रञ्जु दर्शनाका लागि चुनावी माहौल नौलो कुरा होइन। तर यसपटक अवस्था भिन्न छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार उनी ८ महिनाको गर्भावस्थामा भोट माग्ने दौडधुप गरिरहेकी छन्।
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गरेपछि उनी रास्वपाकी केन्द्रीय सदस्य भइन्। त्यही पार्टीबाट अहिले काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्ष उम्मेदवार छिन्।
उनले यसपालि जनताले नेतालाई कसरी हेरेका छन् भन्ने मात्र होइन, गर्भवती महिलालाई समाजले हेर्ने नजर पनि नियालिरहेकी छन्।
'त्यसैले मेरो लागि यो निर्वाचन विशेष छ,' रञ्जुले भनिन्।
रञ्जुले आफ्नो गर्भावस्थालाई ध्यानमा राखेर समानुपातिक उम्मेदवार बन्न नखोजेकी होइनन्। चुनावको दौडधुप गर्न नसकिएला भनेर समानुपातिकमा बस्ने सोचेको उनी बताउँछिन्।
'डेलिभरी र निर्वाचनको डेट सँगसँगै हुने भयो। त्यसैले मैले समानुपातिकमा बस्न चाहेकी थिएँ,' उनले भनिन्, 'गर्भावस्थाको तेस्रो चरण अलि संवेदनशील पनि हुन्छ।'
तर यत्रो वर्ष राजनीतिमा दिएकी उनी आफ्नो करिअर छाडेर घर बस्न चाहिनन्।
यसबीच समानुपातिक उम्मेदवार बन्न पार्टीको आन्तरिक चुनावमा समेत सामेल उनी खस आर्यतर्फ महिला सिटमा पहिलो नम्बरमा परेकी थिइन्। यी सबै प्रक्रिया उनले गर्भावस्थामै पूरा गरेकी हुन्।
'कतिपयले भने यस्तो मान्छे (गर्भवती) पनि समानुपातिकमा बस्ने? चुनाव लड्ने? भनेर भन्नुभयो,' रञ्जुले भनिन्।
सबै प्रश्नको सार एउटै थियो — आमा बन्न लागेकी मान्छे किन सांसद बन्नुपर्यो?
ती प्रश्नले रञ्जुलाई दिनरात पिरोल्न थाल्यो।
प्रश्न सोध्नेहरूमा गर्भावस्थालाई लिएर समभाव कत्ति पनि नरहेको उनले पाइन्। गर्भावस्थाकी महिलाले अरू काम गर्न हुँदैन भन्ने हेयभाव पनि उनले महसुस गरिन्।
महिलालाई यस्ता प्रश्न गर्ने समाज आफ्नो बच्चाका लागि बस्नयोग्य होइन भन्ने कुराले उनको मन खाइरह्यो। अनि उनलाई लाग्यो — महिलाको दायरा संकुचित पार्न खोज्ने यो समाज बदल्न पनि चुनाव नउठी हुन्न!
'गर्भवती हुनेबित्तिकै महिलाहरूले आफ्नो घरव्यवहार, पेसा-जागिर छाडेर बस्दैनन्। मेरो काम राजनीति गर्ने हो, गर्भवती हुनेबित्तिकै म आफ्नो काम किन छाडूँ?' यही सोचले रञ्जुलाई प्रत्यक्ष चुनाव लड्न ऊर्जा भर्यो।
त्यसपछि उनले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिइन्। र, काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को टिकट लिइन्।
आफ्नो यो निर्णयमा परिवारले पनि साथ दिएको रञ्जु बताउँछिन्।
गर्भावस्थामा महिलाले सबभन्दा बढी ध्यान दिनुपर्ने आफ्नो स्वास्थ्य हो। त्यही भएर उनी यस्तो अवस्थामा धेरै हिँडडुल गर्दा जोखिम हुन सक्छ कि भनेर डाक्टरसँग सल्लाह लिन पनि गइन्।
डाक्टरले उनलाई धेरै तनाव नलिन र स्वास्थ्यको राम्रो ख्याल राख्न सल्लाह दिए।
'पानी बग्ने, धेरै थकान महसुस हुने जस्ता लक्षण देखिए बेवास्ता नगर्नू भन्ने डाक्टरको सुझाव थियो,' उनले भनिन्, 'अहिले म डाक्टरकै सल्लाह अनुसार सानो सानो कुरामा पनि ध्यान दिइरहेकी छु।'
उनले अगाडि भनिन्, 'पहिलेकी रञ्जु र अहिलेकी रञ्जुमा म निकै फरक पाइरहेकी छु। म अहिले झन् बढी संवेदनशील भएकी छु। पहिले पानी तिर्खा लाग्दा पनि कार्यक्रम सकेर खाऊँला भन्थेँ, अहिले तिर्खा लाग्नेबितिकै खान्छु। अलिकति थकाइ लाग्नेबित्तिकै आराम गर्न बसिहाल्छु।'
गर्भावस्था चुनाव प्रचार गर्न हिँड्दा रञ्जुले आफ्नो श्रीमानको पनि भरपुर साथ र सहयोग पाइरहेकी छन्।
रञ्जु सँगसँगै उनका श्रीमान पनि कार्यक्रममा हिँड्छन्। र, उनको थकानदेखि खानपिन र आरामको ख्याल राख्छन्।
'मैले श्रीमान र परिवार बुझ्झकी पाएकी छु। गर्भवती महिलाहरूले परिवार र सामाजिक संरचनाबाट साथ पाउने हो भने मातृत्व र नेतृत्व एकसाथ गर्न सकिने रहेछ भनेर महसुस गरिरहेकी छु,' रञ्जुले भनिन्।
यति मात्र होइन्, समाजबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछिन्।
कतिपय महिलाले रञ्जुलाई फोन गरेर भनेका थिए, 'करिअर त्याग्नुपर्ला भनेर बच्चा नपाई बसेकी थिएँ, तपाईंलाई देखेर बच्चा पाउने हिम्मत आयो।'
परिवार र साथीभाइ सँगसँगै पार्टीबाट पनि साथ पाइरहेको उनको भनाइ छ।
'गर्भावस्थामा पनि तपाईं यसरी लागिरहनुभएको छ, धेरै तनाव नलिनुस् है भनेर पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भनिरहनुहुन्छ,' रञ्जुले भनिन्।
'अहिले हामी चुनावको प्रचार गर्न घर-घर पुगिरहेका छौं। जुन हिसाबले सबैको साथ र सहयोग पाएकी छु, त्यसले मेरो राजनीतिक र मातृत्व दुवै यात्रा राम्रोसँग अगाडि बढाउन सक्छु भन्नेमा ढुक्क छु,' उनले भनिन्, 'एक्लो छैन भन्ने आभासले पनि जे पर्छ, त्यो टर्छ भन्ने आत्मबल आएको छ।'