिमको शिष्टता राख्नैपर्छ। यो कुरा व्यक्तिको हकमा मात्र लागू हुँदैन, वर्गविशेष वा समुदायलाई सम्बोधन गर्दा पनि हामीले शिष्टताको हदभित्र रहनुपर्छ।
सामाजिक सञ्जालको निम्ति घृणा भनेको जंगलमा लागेको डढेलोजस्तो हो, जुन एकदमै छिटो फैलिन्छ र कोहराम मच्चाउँछ। घृणा भनेको निरंकुश शासनलाई मल हालेजस्तै हो। हामी जति एकअर्कासँग बाझाबाझ गर्यौं, शासकलाई पकड कस्न सजिलो हुन्छ।
१०) सत्यमा विश्वास गरः सत्य भनेको स्वतन्त्रताको हतियार हो। सत्य कुरा बाहिर आएन भने कसैले पनि शासकको आलोचना गर्न सक्दैन। सत्यको ज्ञान नै नभएपछि केमा टेकेर विरोध गर्ने? जबसम्म सत्यमा हाम्रो आँखा पुग्दैन, हामी अनुमानको खेती गर्छौं। अनुमानले भ्रम छर्छ र भ्रम निरंकुशताको हतियार हो।
![](/uploads/shares/FEATURE/sudeep shrestha/Hari Sharma/71Y8W5ulGUL.jpg)
११) छानबिन गरः सत्यको खोजी छानबिनबाट हुन्छ। तिमीलाई सत्यसम्म पुग्नुछ भने अनुसन्धानमूलक सामग्रीहरू पढ। त्यस्ता सामग्री प्रकाशन वा प्रसारण गर्ने सञ्चारमाध्यमहरूलाई पछ्याऊ र प्रोत्साहित गर।
फेसबुक वा इन्टरनेटमा उपलब्ध सामग्रीहरूले हाम्रो ध्यान त सजिलै तान्छन्, तर ती सबै सत्य हुँदैनन्। त्यसैले, सत्यको स्रोत के हो, कुन सञ्चारमाध्यम अनवरत सत्यनिम्ति लडिरहेको छ र अनुसन्धानमूलक सामग्री प्रकाशन गरिरहेको छ भन्ने पत्ता लगाऊ। त्यसलाई पर्गेल र पढ।
आफूले पढ्ने सामग्री मात्र होइन, तिमीले व्यक्तिगत वा सामूहिक रूपमा गर्ने सूचना आदानप्रदानको पनि जिम्मेवारी वहन गर।
१२) आँखामा आँखा जुधाएर कुरा गर र थोरै बोलः कसैले साँचो कुरा बोलेको छैन भन्ने शंका लागे हामी भन्ने गर्छौं, ‘मेरो आँखामा हेरेर भन् त।’ मान्छेले सामान्यतया आँखा जुधाएर झूटो बोल्न सक्दैन भनिन्छ। त्यसैले, सूचना आदानप्रदानलाई जिम्मेवारीपूर्ण बनाउन आँखा जुधाएर गोलमटोल होइन, विषयवस्तुमा स्पष्ट बोल्न जरूरी छ।
हामी जब एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्न छाडेर सामाजिक सञ्जालमा बढ्ता निर्भर हुन्छौं, हाम्रा व्यक्तिगत सम्बन्ध कमजोर हुँदै जान्छन्। सामाजिक सम्बन्धको आत्मीयता घट्छ। यस्तोमा प्रोपोगान्डा वा भ्रमले ठाउँ पाउन सक्छ।
१३) संगत बढाऊ, सहकार्य गरः सामान्यतया शासकहरू जनतालाई निश्चित दायरामा बाँधेर राख्न चाहन्छन्। हामी जति आफ्नो काम र घरबारमा भुल्यौं, शासकलाई आफ्नो अभीष्ट पूरा गर्न उति सजिलो हुन्छ। शासकको यो अभीष्ट पूरा गर्न हामी किन मद्दत गर्ने त?
त्यसैले, बाहिर निस्कौं। साथीभाइ र सरसंगतको दायरा फराकिलो पारौं। आफूलाई सहज लाग्ने विषयमा मात्र होइन, नौलो विषयमा पनि चाख बढाऊँ। कुराकानी गरौं। जिज्ञासा राखौं। प्रश्न उठाऊँ। र, सहकार्य गरौं।
हामी जति सक्रिय भयौं, शासकको हात उति कसिन्छ। निस्क्रिय बस्यौं भने, शासकहरू फुक्काफाल हुन्छन्।
१४) मान्छेको निजी जीवन सुरक्षित राखः लोकतन्त्रको पहिलो र आधारभूत मानक भनेको वैयक्तिक स्वतन्त्रता हो। जबसम्म हामी आफूलाई मन लागेको गर्न पाउँदैनौं, पढ्न पाउँदैनौं, लेख्न र बोल्न पाउँदैनौं, तबसम्म लोकतन्त्र स्थिर भयो भन्न सकिन्न।
हामी के पढ्दैछौं, के बोल्दैछौं र के लेख्दैछौं भन्ने पनि शासकको चासोको विषय हुन्छ, किनभने त्यसले उनीहरूको निरंकुशतामा भाँजो हाल्ने काम गर्छ। त्यसैले, अधिनायकवादी शासकहरू मान्छेको व्यक्तिगत जीवनमा चियो गर्छन्। हाम्रो भान्सामा छिरेर कुन जीवको मासु पाक्दैछ भनेर जासुसी गर्छन्। हामी कस्ता खालका गीत सुन्छौं भनेर केरकार पार्छन्। हाम्रो भाषाशैलीमा नत्थी लगाउन खोज्छन्।
जबसम्म हामी आफ्नो व्यक्तिगत स्वतन्त्रता सुरक्षित राख्न सक्दैनौं, निरंकुशतालाई रोक्न गाह्रो छ।
१५) कहीँ राम्रो सामूहिक काम भइरहेको छ भने त्यसमा योगदान गरः माथि भनेजस्तै कुनै पनि गलत कार्यविरुद्ध पहिलो आवाज उठाउन गाह्रो हुन्छ। तर, जब तिमी त्यस्तो आवाज उठेको सुन्छौ, त्यसलाई पछ्याउन र त्यसमा आफ्नो स्वर थप्न एकपल ढिला नगर।
समाजको भलाइनिम्ति भइरहेका कुनै पनि राजनीतिक वा गैरराजनीतिक क्रियाकलापमा सरिक होऊ। त्यसमा उपस्थिति जनाऊ। घरमा बसेर यस्तो भइदिए हुन्थ्यो भनी कल्पना गरेर मात्र परिवर्तन आउँदैन। त्यही परिवर्तननिम्ति कहीँ भेला वा समारोह हुँदैछ भने त्यसमा तिमी पनि हिस्सेदार बन।
कुनै जुलुसमा जान मन लागेको छ, तर त्यहाँ चिनेको मान्छे आउँछ कि आउँदैन होला भनेर अलमलियौ भने त्यो आन्दोलनले कहिल्यै ठूलो रूप लिँदैन।
१६) अरू देशमा भइरहेका गतिविधिबाट शिक्षा लिऊः हरेक देशको आ–आफ्नै इतिहास छ। हामी आज जे भोग्दैछौं, त्यही घटना अर्को कुनै देशले सदियौं पहिले भोगिसकेको हुनसक्छ। अर्काको अनुभवबाट पाठ सिक्ने बानी बसाल्यौं भने हाम्रो काम सजिलो हुन्छ।
इतिहास साक्षी छ, संसारको कुनै पनि देशले समस्या आउँदा एक्लै समाधान निकालेको छैन। एकीकृत रूपमै हल खोजेको छ।
१७) आपत्तिजनक शब्दहरूको ख्याल राखः माथि पनि भनेँ, अशिष्ट भाषाशैलीले घृणा फैलाउँछ। त्यस्तो अवस्था आउन नदिन अरूलाई बिझाउने, हेप्ने वा मानमर्दन गर्ने शब्दहरू प्रयोग नगर। अरूलाई पनि प्रयोग गर्न नदेऊ। कुनै संघ–संस्थाको वक्तव्यमा त्यस्ता शब्द प्रयोग भएका छन् वा कुनै व्यक्तिले त्यस्तो शब्द प्रयोग गरेको छ भने तुरुन्तै आपत्ति जनाऊ र संशोधन गर्न लगाऊ।
१८) कुनै अप्रत्यासित घटना भयो भने त्यसलाई शान्त भएर हेरः आधुनिक निरंकुशताको सुरूआत तनाव व्यवस्थापनबाट हुन्छ। कुनै आतंकवादी हमला भयो भने जनता जति भयभीत हुन्छन्, शासकलाई शान्तिसुरक्षाका नाममा नियम–कानुनहरू कस्न उति सजिलो हुन्छ। आतंकवादको प्रभाव त क्षणिक हुन्छ, तर निरंकुश शासक हामीले लामो समय झेल्नुपर्छ। त्यो पनि आफ्ना मौलिक हकअधिकार सुम्पेर।
१९) आफ्नो समुदाय वा देशलाई माया गरः हामी कस्तो देश चाहन्छौं? कस्तो समुदाय चाहन्छौं? हरेक समुदायले एकअर्कालाई शंकाको आँखाले हेर्ने समाज कि सहिष्णु समाज? समुदायहरूबीच विश्वासको कसिलो सम्बन्ध गाँसिएको समाज कि परस्परविरोधी समाज? व्यक्तिगत स्वतन्त्रता सुनिश्चित भएको समाज कि निरंकुश? हामी आफ्नो भावी पुस्तालाई कस्तो समाज वा देश छाडेर जान चाहन्छौं, यसैमा हाम्रो आजका क्रियाकलाप निर्भर हुन्छन्।
२०) जतिसक्दो साहसी बन्ने प्रयास गरः साहस निरंकुशता रोक्ने पहिलो हतियार हो। हामीमध्ये कोही पनि स्वतन्त्रतानिम्ति आवाज उठाउन तयार छैनौं भने, निरंकुशताले जकडिएर सधैंका लागि आवाज गुमाउन तयार भए हुन्छ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)