कफीगफ
हामी 'तोडा क्याफे' मा साँझको खानाका लागि हतारिनुपर्ने भयो। केही बेरमा तोडाहरू आइपुग्दै थिए।
तोडा महिला समूह उटीको उकालोस्थित हामी बसेको होटल पस्दै थियो।
बाइस सय पचास मिटर उचाइको चिसो ठाउँमा शरद यामले सुस्तरी ढोका धकेल्दै नयाँ फूलहरूको सुगन्ध फैलाउँदै थियो।
ती महिलाहरू सुन्दर पहिरनमा हाम्रो कार्यशाला कक्षतिर खुट्टा उचाल्दै थिए। तिनका शरीरभरि ढाकिएका बुट्टाले आँखा तिरिमिरि पार्थे।
ती बुट्टामा घाँसका फूल त अवश्य थिए।
त्यहाँ त्यस्ता मौलिक आकृति र तिनको आभास थियो, जसले नीलगिरि पर्वतमालाको एउटा सानो समुदायको लामो कीर्ति साँचेर राखेका थिए।
हाम्रो होटलको सबभन्दा धेरै घाम लाग्ने र फराकिलो भूदृश्य देखिने व्यस्त रेस्टुरेन्टको नाम नत्र किन राख्थे होलान् त 'तोडा'?
जसै उनीहरूले आफ्ना सुगठित शरीरलाई हलुका पार्दै खाली खुट्टा मञ्चतिर पाइला बढाए, प्रकृतिको संरचना बुझ्न कति आवश्यक छ भनेर थप प्रशिक्षित हुन प्रशिक्षणमा आएका हाम्रा आँखा झन् चनाखा भए।
सुती कपडामा खुकुला धागाहरू प्रयोग गरिएका थिए। तिनको सुक्ष्म र कलात्मक कढाइमा विशिष्ट शैली र डिजाइन थियो।
कालो र रातो रङका घेराभित्र त्रिकोणात्मक प्रतीकहरू सज्जित त्यो पोशाक घरबुना भएको अनुमान गर्न कठिन थिएन।
धागा गन्दै हातैले ज्यामितीय आकृति दिएका, पछाडिबाट टाँचा मोडेर दुवैतिरबाट देख्न मिल्ने बनाएका पुटकुली!
पुटकुली भनिने त्यो पहिचानात्मक परिधानमा उनीहरूको संसारको दृश्यभाषा थियो।
त्यो चित्र–संसार आम मानिसको साधारण समझभन्दा धेरै पर थियो। त्यो कुनै एक जनाले सिर्जना गरेको थिएन। त्यो एउटा समुदाय र संस्कारको शैली थियो।
त्यो कति वैभवपूर्ण थियो भने वनस्पति–जनावर, ब्रह्माण्ड झल्काउने ती बुट्टामा भैंसीका सिङसहित सूर्य, चन्द्रमा, तारा र पहाडको आनन्दमय संसार थियो।
कुनैमा भैंसीका सिङसँगै पुतलीका पखेटा, मौरीको घार र घाँसे फूल थिए।
मिहीन ढंगले, बडो विस्तारपूर्वक बुनिएका पुटकुलीले मलाई तिनको अर्थतिर गहिर्याउँदै लगे। उनीहरूले त्यो आकर्षक कढाइलाई 'पुगुर' भनेका थिए।
'पुगुर भनेको?'
'फूल!'
सुन्दर भैंसीका आकर्षक सिङमार्फत आफ्नो प्रथा सञ्चार गर्ने त्यो घाँसेफूलको समाज थियो।
पुटकुलीमा भैंसीको सिङ एउटा आकृति मात्र होइन; त्यो एउटा सभ्यताको संकेत हो— जसमा चरनभूमि, दूध, देवता र पुर्खाको स्मृति एउटै धागोमा उनिएको हुन्छ।
नीलगिरिको माथिल्लो पठार उन्नाइसौं शताब्दीको मध्यसम्म चरनका लागि खुला घाँसे भूदृश्य थियो, जहाँ तोडाहरूले आफ्नो प्राकृतिक संसार विस्तार गरेका थिए।
बेलायती उपनिवेश र व्यापारिक अर्थतन्त्रको प्रभाव पर्न थालेपछि पनि तोडाहरू जेनतेन जोगिए। अंग्रेजहरूले आफ्नो मनोरञ्जनका लागि पहाडी पठारको सुन्दर खुला भूदृश्य जोगाउन चाहे।
दक्षिण भारतको यो भूखण्ड कालान्तरमा विश्वकै महत्त्वपूर्ण प्राकृतिक सम्पदामध्ये एकका रूपमा युनेस्कोको विश्व सम्पदा सूचीमा समेटियो।
दुर्लभ र सङ्कटापन्न वन्यजन्तु, पुरानो भूगर्भीय इतिहास, जैविक विविधता र स्थानीय प्रजातिहरूको प्रचुरता, प्रजातिहरूको विकास तथा छुट्टिने प्रक्रिया अध्ययन गर्न सकिने 'श्रेष्ठ प्राकृतिक प्रयोगशाला'!
दक्षिण–पश्चिमी मनसुनी वायु रोक्न प्राकृतिक पर्खालको काम गर्ने र वर्षा प्रणालीलाई समेत प्रभावित पार्ने नीलगिरिको यो भूखण्डमा वन क्षेत्र मात्र होइन, मौसमी फूलले ढाकिने पहाडी घाँसे मैदान पनि संरक्षणका विषय बने।
भैंसीलाई पवित्र मानेर पूजा गर्ने यो समुदायले भैंसीमार्फत आफ्नो सांस्कृतिक इतिहास जोगाउँदा प्रकृतिको विराट विरासतको पनि जगेर्ना गर्दै थियो।
सानो समुदायको जीवनरेखा सोझो कहाँ हुन्छ र? खुला चरन क्षेत्र आजको युगमा कतै सम्भव रहिरहला र?
हामी जुन फार्ममा दिउँसो कार्यशाला गर्न उक्लिन्थ्यौं, त्यो कुनै तोडाको थिएन।
फार्मको जग्गाधनी लालपुर्जा जसको हातमा थियो, उनी सत्तरी वर्ष काटेकी डक्टर थिइन्। उनी हामीकहाँ आएर भन्नेवाला थिइन्, 'तपाईंहरू कहाँ कहाँबाट आइदिनुभयो, म रमाउन पाएँ।'
उनले हामीलाई देखाएको पाखामा धेरै वर्ष युकलिप्टसको जंगल बन्यो। अंग्रेजकै पालादेखि त्यस्ता बाह्य प्रजातिका रूख यसरी रोपिए, जसले खर्कहरू मात्र नासेका होइनन्, पानीका मुहानसमेत सुकाइदिए।
तिनै रूख फाँडेर पाखालाई तरकारी खेतीका लागि भाडामा दिइएको थियो। त्यो जग्गा भाडामा लिने व्यक्ति हाम्रो प्रशिक्षण व्यवस्थापन समितिका सक्रिय सदस्य थिए, जसको जैविक खेती पद्धतिको ध्येय माटो रसिलो राख्नु थियो।
'डक्टर, तपाईं आफ्नो ठाउँ कस्तो बनोस् भन्ने अपेक्षा गर्नुहुन्छ?'
सिरसिर चिसो छल्न ज्याकेट लगाउँदै, तल सहरको व्यस्त चिकित्सकीय दैनिकीबाट उम्केर आएकी जग्गाधनीले नीलो जिन्स पाइन्टमाथि हातेझोला सार्दै त्यही हात उत्तरी डाँडातिर तेर्स्याइन्।
भनिन्, 'ऊ त्यो ठाउँबाट सानोमा देखेको झरना फर्केको हेर्न चाहन्छु!'
माटोमाथि मानवको आफूकेन्द्रित उपभोगको जुन संसारभरि विस्तार भइरहेको छ, त्यसबीच नीलगिरि निला फूलहरूको प्राकृतिक बगैंचा रहिरहोस् भन्न कसले सक्छ र?
युकलिप्टसजस्ता व्यावसायिक वन मात्र होइन, चियाबगान मौलाउँदै जाँदा यहाँको भूदृश्य बदलिनु, जलचक्र फेरिनु र तोडाहरूको जीवनशैलीमाथि दबाब पर्नु अपरिहार्य बन्दै गयो।
घाँसेमैदान हराउनु चरन हराउनु मात्र थिएन।
नीलगिरिका पहाडभरि छरिएका साठीभन्दा बढी ससाना बस्तीमा बस्दै आएका तोडाहरूले चरनमा आधारित जीवनशैलीबाट खेतीतर्फ मोडिनुपर्ने भयो।
भैंसीको 'मन्दिर' का लागि वन क्षेत्रसँग जोडिएको परम्परा भने जारी राख्न पाए। किनभने कुनै एउटा विशिष्ट भैंसीलाई पवित्र मानेर दुग्धस्थान बनाउनु र पुजारीको व्यवस्था गर्नु उनीहरूको परम्पराको केन्द्रीय हिस्सा हो।
भैंसीपालन, चरनभूमि व्यवस्थापन, मौसम, वनस्पति, दुग्ध–धर्म र स्थानीय पारिस्थितिक प्रणालीसँगको सम्बन्ध साधारण ज्ञान प्रणाली होइन।
परम्परागत चरनभूमि घट्यो, बाह्य प्रजातिको वृक्षारोपण बढ्यो, वनक्षेत्र र चरनमा पहुँच कम भयो, तोडा युवाकै जीवनशैली र सोच फेरियो, बजारको दबाबले धेरै दूध दिने मुर्रा भैंसी आकर्षक हुनपुग्यो, हजारौं वर्षदेखि आफूसँगै डुल्दै आएको नामै 'तोडा भैंसी' को नस्ल जोगाउने कसरी भन्ने प्रश्न ठडिँदै आयो।
'आधुनिकता' ले उनीहरूलाई जति परित्यक्त पार्दै लग्यो, परम्पराको धुकधुकी बचाउँदै आएकाहरू हाम्राअगाडि मञ्चमा आफ्ना लोकभाका हाल्न थाल्दै थिए।
तिनका शरीर जसै स्वरहरूको लयमा फुरफुर हुने गरी लहराउन थाले, हाम्रा हातखुट्टा पनि थाहै नपाई सुस्तरी सल्बलाउन थाले।
एसियाली भाइचारा मनाउन भेला भएको हाम्रो अन्तर्राष्ट्रिय टोलीमाझ हल्लिरहेका तोडाहरूले आफ्ना प्रकृति र संस्कृतिबाट निःसृत पुर्खा र परम्पराको सुस्केरा हाल्दै हामीलाई भित्रैदेखि हल्लाउन थाले।
तिनका बाजागाजारहित सामूहिक स्वरको सिलसिला गाढा हुँदै जाँदा हामी बाहिरबाटै हल्लिएका मात्र थिएनौं। नर्तक समूहसँगै नारिएर र जोडिएर समूह–नाचमा मत्मतिन थालिसकेका थियौं।
एक पाइला अगाडि बढ्न समूहसँगै गोलो बाँधिएर हामी अर्को पाइला पछि हट्यौं। समूह स्वर यसरी मादकता फैलाउँदै थियो, आदिवासी अनुभूति कस्तो हुँदो हो भन्ने महसुस गर्न हामी समूहसँगै घुम्दै, हल्लिँदै नाचिरहेका थियौं।
तोडा नाच लोकनृत्यभन्दा पनि सामूहिक अनुष्ठान हो।
गोलाकार नाच भएकाले यसमा व्यक्ति होइन, समुदाय प्रकट हुन्छ। कोही एक मुख्य नर्तक हुँदैन। सबै मिलेर एउटा नर्तकजस्तो देखिन्छन्।
यसको सौन्दर्य व्यक्तिगत कौशल वा कठिन चालमा होइन, सामूहिक लय र गतिमा हुँदो रहेछ भन्ने थाहा हुँदै गयो। तर त्यतिखेरसम्म हाम्रा सामूहिक चाल बन्द भएको चालै भएन।
के थियो त्यो गीत? के भनिएको थियो होला त्यसमा? त्यसले किन हामीलाई सुदूर विगतमा, सुदूर कतै क्षितिजपारि, सम्झनामा पुर्यायो? त्यो गायकीमा के रहस्य थियो, जसले हामीलाई मात् लाग्दै थियो?
तोडाहरू निस्किसकेका थिए।
मौखिक परम्पराबाट पुस्तौंदेखि सर्दै आएका यस्ता लोकगीत कतै लेखिएका हुँदैनन्।
त्यो साँझले मलाई भित्रभित्रै कुत्कुत्याइसकेको थियो। मैले तोडा गीतहरू खोज्न थालेँ।
एउटा विवाहगीतको फाँको फेला पर्यो —
केटाकेटीहरू गीत गाउँछन्,
विवाहमा धेरै धन खर्च हुन्छ।
बाबुले छोरीलाई पाँच भैंसी दिन्छन्।
सबै जना नाच्छन्,
भैंसी समात्न दौडन्छन्,
भोज हुन्छ।
रातभर नाचिन्छ,
भोलिपल्ट फेरि भैंसी बाहिर ल्याइन्छ!
पुरूषले गाउने एउटा गीतको अंशमा कतै यस्तो आशय झल्किने रहेछ —
हामी राम्रो दृश्य देखिने ठाउँमा बसेका छौं।
महान पवित्र ठाउँमा बसेका छौं।
यहाँबाट सम्पूर्ण तीन भागको नीलगिरि देखिन्छ—
हाम्रा भैंसीहरू देखिन्छन्,
हामीले विवाह गरेका पत्नीहरू देखिन्छन्।
पुरानो संसार बदलिँदै गएको विलाप बोकेको अर्को रचना रहेछ —
समय नराम्रोसँग बदलियो,
देश नराम्रोसँग बदलियो।
बन्दुक अब युरोपेलीहरूको भयो,
खेतबारी बादागाहरूको भयो,
बाजा कोटाहरूको भयो।
परिवर्तन बढ्दै गयो।
माथि उठेको सिङ तल झर्यो,
तल रहेको सिङ माथि उठ्यो।
त्यसैगरी अर्को एउटा गीत पाएँ, जेलमा लेखिएको। भैंसी चोरीको आरोपमा जेल परेका दुई तोडाले रचेका रहेछन् —
कोइम्बतोरमा
हात्तीका खुट्टाजस्ता सिक्रीमा बाँधिएर बस्यौं।
तिर्खाउँदै बस्यौं,
घर सम्झेर बस्यौं।
पित्तलको भाँडामा पस्किएको कोदो सम्झियौं,
पित्तलको भाँडाको दूध सम्झियौं।
हामीले हिँड्ने आफ्नै बाटाहरू सम्झियौं।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle