रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित जंगल क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्गमा मंगलबार बिहानै खाना पकाउने एलपि ग्यास बोकेको ट्यांकर पल्टियो।
मुलुकको प्रमुख राजमार्गमै उच्च प्रज्ज्वलनशील पदार्थ बोकेको ट्यांकर पल्टिँदा २४ घन्टाभन्दा बढी समय सडक अवरूद्ध रह्यो। राजमार्ग थुनिएपछि सवारी साधनहरूले ग्रामीण सडकहरूको लामो फन्को लगाउनुपर्ने बाध्यता भयो।
मंगलबार बिहान ७:५० मा पल्टेको ट्यांकर २४ घन्टाभन्दा केही समय पछि हटाइएको थियो। त्यसपछि मात्र राजमार्गमा सवारी आवागमन सुरू भएको थियो।
मुख्य राजमार्गमा पल्टेको ट्यांकर हटाउन किन २४ घन्टाभन्दा बढी समय लाग्यो?
यो सम्बद्ध पक्षको कमजोरीका कारण थियो या प्राविधिक बाध्यता?
सरकारी निकायहरूले प्राविधिक बाध्यता र त्यसले निम्त्याएको जोखिमका कारण ट्यांकर हटाएर बाटो खुलाउन धेरै समय लागेको बताएका छन्।
ट्यांकर पल्टिएपछि खाना पकाउने ग्यास लिक भएका कारण उत्पन्न उच्च जोखिम, जंगल क्षेत्रभित्रै रहेको विद्युत हाइटेन्सन लाइन र तत्काल ग्यास हटाउन नसकिने अवस्थाका कारण राजमार्ग खुल्न ढिलाइ भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।
रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले सेतोपाटीलाई दिएको जानकारी अनुसार मंगलबार बिहान ७:५० तिर चन्द्रपुर नगरपालिका–४ स्थित लमाहा वन क्षेत्रमा ग्यास बोकेको बुलेट ट्यांकर पल्टिएको थियो।
ट्यांकर पल्टिएलगत्तै ग्यास लिक हुन थालेपछि वरिपरि ठूलो जोखिम उत्पन्न भएको उनले बताए।
एसपी कार्कीका अनुसार घटनापछि नेपाल आयल निगमका प्राविधिक विज्ञहरू घटनास्थल पुगेका थिए।
'नेपाल आयल निगमका प्राविधिक विज्ञहरू आउनुभयो। उहाँहरूले ग्यास लिक भएका प्वाल टाल्न पनि नसकिने र पूरै फोडेर एकै पटक ग्यास फ्याक्न पनि झन जोखिम हुने बताउनुभयो,' उनले भने।
उनका अनुसार उद्धारका सबै तयारी भए पनि जोखिम झनै जटिल बनेको थियो।
'क्रेन, दमकल सबै तम्तयार थिए। तर जंगल क्षेत्रको त्यही भागबाट विद्युत प्राधिकरणको विद्युत प्रसारण लाइन पनि गएको थियो। प्राविधिकहरूले विद्युत हाइटेन्सन लाइनमा झनै जोखिम हुने भनेपछि ग्यासलाई आफै पूरै लिक हुन दिनुपर्ने भयो। त्यसैले यति धेरै समय लागेको हो,' एसपी कार्कीले भने।
ग्यास लिक भएका कारण सम्भावित दुर्घटना टार्न प्रहरीले मंगलबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको थियो।
भारतको रक्सौलबाट नोबेल कम्पनीको एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगर जाँदै गरेको यूपी१७ए टी २११४ नम्बरको बुलेट ट्यांकर पल्टिँदा राजमार्ग अवरूद्ध भएको हो।
२४ घन्टामा ग्यास पूर्ण रूपले खाली गरिसकेपछि मात्र ट्यांकर उठाएर सडक खुलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार पल्टिएको ट्यांकर हटाएर सडक खाली गरिए पनि तत्काल सवारी सञ्चालन गरिएको थिएन।
उनले बताए अनुसार ट्यांकर हटाएपछि पनि करिब दुई घन्टासम्म दमकल प्रयोग गरेर सडक पानीले सफा गरिएको थियो। ग्यासको अवशेषका कारण थप जोखिम नहोस् भन्ने उद्देश्यले सडक पूर्ण रूपमा सुरक्षित बनाएपछि मात्र सवारी साधन चल्न दिइएको थियो।
यसरी ग्यास लिक हुनु, दुर्घटना वन क्षेत्रमा हुनु, विद्युत हाइटेन्सन लाइन र सम्भावित ठूलो दुर्घटनाको जोखिमका कारण पूर्व–पश्चिम राजमार्ग खुल्न २४ घन्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ।
तस्बिर सौजन्य: सञ्जय कार्की/रौतहट

