निर्वाचन डिस्प्याच
'खोइ...मेरो भाइ कहाँ होला?'
यति भन्दा नभन्दै चितवन, भरतपुर–२० का नारायणदत्त भुसालको आँखाबाट बरर आँशु झर्न थाले।
छेवैमा रहेकी उनी पत्नी सम्झाउन थाल्छिन्, 'नरूनुस् क्या...कति रूनुहुन्छ? आउँदैन अब तपाईंको भाइ!'
हरेक निर्वाचन नारायणको मुटु चहर्याउने गरी आउँछ। अनि उनी स्मृतिको गर्तमा पुग्छन्।
२०५६ असार २३ गते।
झमझम झरी परेको रात। भुसाल परिवारको थाप्लामाथि पनि अनिष्टको मेघ मडारिने गरी खबर आयो — पोखरा पृथ्वीनारायण क्याम्पसको डेरा गरी पढिरहेका देवनारायण एकाएक बेपत्ता भए।
उनी कहाँ गए, कसैले सुइँको पनि पाउन सकेन।
देव पढाइमा मध्यम विद्यार्थी थिए। घर कमै आउजाउ गर्थे। राजनीतिक चेतना उच्च थियो। बालबालिकादेखि वृद्धवृद्धासँग तुरून्तै घुलमिल भइहाल्ने मिलनसार र बाचाल स्वभावका थिए। वाकपटुताले अरूलाई आकर्षित गर्ने स्वभाव थियो।
'उसको चालढालले ठूलो मान्छे बन्ने लक्षण देखाएको थियो। हामीले पनि उसलाई फुक्काफाल छाडिदिएका थियौं,' ६० वर्षीय नारायणले सुनाए।
हिँड्न जानेको मान्छेले बाटो पायो खुट्टा फड्कारेर धेरै टाढाको यात्रा तय गर्न सक्छ भन्ने भुसाल परिवारको बुझाइ थियो। त्यसैले पनि उनीहरूले देवलाई रोकेनन्।
उनी पिएन क्याम्पसमा बिए तेस्रो वर्षको परीक्षाको तयारी गरिरहेका थिए। आम निर्वाचन भर्खरै सकिएकाले उनी सबै काम छाडेर परीक्षा तयारीमा जुटेका थिए।
२०५६ वैशाख २० र जेठ ३ मा गरी दुई चरणमा निर्वाचन भएको थियो। उम्मेदवारको निधन भएर रोकिएका केही निर्वाचन क्षेत्रमा असारको दोस्रो साता निर्वाचन भएकाले देवले फुर्सद पाएका थिए।
देवको संगत तत्कालीन नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग थियो। त्यति बेला नेकपा एमाले विभाजन भएकाले अनेरास्ववियु पनि विभक्त थियो। उनको झुकाव मालेको विद्यार्थी संगठन अनेरास्ववियूसँग थियो कि, उनी यसै भन्न सक्दैनन्।
तथापि देवको उठबस हेर्दा उनी एमालेनिकट अनेरास्ववियुमै अडिएका थिए भनेर अड्कल काट्छन् नारायणदत्त।
'मुलुकमा आम निर्वाचनको गर्मी चढेको थियो। राजनीतिक दलतिर झुकाव भएकाले ऊ साविक गण्डकी अञ्चलका गाउँगाउँ चहारेर चुनावी प्रचार–प्रसारमा हिँडेको थियो भन्ने सुनेका हौं। निर्वाचनको प्रचारका क्रममा शत्रु पो लागे कि,' नारायण शंका गर्छन्।
निर्वाचन सकिएलगत्तै परीक्षाको तयारी गर्नुपर्ने भयो। उनी आफ्नै पढाइतिर फर्किएका थिए।
तर परीक्षा सुरू हुने अघिल्लो दिन उनी बेपत्ता भए।
देवले कास्कीको बगर नजिकै डेरा लिएका थिए। उनको कोठा धेरैको आउजाउ गर्ने थलो बनेको थियो। एक किसिमले भन्दा उनको मुकाम राजनीतिक वातचित र योजना निर्माणको थलो थियो। कम्युनिस्ट पार्टीका दस्तावेज, मुखपत्र र दृष्टिकोणले कोठा भरिएका थिए।
देव बेपत्ता भएको खबर गाउँकै राजेन्द्र भुसालले दिएका थिए। तिनताक राजेन्द्र पनि पोखरा बसेर पिएन क्याम्पस पढिरहेका थिए। डेरा पनि पैदल दुरीमा, नजिकै थियो।
'भाइ परीक्षा दिन पनि आएनन्, मध्यरात कोठाबाट निक्लिएको मात्रै थाहा लाग्यो, कता गए, कसले लग्यो, केही सुइँको पाउन सकिएन भनेर उनै भाइले खबर गरेका थिए,' नारायणले भने।
त्यसपछि भुसाल परिवार छाँगाबाट खसेजस्तै भयो।

नारायण परिवारका केही सदस्यसहित हान्निएर पोखरा आए। केही सुराक मिल्छ कि भनेर डेराको खानतलासी लिए। साथीसंगी र उनी जानसक्ने सम्भावित ठाउँहरू बुझे।
अहँ केही सीप चलेन। कुनै सुराक मिलेन।
'यसै यसै बेपत्ता पो भयो मेरो भाइ,' नारायणले भावुक हुँदै भने।
त्यति बेला नेकपा माओवादी युद्ध चर्किँदै थियो। गाउँगाउँका युवा जनमुक्ति सेनामा भर्ती भइरहेको, सशस्त्र संघर्षलाई गति दिन उनीहरूले ठाउँठाउँमा विस्फोट गराइरहेको घटना सामान्य बनिरहेको थियो।
माओवादी विद्रोह झाँगिन नदिन प्रशासनले पनि कडाइ गरेको थियो। खोज–तलास र कारबाही तीव्र पार्दै लगेको थियो। मान्छे मर्ने र मारिने क्रमले पनि बढोत्तरी पाउँदै थियो। अन्य दल परित्याग गरी माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा लागिरहेकाहरू बेपत्ता हुन थालिसकेका थिए।
त्यसो त युद्धसँग साइनोसम्बन्ध नै नभएकाहरू पनि अनाहकमा थुनिने, ताडना पाउने, मारिने क्रमले तीव्रता पाइरहेका बेला देव पनि त्यो भुंग्रोमा परे कि भनेर भुसाल परिवार सुरक्षा निकायको सम्पर्कमा पुग्यो।
'मैले त्यति बेला लेखाएका र प्रशासन समक्ष बुझाएका प्रहरी रिपोर्ट सुरक्षित गरेको छु। अहिले ती सबै खत नबस्ने लिखत बनेका छन्। कागजले पनि पीडा दिँदा रहेछन्,' सुनाउँदै गर्दा नारायण फेरि रून थाले।
माओवादी युद्ध विस्तार हुँदै गएकाले 'उतै भूमिगत भयो कि' भनेर प्रशासनले त्यति धेरै चासो दिएन। बुझ्न जाँदा 'हामीले खोजी गर्न हाम्रा संयन्त्रमा भनेका छौं, केही जानकारी आउनासाथ खबर गर्छौं' बाहेक तिनले कुनै मूर्त जबाफ दिएनन्।
देवबारे कुनै टुंगो लागेन।
हुर्किएको छोरो बेपत्ता भएपछि भुसाल परिवारमा बज्र खनिएझैं भयो। बुबा भूमिदत्त र आमा पूर्णकला शोक र चिन्तामा डुबे। आमा त झनै गहिरो अवसादमा डुबिन्।
'गाउँमा कोही नयाँ मान्छे आएको देख्नै नहुने, मेरो छोरो आयो भन्न थाल्नुभयो। आँखै अगाडि निधन भएको भए त्यसको शोक समयले पुर्दै लैजाने रहेछ,' नारायणले पीडा पोख्दै भने, 'परिवारका सदस्य कोही बेपत्ता भए सिंगो परिवार त्यसको शोकमा वर्षौंवर्ष डुबेर बस्दो रहेछ र त्यो नै मृत्युको कारण बन्दो रहेछ!'
छोराको झझल्कोले ऐंठन बढाउँदै लगेपछि भुसाल परिवारले पर्वत छाड्न पनि खोज्यो। २०६६ सालमा उनीहरू चितवनको भरतपुर बसाइँ सरे। तीन कट्ठा चार धुर जति जग्गा लिएर सानोतिनो घर बनाए।
थातथलोबाट जति पर पुगे पनि शोकले पछ्याउन कहाँ छाड्छ र!
पीडाले उनीहरूलाई छाडेन। उनीहरूले भाइको खोजतलास गर्न पनि छाडेनन्।
'मैले त्यति बेला एमालेका जानेबुझेका, चिनेका र सम्पर्कमा पुग्न सक्ने सबै नेताको दैलो चहारेँ। हारगुहार गरेँ,' नारायण भन्छन्, 'मैले उहाँहरूबाट आश्वासन बाहेक केही पनि पाइनँ।'
आश्वासनले उनीहरूको गहिरिँदै गएको छातीको घाउ निको भएन।
छोरो आउने बाटो हेर्दाहेर्दै आमा पूर्णकला अस्ताइन्। दीर्घ रोगी बन्दै गएका बाबु भूमिदत्त पनि बिते।
भाइ खोज्दाखोज्दै ताडित बनेका नारायणले रोजगारीको सिलसिलामा लामो समय भारतमा बिताए। त्यसो त उनी देव बेपत्ता हुनुअघि नै भारत पसिसकेका थिए। देवको खबर पाएपछि नेपाल आएर लामो समय तलासमा लागेका थिए। भारत हुँदा पनि उनले भाइको खोजीमै ध्यान दिइरहे।
'भारतमै भएका बेला म तत्कालीन नेकपा माओवादीको प्रवास संगठनमा मिसिएँ। भाइ हराएपछि लागेको घाउ यसले पो पुर्छ कि भनेर म उनीहरूको सम्पर्कमा पुगेको थिएँ,' नारायणले सुनाए।
माओवादीको भारत प्रवास संगठनमा क्रियाशील हुँदा र राजनीतिक चेतना बढाउँदै जाँदा पीडा त केही मत्थर भयो तर दुर हुन सकेन।
२८ वर्षजति प्रवासमा बिताएर उनी चितवन आए।
बुबाआमाको निधन भएपछि भाइ खोज्ने दायित्व उनको काँधमा आयो। भेटिने छेकछन्द नपाएपछि उनले आफ्नो बानी बिगारे। रक्सीको कुलतले उनलाई छोप्दै लग्यो।
'भाइ आउँछ आउँछ भन्दा भन्दै उहाँ त खराब बानीतिर पो लाग्नुभयो। अहिले बिस्तारै सुध्रिन थाल्नुभएको छ,' नारायणकी श्रीमतीले भनिन्।

चुनावी रिपोर्टिङ सिलसिलामा हामी उनको घर पुग्दा नारायण पुराना दिन सम्झिइरहेका थिए। चुनाव आउनेबित्तिकै चहर्याउने पुरानो घाउको चोट आँखामा प्रतिच्छवित थियो।
'जति पछि भयो, उति आलो हुने घाउ बोकेर बाँचेका छौं,' उनले देवको तस्बिर देखाउँदै भने, 'जसै साँझ हुन्छ हामीलाई अझै पनि भाइ आउँछ कि भन्ने आश लाग्छ।'
यही आशमा २६ वर्ष बिताएको भुसाल परिवार अझै पनि अनिँदै बस्छ।
'भाइ आउँछ भनेर हामीले त अहिलेसम्म काजकिरिया पनि गरेका छैनौं। उसको भागमा रहेको पुर्ख्यौली सम्पत्ति जस्ताको जस्तै राखिदिएका छौं। मलाई कताकता लागिरहेको छ — मेरो भाइ आउँछ। यसरी बेपत्ता भइरहन सक्दैन ऊ!,' नारायणले अन्तिममा भने।