साझा पार्टीले संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने बताएको छ।
लुम्बिनीमा शनिबार सकिएको पार्टीको साझा राष्ट्रिय भेलापछि जारी घोषणा पत्रमा अबदेखि संघीयता र धर्मनिपरपेक्षतामा जनमत संग्रहको पक्षमा उभिने उल्लेख छ।
‘विवादित बन्दै गएको र दिर्घकालसम्म देशलाई असर गर्ने धर्मनिरपेक्षता र संघीयताबारे अब उप्रान्त हामी जनमत सङ्ग्रहको पक्षमा उभिनेछौँ,’ घोषणा पत्रमा भनिएको छ।
साझाले राष्ट्रिय महाधिवेशन मिति पनि घोषणा गरेको छि २०७८ जेठ १५ गतेदेखि १७ गतेसम्म महाधिवेशन गर्ने र त्यसअघि केन्द्रीय समिति पुर्नसंरचना गर्न साझाले जनाएको छ।
पार्टीलाई देशब्यापी बिस्तार गर्दै सुदृढ, सशक्त र फरक धारको शक्तिका रुपमा स्थापित गर्ने पनि साझाले उल्लेख गरेको हो।
‘२०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारबाही गर्न आमनागरिकहरूले पत्याएका व्यक्तित्व संलग्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न निरन्तर दबाब दिन्छौँ,’ साझाले भनेको छ।