महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गरेका छन्।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित शुक्रबार (असोज–२ गते) पहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाललगायतका राहत सामग्री वितरण गरेका हुन्।
गत भदौ २२ गते बिहान लापिलाङस्थित रानीवन भीर भत्किएर आएको पहिरोले काँडाबारी बस्तीका पस्दा ९ वटा घर पूर्ण रुपमा तथा ३२ घर आंशिक रुपमा क्षति हुँदा २६ घर परिवार पूर्ण रुपमा विस्थापित हुन पुगेका थिए भने २ सय ४७ घर परिवार प्रभावित भएका थिए।
मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी उनीहरूलाई राहत वितरण गरेका हुन्।
राहत वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पीडितहरूको जिम्मा राज्यले लिने बताए।
‘तीन वटै तहका सरकार मिलेर पीडितलाई थप राहतको व्यवस्था गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘जोखिममा परेको त्यहाँको बस्ती स्थानान्तरणका लागि तत्काल पहल गरिनेछ ।’
उनले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता पनि व्यक्त गरे। मन्त्री गुरुङले स्थानीय सरकार र प्रदेश सरकारलाई पीडितका लागि राहतको आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।