आज प्रजातन्त्र दिवस। ७५ वर्ष अगाडि १०४ वर्ष लामो जहानियाँ राणा शासनबाट नेपालले मुक्ति पाएको दिन।
जनताबाट चुनिएका प्रतिनिधिले शासन गर्ने व्यवस्थालाई हामीले शासनमा राजा हुन्जेलसम्म 'प्रजातन्त्र' भन्यौं। २०६२–६३ को पहिलो जनआन्दोलन पछाडि भने लोकतन्त्र भन्न थाल्यौं।
शब्द फेरियो, शासकीय स्वरूप फेरियो।
तर एउटा आधारभूत प्रश्न अझै जीवित छ — के लोकतन्त्र हाम्रो दैनिक व्यवहारमा देखिन्छ? के लोकतन्त्र सुदृढ गर्ने र दिगो बनाइराख्न मुख्य भूमिका खेल्ने शैक्षिक संस्थाहरूमा लोकतन्त्रिक अभ्यास छ?
लोकतन्त्र राज्य सञ्चालनको प्रणाली मात्र होइन, यो देशका हरेक क्षेत्रमा मूल्य, व्यवहार र संस्कारको अभ्यास र समन्वय पनि हो।
हामीलाई लाग्ला— लोकतन्त्रको जगेर्ना गर्ने र सुदृढ बनाउने दायित्व त राजनीतिकर्मी र राजनीतिक दलहरूको हो।
तर यो उनीहरूको मात्र दायित्व होइन। शिक्षक र शैक्षिक संस्थासँग त्यस्तो राजनीतिक जिम्मेवारी छ, उनीहरूले लोकतन्त्रको मूल्य र मान्यता अनुसारका नागरिकहरू तयार गर्न सक्छन्। शैक्षिक संस्थाबाट दीक्षित नागरिकहरू नै भोलि राजनीति र कर्मचारीतन्त्रमा पुग्ने हो, समाजका हरेक क्षेत्रमा पुग्ने हो।
त्यसैले लोकतन्त्रको दीर्घकालीन आधार तयार पार्ने ठाउँ विद्यालय र विश्वविद्यालय हुन्।
यो लेखमा हामीले शैक्षिक संस्थाहरूमा अनुभव र अवलोकन गरेको लोकतन्त्रको अभ्यास तथा केही सम्भावनाहरू प्रस्तुत गरेका छौं।
शिक्षकको व्यवहारमा लोकतान्त्रिक अभ्यास
केही महिना अगाडि हामीले एउटा कक्षाकोठाको घटना सुन्यौं।
कक्षा सुरू हुनै लाग्दा एक शिक्षक ढोका ढकढक्याउँदै भित्र पसे र टेबलमा फाइल राख्दै भने, 'आजको प्रस्तुति फलानो विद्यार्थीको हो, सुरू गर!'
प्रस्तुति गर्न लागेका विद्यार्थीले अकमकाउँदै भने, 'सर, मेरो ल्यापटपले अहिले काम गरिरहेको छैन, एकछिन है।'
त्यो वाक्य पूरा हुन नपाउँदै शिक्षकले गाली गर्न थाले, 'तिमीलाई आज प्रस्तुति छ भन्ने थाहा थिएन? तयारी बिना किन आएको?'
विद्यार्थी केही नबोली चुपचाप बसे। उनले जसोतसो ल्यापटप चलाए र हडबडाउँदै स्लाइड खोलेर प्रस्तुति सुरू गरे।
उनी बोलिरहँदा उनको अनुहारमा आत्मविश्वासभन्दा बढी असहजता झल्किरहेको थियो। उनलाई सहपाठीको अगाडि अपमानित महसुस भइरहेको थियो।
प्रस्तुति सकिएपछि शिक्षक आफ्नो कक्षा सुरू गर्न लागे। स्लाइड देखाएर पढाउने सोचमा भए पनि त्यो दिन साथमा ल्यापटप थिएन।
त्यसपछि शिक्षकले सोही विद्यार्थीलाई अनुरोध गरे, 'आज मैले ल्यापटप ल्याउन बिर्सेछु। तिम्रो ल्यापटपमा मेरो स्लाइड चलाइदेऊ न।'
विद्यार्थीले हल्का मुस्कान दिँदै जबाफ दिए, 'सर, मैले अघि ल्यापटपले काम गरेन भन्दा तपाईंले निकै थर्काउनुभयो। तर अहिले तपाईंले ल्यापटप ल्याउनुभएन। मैले गर्दा सबै बेठिक, तपाईंले गर्दा सबै ठिक। के यो लोकतन्त्रको सही अभ्यास हो?'
कक्षाकोठा एकछिन शान्त बन्यो। सबैको नजर शिक्षकतिर थियो।
शिक्षक केही बेर मौन रहे, अनि रिसाउँदै भने, 'गुरूसँग यसरी मुखमुखै लाग्छस्? बाहिर निस्की!'
विद्यार्थी चुपचाप बाहिर निस्किए। शिक्षकलाई प्रतिप्रश्न गर्दा उनी कक्षाबाट बहिस्कृत हुनुपर्ने अवस्था आयो।
यो घटनाजस्तै हामीले विश्वविद्यालय र विद्यालयमा यस्तै प्रकृतिका अनेकन घटना देख्छौं, सुन्छौं। पात्रहरू र परिवेश फरक हुन्छन् तर कथाहरू उस्तै हुन्छन्।
यस घटनालाई एकैछिन विश्लेषण गरौं त — ती शिक्षकको सोचलाई के कुराले निर्देशित गरेको थियो? ती शिक्षकले कुन मूल्य र मान्यतामा विश्वास गर्थे? यस्तो घटना किन भयो?
सम्भावित कारण यस्तो हुन सक्छ।
शिक्षकलाई लाग्यो होला — मेरो पद ठूलो हो, विद्यार्थीको पद सानो हो। विद्यार्थीले मलाई सम्मान गर्नुपर्छ। विद्यार्थीले मेरो आलोचना गर्न पाउँदैन किनकि म शिक्षक हुँ। म कक्षाको शासक हुँ, विद्यार्थीहरू मबाट शासित हुन्। उनीहरूले मेरो केही आलोचना गरे भने मैले उनीहरूलाई कारबाही गर्ने वा कक्षाबाट नै बहिस्कार गर्ने क्षमता राख्छु।
अनि यस घटनामा विद्यार्थीलाई शिक्षकले विश्वास नै गरेनन्। विद्यार्थीले आफ्नो समस्या सुनाउँदा त्यसलाई स्वीकार गर्न सकेनन्, बुझ्न खोजनन्, पूर्वाग्रह राखेर हेरे।
माथिको घटनालाई एकछिन फरक दृष्टिकोणबाट हेरौं।
माथिकै परिदृश्यमा केही वैकल्पिक अभ्यास हुन सक्थ्यो कि?
विद्यार्थीले आफ्नो ल्यापटपमा समस्या भयो भनेर भन्दा शिक्षकले 'केही छैन, म एकछिन पर्खिन्छु' भन्न सक्थे होला।
अथवा, 'साथीको ल्यापटप मागेर गर न' भनेर विकल्प दिन सक्थे होला।
विद्यार्थीले त्यसरी नै प्रतिप्रश्न गर्दा आफ्नो पूर्वाग्रह महसुस गरेर माफी माग्न सक्थे होला।
अथवा, 'मैले त्यसरी सोचेकै थिइनँ, मलाई सम्झाएकोमा धन्यवाद' भनेर कृतज्ञ हुन सक्थे होला।
एकछिन यथार्थवादी भएर पनि सोचौं।
हामी एउटा परिवेशमा हुर्किएका हुन्छौं। कहिलेकाहीँ आफूले बोक्ने पूर्वाग्रह र पृष्ठभूमिले हामीबाट माथिको जस्तो व्यवहार नसोचीकन अकास्मात पनि हुन सक्छ।
कहिलेकाहीँ जिन्दगीमा आफ्नो भावनामाथि नियन्त्रण गर्न सकिँदैन र अपेक्षा नगरेको घटना हुन सक्छ। यो घटना पछाडि पनि गल्ती महसुस गरेर शिक्षकले माफी माग्न सक्थे होला। आफ्नो व्यवहारको कारण के थियो भनेर आलोचनात्मक भएर विद्यार्थीहरूलाई सुनाउन सक्थे होला।
यहाँ शिक्षकका लागि एउटा महत्त्वपूर्ण अवसर थियो — समानुभूति देखाउने, प्रत्याभूतिको अभ्यास गर्ने, आफ्नै पूर्वाग्रहमाथि चिन्तन गरेर आफूलाई सिकाइरहने, लोकतन्त्रको अभ्यास गर्ने।
तर एउटा महत्त्वपूर्ण सिकाइको अवसर गुम्यो। विद्यार्थी र शिक्षकबीचको दुरी बढ्यो। विद्यार्थी सिकाइको प्रक्रियामा दुरूत्साहित भए। उक्त विद्यार्थीका सहपाठीहरूले पनि शिक्षकको 'रोल मोडलिङ' बाट हुने महत्त्वपूर्ण सिकाइको अवसर गुमाए।
एकैछिन त्यो कक्षाको घटनाभन्दा बाहिर गएर फराकिलो दृष्टिकोणबाट हेरौं।
हामी लोकतान्त्रिक व्यवस्थामा छौं। यही व्यवस्थामा हामी शिक्षकहरू पनि लोकतन्त्रको कुरा बारम्बार गर्छौं। आफ्ना विषयवस्तुमा अध्यापन गराउछौं। परीक्षामा प्रश्न सोधेर विद्यार्थीहरूलाई लोकतन्त्रबारे परिभाषा, उदाहरण, निबन्ध वा कुनै विश्लेषण लेख्न लगाउछौं। अनि, त्यसैको आधारमा अंक वा ग्रेड दिएर विद्यार्थीको मूल्यांकन गर्छौं।
आफू पनि मिडिया र सामाजिक सन्जालमा लोकतन्त्रको पक्षमा आफ्ना विचारहरू राख्छौं। सरकार वा संसदमा बसेको कोही नेताले लोकतान्त्रिक आचरण देखाएन भने हामी खुलेर विरोध गर्छौं।
तर कतिपय हामी शिक्षक आफ्नो कक्षाकोठामा भने फरक मत सहन सक्दैनौं। विद्यार्थीको प्रश्न र विरोधलाई एउटा तानाशाहले जस्तो दबाउन खोज्छौं।
विद्यार्थीले सोधेको प्रश्न वा विद्यार्थीले दिएको चुनौती त हामी शिक्षकको लागि पनि सिक्ने अवसर हो। त्यसलाई स्वीकार गर्दै सिकेर सम्बोधन गर्नुको सट्टा बदला वा व्यक्तिगत वैमनश्यनतामा परिणत गर्छौं। यस्तो अवस्थामा लोकतन्त्र हुर्किनै सक्दैन।
विद्यालयको शिशु कक्षादेखि विश्वविद्यालयमा अध्यापन गराउने हामी हरेक शिक्षकले निर्मम भएर आत्म–समीक्षा गर्नै पर्छ — के मैले कक्षाभित्र र बाहिर आफ्ना विद्यार्थीहरूसँग लोकतान्त्रिक चरित्र देखाएको छु? मेरो बोलीमा मात्र लोकतन्त्र छ कि व्यवहारमा पनि देखाएको छु?
हामीले कतिपय शिक्षकले अभ्यास गरेका गज्जबका उदाहरणहरू पनि देखेका छौं।
कतिपय शिक्षकले विद्यार्थीलाई सहभागी गराएर कक्षाका लागि नियमहरू बनाउँछन्। कतिले मतदान गराएर प्रतिनिधि छान्छन्। कतिपयले विद्यार्थीलाई प्रश्न गर्ने अनेकन अवसर सिर्जना गर्छन्।
कतिले विद्यार्थीको मनको कुरा सुन्ने मन्चहरू निर्माण गर्छन्। कतिपयले विद्यार्थीले गरेको गल्ती सहस्र स्वीकार गर्छन् र त्यसलाई सुधार्न हौसला दिन्छन्। कतिपयले आफूले पढाएको कस्तो छ भनेर विद्यार्थीबाटै पृष्ठपोषण लिन्छन्। त्यस अनुसार आफूलाई सुधार्छन्।
कतिले कक्षामा संवादको अवसर सिर्जना गर्छन्। आफ्ना साथीहरूसँग छलफल गर्ने वातावरण बनाउँछन्। आफूलाई चित्त नबुझे पनि सम्मानपूर्वक अरूको कुरा सुन्ने अवसर तयार गर्छन्। अरूका कथा सुन्ने, अरूको पक्ष थाहा पाउने र समानुभूति राख्ने अवसर सिर्जना गर्छन्।
कतिपयले कक्षामा समाजको विविधताको सम्बोधन गर्दै उत्सव मनाउने अवसरहरू सिर्जना गर्छन्। विद्यार्थीहरूले घरमा मनाउने चाडपर्व कक्षामा पनि मनाउँछन्। शिक्षण सिकाइ क्रममा शेक्षणिक भाषाबाहेक विद्यार्थीको मातृभाषा पनि समावेश गर्छन्।
कतिले आफ्नो उत्तरदायित्व पूरै बहन गर्छन् र विद्यार्थीका लागि रोलमोडल बन्छन्। विद्यार्थीलाई पनि जिम्मेवारीबोध पनि गराउँछन्। आफ्ना हरेक विद्यार्थीको सिकाइको जिम्मेवारी लिन्छन्। विद्यार्थीको सिकाइका लागि आफूले गर्नुपर्ने मेहनत र पहलहरू गर्छन्।
कतिपय शिक्षकले कक्षामा ध्यान नदिने विद्यार्थीलाई पनि पूर्वाग्रह राखेर हेर्दैनन्। आफूभन्दा फरक मत राख्नेमाथि पनि पूर्वाग्रह राख्दैनन्। जिज्ञासु भएर उनीहरूलाई बुझ्छन्। उनीहरूको विचार सुन्छन्। उनीहरूको विचारलाई पनि स्थान दिन्छन्।
हरेक शिक्षकले जिज्ञासु भएर खोज्ने र वास्तवमै लोकतान्त्रिक चरित्र देखाउन उत्सुक हुने हो भने हाम्रै वरिपरि पनि माथिको जस्ता अनेकन उदाहरण छन्।
एउटा यथार्थ यो पनि हो कि — कहिलेकाहीँ हामीलाई थाहा पनि हुँदैन आफ्नो व्यवहारले विद्यार्थीमा दीर्घकालीन रूपमा के असर पार्छ भनेर। हामीले लोकतान्त्रिक अभ्यासबारे प्रशिक्षण पाएनौं होला। हामी कार्यरत शैक्षिक संस्थाले यसबारे सुसूचित गराएनन् होला, वास्ता गरेनन् होला।
हामी आफै पढेको विद्यालय र विश्वविद्यालय पनि लोकतान्त्रिक चरित्रका थिएनन् होला। हामीले हाम्रा शिक्षकबाट निम्न स्तरको गाली सुन्यौं होला, पिटाइ खायौं होला। हाम्रा कुरा कसैले सुनेनन् होला, हामी सधैं हेपियौं होला।
त्यस्तो अनुभवबाट आएका हामीले फेरि आफूप्रति असह्य व्यवहार गर्ने आफ्नै शिक्षकको जस्तो गर्न थाल्यौं भने हामी हटाइसकेको सामन्तवादको पुनरत्पादन गरिरहने छौं।
समग्रमा हामी शिक्षक लोकतन्त्रका संवाहक हौं। हामी एकै पटक पूर्ण हुँदैनौं। तर आफूलाई समीक्षा गर्दै, सिक्दै र सुदृढ बनाउँदै जान आवश्यक छ। हामी सुदृढ शिक्षकले मात्र लोकतन्त्रको जग बलियो बनाउन सक्छौं।
शैक्षिक संस्थाको संरचना र संस्कृतिमा लोकतान्त्रिक अभ्यास
विद्यार्थीहरूलाई लोकतन्त्रको महसुस गराउने र शिक्षकहरूको सोच र व्यवहारलाई आकार दिने मूल भूमिका शैक्षिक संस्थाको संरचना र संस्कृतिमा पनि निहित हुन्छ।
संरचना र संस्कृति भने त्यस संस्थाको ध्येयमा निर्भर हुन्छ।
यहाँ मुख्य प्रश्न हुन्छ — त्यो संस्थाको प्राथमिक उद्देश्य के हो? संस्थाले आफ्नो केन्द्रमा कसलाई राख्छ? संस्था केका लागि स्थापना भयो र केका लागि सञ्चालन भइरहेको छ?
कुनै पनि शैक्षिक संस्था वास्तविक शिक्षाका लागि हो र विद्यार्थीहरू त्यसको हरेक निर्णयको केन्द्रमा हुन्छन् भने, त्यसले स्वाभाविक रूपमा लोकतान्त्रिक चरित्र देखाउन सक्छ।
शैक्षिक संस्थाहरूमा केही प्रश्नहरूबाट हामीले लोकतान्त्रिक अभ्यासको अवस्था थाहा पाउन सक्छौं।
पहिलो, विद्यार्थीलाई कस्तो व्यवहार गरिन्छ? उपभोक्ताजस्तो कि भविष्यका कर्णधार जस्तो? शैक्षिक संस्थाको रणनीति र कार्यनीति बनाउँदा विद्यार्थीहरूको सहभागिता हुन्छ कि हुँदैन?
दोस्रो, शिक्षकहरूलाई कस्तो व्यवहार गरिन्छ? शिक्षकलाई शिक्षाकर्मी र विद्यार्थीको सारथि जस्तो व्यवहार गरिन्छ कि परम्परागत रूपमा कारिन्दाप्रति गर्ने व्यवहार गरिन्छ? शिक्षण सिकाइ सम्बन्धी निर्णयमा शिक्षकको भूमिका हुन्छ कि हुँदैन? शिक्षकको तयारी र निरन्तर सुदृढीकरणको प्रबन्ध छ कि छैन?
तेस्रो, शैक्षिक संस्थाको नेतृत्व कस्तो छ? परम्परागत रूपमा चलिआएको 'एकल नेतृत्व' मा विश्वास गर्छ कि सामूहिक नेतृत्वमा विश्वास गर्छ? आफ्नो पदलाई नेतृत्व मान्छ कि आफ्नो कर्मलाई मान्छ? म नेता हुँ सबै मैले नै गर्नुपर्छ भन्ने भार लिन्छ कि यो सामूहिक अपनतत्वको यात्रा हो भन्ने मान्छ?
शासक हुँ, अरू शासित हुन् भन्ने सोचबाट निर्देशित छ कि, हामी फरक जिम्मेवारीमा मात्र हौं भन्ने बुझ्छ? आफू अन्तर्गतका शिक्षकहरूलाई सम्मान गर्छ कि गर्दैन, समानुभूति देखाउँछ कि देखाउँदैन? शिक्षकहरूले स्वायत्तता र आत्म–जिम्मेवारीबाट बढी गर्न सक्छन् भन्ने सोच राख्छ कि नियम कानुनमा कज्याएर काम गराउनुपर्छ भन्ने सोच राख्छ?
चौथो, शैक्षिक संस्थाको भौतिक संरचना कस्तो छ? शैक्षिक संस्थाको नेतृत्व बस्ने कुर्सी र विद्यार्थी बस्ने कुर्सीमा केही फरक छ कि समानता छ? विद्यार्थीहरू सहज रूपमा बस्न मिल्ने व्यवस्था छ कि छैन? शैक्षिक संस्थामा पानीको सहजता छ कि छैन, शिक्षक र विद्यार्थीले प्रयोग गर्ने शौचालय एउटै छ कि छैन? फरक क्षमता भएका विद्यार्थीहरूका लागि सहज वातावरण छ कि छैन?
पाचौं, विद्यार्थीले नियमित रूपमा पृष्ठपोषण दिन मिल्ने वातावरण छ कि छैन? कुनै समस्या पर्दा विद्यार्थीले सुनाउने ठाउँ छ कि छैन? शिक्षकहरू वा नेतृत्व विद्यार्थीहरूको पहुँचमा छन् कि छैनन्? शिक्षक र नेतृत्वलाई आलोचना गर्ने ठाउँ छ कि छैन? शिक्षकलाई प्रश्न गरेको आधारमा वा आलोचना गरेको आधारमा विद्यार्थीले परीक्षामा पाउने अंक वा ग्रेड घट्छ कि घट्दैन?
कतिपय शैक्षिक संस्थाहरूले गज्जबको लोकतान्त्रिक अभ्यास गरेको हामीले देखेका छौं। माथिका प्रश्नहरूमा सकारात्मक पहल भएको देखेका छौं। भएकै पहलबाट हामी केही सम्भावनाहरू सोच्न सक्छौं।
हामी मूल्यांकन, पुरस्कार तथा दण्डको नीति, छात्रवृत्ति वितरण, आर्थिक विवरण जस्ता सबै कार्य स्पष्ट र प्रमाणित तरिकाले सार्वजनिक गर्न सक्छौं। प्रक्रिया खुला हुँदा विद्यार्थीमा अन्यायको अनुभूति हट्छ। आफ्नो शैक्षिक संस्थाहरूमा भइरहेको कुरा पारदर्शी रूपमा थाहा पाउन सक्छन्।
हामी समाजको विविधतालाई चुनौती वा समस्याका रूपमा होइन, हाम्रो सांस्कृतिक र सामाजिक पुँजीका रूपमा स्वीकार गर्न सक्छौं। विद्यार्थीहरूको फरक पारिवारिक र सामाजिक पृष्ठभूमिलाई शैक्षिक संस्थाको सम्पदा र सामार्थ्यको रूपमा स्वीकार गर्न सक्छौं। समाजको बहुलता र विविधतालाई स्वीकार र सम्बोधन गर्नु हामी र विद्यार्थीको सिकाइका लागि महत्त्वपूर्ण हुन्छ।
एकछिन कल्पना गरौं त — एउटा कक्षामा मधेस, कर्णाली, सुदूरपश्चिम र काठमाडौंका विद्यार्थी छन्। उनीहरूको मातृभाषा, वेशभूषा, खानपान, चाडपर्व, आदि फरक फरक हुन्छ। समाजलाई हेर्ने दृष्टिकोण अलग अलग हुन्छ।
जब विविधताबीच एउटा कक्षाकोठामा उनीहरू सँगै आउँछन्, उनीहरूबीच एउटा मित्रताको सम्बन्ध गाँसिन्छ, जब शैक्षिक संस्थामा उनीहरूले सम्मान र सह–अस्तित्वमा आफ्ना कथा र विचारहरू सुनाउन पाउँछन्, उनीहरूले एक अर्कालाई बुझ्छन्। यसले शिक्षणमा नयाँ आयाम थप्छ। यसले देशलाई जोड्छ।
यसरी विविधताको स्वीकार र सम्बोधनले तत्कालीन शिक्षणको प्रभावकारितामा मात्र होइन, भ्रातृत्वको भावना जगाएर भविष्यका लागि लोकतन्त्रको सुदृढ आधार तयार गर्छ।
त्यस्तै, हामी जाति, भाषा, लिंग, पहिचान, आर्थिक अवस्था वा अंग्रेजी क्षमताका आधारमा हुने सुक्ष्म विभेद हटाउन स्पष्ट आचारसंहिता बनाउन सक्छौं। विविधता र फरकपन स्वीकार गर्दै त्यहीँबाट बृहत समाजबारे बुझ्न सक्छौं र आफ्ना सहपाठी र शिक्षकसँग गहिरो सम्बन्ध बनाउन सक्छौं।
हामीले आफ्नो शैक्षिक संस्थामा नियमित रूपमा खुला बहस, संवाद र विमर्श सञ्चालन गर्न सक्छौं। यस्तो कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू समेत सहभागी हुन सक्छन्। यस्तो बहसमा सहभागी हुँदा फरक मतलाई 'खतरा' होइन, विद्यार्थीहरूले ज्ञानको वैकल्पिक दृष्टिका रूपमा लिन सिक्छन्।
हामी विद्यार्थीको मूल्यांकन गरे जसरी शिक्षक र व्यवस्थापनको पनि मूल्यांकन गर्ने परिपाटी बसाल्न सक्छौं। यस्तो मूल्यांकनमा विद्यार्थीहरूले खुलेर मनमा लागेको विचार प्रकट गर्ने वातावरण सिर्जना गर्न सक्छौं। विद्यार्थीले सुरक्षित वातावरणमा शिक्षकको व्यवहार, कक्षाको माहोल, नेतृत्वसँगको अनुभव वा विभेदबारे बोल्न पाउने व्यवस्था नै लोकतान्त्रिक संस्कारको मूल आधार हो।
हामी शैक्षिक संस्थामै नागरिक चेतना, अधिकार र जिम्मेवारीबारे विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्छौं। यसले विद्यार्थीमा 'अधिकार' मात्र होइन—दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने जबाफदेही चेतना विकास गर्छ।
अनि, सबभन्दा महत्त्वपूर्ण कुरा — विभिन्न पहल र अभ्यासका लागि शिक्षकहरूको क्षमता अभिवृद्धिमा शैक्षिक संस्थाले निरन्तर लगानी गर्न आवश्यक छ।
एकात्मक अभ्यास भन्दा लोकतान्त्रिक अभ्यास निकै जटिल छ। शिक्षकले आदेश दिएर काम गर्न जति सजिलो हुन्छ, विद्यार्थीहरूको छलफलबाट सहमतिमा आएर काम गर्न उत्तिकै कठिन हुन्छ। यसका लागि शिक्षकलाई नियमित प्रशिक्षण, कोचिङ र मेन्टरिङ आवश्यक हुन्छ। सक्रिय सुनाइ, विवाद समाधान, विविधता व्यवस्थापन, निष्पक्ष मूल्यांकनबारे शिक्षकले निरन्तर सिकिरहनुपर्छ।
शिक्षक स्वयं लोकतान्त्रिक मूल्यमा प्रशिक्षित भए मात्र कक्षा पनि लोकतान्त्रिक बन्छ।
शिक्षा मन्त्रालयदेखि भुइँतहका निकायसम्म लोकतान्त्रिक अभ्यास
हामीसँग शिक्षा सम्बन्धी योजना बनाउने र नीति, नियम कार्यान्वयन गर्ने दायित्वमा शिक्षा मन्त्रालयदेखि पालिकासम्मका निकाय छन्। यिनीहरूको भूमिकाले पनि शैक्षिक संस्था र शिक्षकको अभ्यासलाई आकार दिएको हामीले देखेका छौं।
लोकतान्त्रिक संविधान अनुसार बनेका हाम्रा सरकारी निकायलाई हामीले निर्मम प्रश्नहरू गर्नुपर्छ।
के हाम्रो व्यवहारमा लोकतन्त्र छ?
हामीले शिक्षामन्त्री, एउटा विद्यार्थी वा शिक्षकलाई समान मानवीय नजरले हेर्छौं?
हामीले शिक्षा सम्बन्धी नीति र कानुनहरू कसरी बनाउँछौं?
हाम्रा कानुनहरूमा शिक्षक र विद्यार्थीलाई हेर्ने दृष्टिकोण कस्तो छ?
हामीले संविधानमा निःशुल्क आधारभूत शिक्षा त लेख्यौं तर त्यो निःशुल्कलाई हामी बालबालिकाको अधिकार मान्छौं कि सरकारले दिएको 'बक्सिस' ठान्छौं?
आम मानिसझैं शिक्षा बिग्रिनुको दोष सबै शिक्षक र शैक्षिक संस्थालाई मात्र दिन्छौं कि आफूले पनि जिम्मेवारी बोध गरेर हेर्छौं?
'नीति' त हाम्रो राम्रो हो तर शिक्षकले गरेन भन्छौं कि हामीले के सुधार गर्नुपर्छ भनेर आत्म–समीक्षा गर्छौं?
के हाम्रा शिक्षा नीतिहरूको केन्द्रमा विद्यार्थी र शिक्षक हुन्छन्?
कुनै कानुन बनाउनु अगाडि विद्यार्थी, शिक्षक र अभिभावकसँग बृहत् छलफल हुन्छ?
के हामी साँच्चै विद्यार्थीहरूलाई सम्मान गर्छौं?
के हामी साँच्चै शिक्षकको क्षमतामा विश्वास गर्छौं?
के हामी उत्कृष्ट काम गरिरहेका शिक्षक र शैक्षिक संस्थालाई विश्वास दिलाउन सक्छौं?
के हामी भन्न सक्छौं — तिमी नव–प्रवर्तन गर, पहल गर, प्रयोग गर। तिमीलाई कानुन कहिल्यै बाधा बन्दैन, हामी सहजीकरण गर्छौं। तिमी स्रोतको चिन्ता नगर, हामी खोज्छौं।
हाम्रा शिक्षा नीतिहरूमा 'लोकतन्त्र' लेखेर मात्र हुँदैन। पाठ्यक्रममा लोकतन्त्रको मूल्य र मान्यता सिकाउने भनेर मात्र पुग्दैन। यो त सम्पूर्ण शिक्षाको जिम्मा पाएको उपल्लो निकाय आफैले पालना गरेर सुरू हुन्छ।
लोकतान्त्रिक अभ्यासको आधार– विद्यार्थीप्रतिको विश्वास, माया, सम्मान र जबाफदेहिता
लोकतान्त्रिक अभ्यासका लागि सबैका लागि अपरिहार्य हुन्छ — विद्यार्थीप्रतिको विश्वास, सम्मान, र जबाफदेहिता।
सम्मानको अर्थ हो, विद्यार्थी पनि हामीजस्तै मानिस हुन् भन्ने भावना र व्यवहार। विद्यार्थीप्रति विश्वास भएन भने शिक्षकले विद्यार्थीलाई नियन्त्रण गर्न थाल्छ। शिक्षकप्रति विश्वास भएन भने नेतृत्वले शिक्षकलाई नियन्त्रण गर्न थाल्छ। यसपछि व्यवहारमा सामन्तवाद देखिन्छ। आफू तलका शासित र आफू शासक भन्ने महसुस हुन्छ।
कतिपय मानिसको कथा हामीले सुनेका छौं। शिक्षकले विद्यार्थीप्रति विश्वास गरिँदिँदा त्यसले विद्यार्थीको उत्प्रेरणा र उपलब्धिमा पनि फरक पार्छ। त्यसले कठिनाइसँग जुध्ने तागत दिन्छ। आफ्नो अन्तरमन र विवेकको आवाज सुन्न आत्मविश्वास दिन्छ।
सायद शिक्षा मन्त्रालय वा सरकारी निकायलाई लाग्छ — सरकारी शैक्षिक संस्थाका नेतृत्व र शिक्षकहरू हाम्रा कारिन्दा हुन्। उनीहरूले हाम्रो आदेश मान्नै पर्छ। आदेश नमानेमा कारबाही गर्ने अधिकार हामीसँग छ। निजी शैक्षिक संस्थाहरू पनि हाम्रै कानुनको घेरामा छन्। हाम्रा कारण उनीहरूले व्यवसाय गर्न पाएका छन्। उनीहरूमाथि शासन गर्नु हाम्रो अधिकार र जिम्मेवारी हो। हामीले नियन्त्रण नगरे उनीहरूले सबै बिगार्छन्!
सायद सरकारी शैक्षिक संस्थाको नेतृत्वलाई लाग्छ — म वरिष्ठतामा सबभन्दा माथि छु। मलाई सबै शिक्षकले सम्मान गर्नुपर्छ। मेरो आदेश शिरोपर गर्नुपर्छ। सरकारबाट आएको तलब भए पनि दिने अधिकार मसँग छ। हरेक निवेदन स्वीकृत गर्ने अधिकार मसँग छ। संस्थामा अगाडि बढाउने वा पछाडि पार्ने अधिकार मसँग छ।
सायद निजी शैक्षिक संस्थाको नेतृत्वलाई लाग्छ — यस संस्थाको मालिक र हाकिम म हुँ। मेरो संस्थाले शिक्षकहरूलाई तलब र सुविधाहरू दिन्छ। त्यसैले उनीहरूमाथि कडाभन्दा कडा नियन्त्रण गर्नुपर्छ। कसैले ममाथि प्रश्न गर्यो वा फरक विचार राख्यो भने निस्कासन गर्ने अधिकार मसँग छ।
सायद शिक्षकहरूलाई लाग्छ — कक्षाकोठाको शासक म हुँ। कक्षामा हरेक कुरा मैले भनेको जस्तै हुनुपर्छ। विद्यार्थीहरूले मैले सोचेकै जस्तो सोच्नुपर्छ। फरक विचार वा मत राख्ने विद्यार्थीलाई कारबाही गर्ने अधिकार मसँग छ।
यसरी शिक्षा मन्त्रालयदेखि शिक्षकसम्मको रेखीय सामन्तीवादी सोच विद्यार्थीमा लादिन्छ। अनि, विद्यार्थीलाई अध्यापन गराउने भनेर खोलिएका शैक्षिक संस्थाहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विद्यार्थीमाथि विभेद गरिरहन्छन्।
फलस्वरूप, अधिकांश शैक्षिक संस्थाहरू लोकतन्त्रको जगेर्ना र सुदृढीकरण गर्नेभन्दा पनि सामन्तवाद, असमानता र विभेदको प्रत्युत्पादन गर्ने कारखाना बनिरहेका छन्।
हाम्रो अधिकांश परिवारमा बालबालिकालाई हेपिन्छ। उनीहरूले आफूलाई खुलेर प्रस्फुटन गर्न पाउँदैनन्। आफ्ना अभिभावक र अग्रजको सोचबाट उनीहरू आकारित र निर्देशित हुन्छन्। शैक्षिक संस्थामा पनि त्यही कुरा दोहोरिन्छ।
हामीले कति वयस्कहरू भे्टछौं जसलाई ठूलो उमेर हुँदासम्म पनि शिक्षकको व्यवहारले चोट पुगेको हुन्छ। त्यसको आघात लामो समयसम्म बाँकी रहन्छ।
एकछिन कल्पना गरौं, जब कुनै विद्यार्थीले आफ्नो औपचारिक पढाइ सक्छ, उसले के सोच्छ? शैक्षिक संस्थाप्रति उसको धारणा कस्तो हुन्छ?
समाज र शैक्षिक संस्थाप्रतिको असन्तुष्टिले पनि बालबालिकामा सानैदेखि विद्रोहको भाव मौनतामै भए पनि हुर्किरहेको हुन्छ। कुनै दिन त्यो बिस्फोट हुन्छ।
हामीलाई लाग्ला — अकास्मात के भयो? अकस्मात युवाहरूले किन विद्रोह गरे? अकास्मात हाम्रा विद्यार्थीहरूले किन नसोचेको विश्वंश गरे?
कारण खोज्दै जाँदा हामीलाई थाहा हुनेछ — त्यो एक दिन वा एक क्षणमा जन्मिएको विद्रोह थिएन। त्यो त उनीहरूमाथि भएको अन्यायको, सयौं पटक उनीहरूको आवाज दमन गरेको उकुसमुकुस बिस्फोट भएको थियो।
जेनजी आन्दोलनले दिएको सन्देश
एकछिन गत भदौमा भएको जेनजीहरूको आन्दोलन हेरौं।
यदि विद्यालय र विश्वविद्यालयमा नै 'किन' भन्ने प्रश्नको कदर हुन्थ्यो र 'असहमत छु' भन्न सक्ने साहस हुन्थ्यो भने, आजका युवाहरूले आफ्नो आवाज सडकमा होइन, संवादको मञ्चमा उठाउने थिए।
तर हामीले उनीहरूलाई त्यो ठाउँ दिएनौं। लोकतन्त्र भने पनि पारदर्शी भएनौं, फरक विचारको सम्मान गरेनौं।
यसले विधिको शासन कमजोर बन्यो र व्यक्तिगत स्वतन्त्रतामा संकुचन आयो।
युवाहरूले तत्कालीन सरकारसँग केवल प्रश्न त गरेका थिए, हामीले आफ्नो विचार राख्ने र अरूसँग जोडिने, अनि कतिपयको रोजगारीको स्रोत भएको सामाजिक सञ्जाल किन बन्द गर्यौ?
उनीहरूले यत्ति त मागेका थिए — भ्रष्टाचार रोकौं। सुशासन ल्याऔं।
तर के भयो?
उनीहरूको कुरा कसैले सुन्नै चाहेन। उनीहरूले किन भनिरहेका छन् भनेर सोध्ने जिज्ञासा कसैको भएन।
त्यसपछि फरक विचारले विद्रोहको बाटो लियो। त्यो विद्रोहमा पनि क्रुरतापूर्वक गोली चलाइयो।
जेनजी आन्दोलन राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि मात्र होइन, यो नयाँ पुस्ताले विभेदपूर्ण प्रणाली, मूल्य र असमान व्यवहारविरूद्ध उठाएको प्रश्न पनि हो।
यो खुलमखुला हामीले भोगेको तथ्य हो — अझै पनि कानुन सानाका लागि कठोर र ठूलाका लागि लचिलो छ। इमानदार भएर सच्चा नियतले कुनै काम गर्न वा गराउन पनि नेताहरू र उपल्ला तहका कर्मचारीको पछाडि दौडिनुपर्छ। राजनीतिक पहुँच भए कानुन लाग्दैन, त्यही ऐनले सानालाई भने छाड्दैन।
अघिल्लो पुस्ता यस्तो कुशासनबाट आजित भएका थियौं, थाकेका थियौं, यस्तै त हो भनेर अभ्यस्त भएका थियौं। नयाँ पुस्ताले त्यो सहने आँट गरेन। विद्रोह गर्यो।
जब यही असमानता निरन्तर दोहोरिन्छ, समाजमा विश्वास हराउँछ। फेरि विद्रोह हुन्छ, फेरि लोकतन्त्रको जग हल्लिन्छ।
यो लेखको एक लेखक म (नरोत्तम अर्याल) उच्च शिक्षाका लागि नर्वेमा हुँदा लोकतन्त्रको गज्जबको अभ्यास देखेको थिएँ। त्यहाँ प्रधानमन्त्रीदेखि मन्त्रीसम्म कसले कसलाई भेटे, कहिले भेटे, कति बेर भेटे, के एजेन्डाका लागि भेटे — सबै सार्वजनिक हुन्छ।
यो नै पारदर्शिता हो।
तर नेपालमा सिंहदरबारभित्र सामान्य नागरिक पस्न सक्दैन। सामान्य नागरिकालाई थाहा हुँदैन — हाम्रा प्रतिनिधिहरूले के के गरे, किन गरे?
जेनजी विद्रोहको अर्को पक्ष पनि हेरौं।
यो आन्दोलन असन्तुष्टिको मात्र आन्दोलन थिएन, हाम्रो शिक्षा प्रणाली असफल भएको प्रमाण पनि थियो। हामीले एक नागरिकका रूपमा आफ्ना अधिकारहरूबारे पढायौं तर नागरिकको जिम्मेवारीबारे बुझाएनौं।
जेनजी आन्दोलनका धेरै सकारात्मक पक्षहरू भए पनि केही दुखद क्षणहरू पनि देखिए — सार्वजनिक सम्पत्ति जलाइयो, निजी व्यवसाय खण्डहर बने, त्रास फैलियो। कयौंले रोजगारी गुमाए। विदेशमा पनि नराम्रो सन्देश गयो।
'आधा मात्रै जानकारी' हुँदा सार्वजनिक र निजी सम्पत्ति क्षणभरमै खरानी बने। एकछिन रोकिएर सोच्नेभन्दा हुलको पछाडि लाग्दा हामी आफैलाई भार पर्ने सम्पत्तिहरू नष्ट भए।
यसको एउटा कारण हो — हामी शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई आलोचनात्मक चेत सिकाउन सकेनौं। आफू र समाजमाथि प्रश्न गर्न सिक्यौं भने मात्र सत्यमा पुग्न सकिन्छ, तर हाम्रो शिक्षाले त्यो साहस दिएन।
हामी कसैलाई पनि अरूको पूरा कथा थाहा छैन। हामी कसैले भनेको सुनेर निष्कर्ष निकालिहाल्छौं। कुनै भ्रमपूर्ण हल्ला र ट्रोलमा पनि विश्वास गरिहाल्छौं।
सबै तहको अधिकांश पाठ्यक्रमको केन्द्रमा हामी देख्न सक्छौं — विद्यार्थीलाई आलोचनात्मक चेत सिकाउने। अर्काको विचार बुझ्ने, विवेचना गर्ने र आफ्ना मूल्य ठम्याउने क्षमता नै आलोचनात्मक चेत हो।
त्यो नभएपछि हामी या त 'अन्धभक्त' बन्छौं, या त 'कट्टर विरोधी'। हामीलाई आफ्नो विचार मिल्ने मानिस देवता लाग्छ, फरक मत हुने मानिस राक्षस लाग्छ। हामी कसैको पक्ष वा विपक्षमा उभिइहाल्छौं।
धेरै विचारहरूको समग्रता नै समाज हो। लोकतन्त्रको मान्यता नै यही विविधताको स्वीकार र सम्मान गर्नु हो, मध्य बाटो खोज्नु हो, समन्वय गर्नु हो।
हामीले आफ्नो आस्था राख्न पाउनुपर्छ। यो हाम्रो अधिकार हो। हामीले जस्तै अरूले पनि आफ्नो आस्था राख्न पाउनुपर्छ। त्यसको स्वीकार र सम्मान हामीले गर्नुपर्छ। त्यो हाम्रो दायित्व हो।
हरेक कुरामा विभाजित र ध्रुविकित समाजले कहिल्यै प्रगति गर्न सक्दैन। हामीले एक अर्कालाई सुनेर र बुझेर साझा बाटो खोज्नैपर्छ।
जेनजी विद्रोहले समाजमा स्पष्ट सन्देश दिएको छ।
समाजमा कुरा सुन्ने र संवाद गर्ने मन्चहरू बनाऔं। विद्यालयका शिशु कक्षाका बालबालिकादेखि विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकाहरूको कुरा सुनौं, संवाद गरौं। दैनिक व्यवहारमा शिक्षकहरूले कुरा सुनौं। नीति निर्माण गर्नेहरूले पनि सुनौं। उनीहरूलाई प्रभाव पार्ने नीतिमा उनीहरूको सहभागिता अपरिहार्य छ।
नागरिक चेतना र जिम्मेवारी
नर्वेका एक प्राध्यापक शोधपत्र पर्यवेक्षकको रूपमा नेपाल आउँदा हामीले एउटा प्रश्न सोध्यौं, 'नर्वेको विकासको जादु के हो?'
उनको उत्तर सरल थियो, 'हाम्रो विकासको जादु यो हो कि हामी नियम बनाउछौं र त्यसको पालना गर्छौं।'
फिनल्यान्डमा नागरिकहरूले नियमको पालना गरेको देखेर म (नरोत्तम) चकित भएको थिएँ। त्यहाँ जति नै राति किन नहोस्, नियम पालन गर्छन्। राति सडक खाली हुँदा पनि हरियो बत्ती बलेपछि मात्रै बाटो काट्छन्।
कतिलाई यो 'मूर्खता' लाग्ला तर त्यो मूर्खता होइन, नागरिक चेत हो।
फलोअरको संख्याले सफलता मापन गर्ने युगमा नागरिकको दायित्त्व अझै बढी छ। अधिकार माग्न तयार हुने हामी जिम्मेवारी र दायित्वमा भने पन्छिने गरेका छौं। हामीले त्यस्तो संस्कारको विकास गर्नुपर्छ, जहाँ एक अर्काको सम्मान होस्। सबैलाई आफ्नो दायित्त्व र जिम्मेवारी बोध होस्। विविधता र फरक दृष्टिकोणको कदर होस्।
अब यो भर्सेस त्यो होइन, सहकार्यको भावनामा जोड गर्नुपर्छ। यहाँ हामी कोही पनि स्टार होइनौं र कोही पनि 'झुर' होइनौं। समाजमा सबैको योगदान छ। एउटा पक्षलाई 'सुपरस्टार' बनाएर अन्य पक्षलाई मूल्यहीन बनाउन र नजरअन्दाज गर्न हुँदैन। यसले लोकतन्त्र दिगो हुँदैन।
हरेक मान्छे फरक हो। हरेकका आफ्नै सबल र दुर्बल पक्ष छन्। फरक परिवेश छ। जब हामी यी कुरा बुझ्छौं, समावेशी वातारण तयार हुन्छ। एकले अर्कोलाई बहिस्कार गर्न थाल्ने हो भने हामी बदलाको चक्रव्युहमा परिरहने छौं।
लोकतन्त्र संविधानमा लेखिएको अक्षर मात्र होइन। हरेक वर्ष वैशाख ११ वा फागुन ७ गते स्मरण गर्ने दिन मात्र होइन। यो एक संस्कार र अभ्यास हो। मानव सभ्यताको प्रक्रियामा अँगालिएको सापेक्षित रूपमा उन्नत व्यवस्था हो।
लोकतन्त्र राजनीतिकर्मी र आम जनताको संघर्षबाट हामीले प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो।
यसको प्रारूप निर्माण गर्ने, नीति–नियम बनाउने र अभ्यास गर्ने महत्त्वपूर्ण दायित्व पक्कै पनि राजनीतिकर्मीहरूको हो। सँगसँगै यो व्यवस्था हुर्काउने र सुदृढ गर्ने महत्त्वपूर्ण दायित्व शैक्षिक संस्था र हामी शिक्षकहरूमा पनि निहित हुन्छ।
हो, हामी एकै पटकमा पूर्ण हुन सक्दैनौं। साना साना अभ्यास गर्दै जान महत्त्वपूर्ण हुन्छ।
विभिन्न आन्तरिक र बाह्य सीमितताले अपेक्षा अनुरूपको आदर्श वातावरण आजको भोलि निर्माण गर्न सकिँदैन। तर निरन्तर सिकाइ र परिमार्जन गर्दै जाने सोच र प्रतिबद्धता अपरिहार्य हुन्छ। लोकतान्त्रिक मूल्य, मान्यता र संस्कार गफ गर्ने विषय मात्र होइनन्, यी त जीवन जिउने तरिका हुन्।
***
(लेखक नरोत्तम अर्याल किङ्स कलेज, काठमाडौंका अध्यक्ष हुन्। लेखक विजयमणि पौडेल हाल चेभनिङ छात्रवृत्ति अन्तर्गत बेलायतस्थित युनिभर्सिटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछन्।)
एक्स (ट्विटर)- @narottamaryal & @mani_bijaya