प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली पक्षधर नेता र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताबीच पार्टी विवाद समाधानबारे छलफल भएको छ।
नक्सालस्थित होटल म्यारियटमा बिहिबार अर्थमन्त्री एवम् एमाले नेता विष्णु पौडेलले नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका हुन्।
छलफलमा पाण्डे र विष्टले फागुन २८ को निर्णयबाट प्रधानमन्त्री ओली पछि हट्नुपर्ने अडान राखेका थिए। पौडेल, पाण्डे र विष्टका बिचमा कुनै सहमति नभए पनि मिलनबिन्दु खोज्नुपर्नेमा एक मत रहेको थियो।
बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए।
भेटमा भट्टराई र पहाडीले व्यक्तिगत रूपमा भन्दा पनि सामुहिक रुपमा पार्टी एकता खोज्न सुझाव दिएका थिए।
नेपाल पक्षीय सांसदले सामुहिक राजिनामा दिने चेतावनी दिएसँगै ओलीपक्षले छलफल र भेटघाटलाई तिब्रता दिएको छ।
यसअघि वैशाख ७ र ९ गते मेरियटमै नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। ती दुवै भेटमा मन माझामाझ भए पनि ओली-नेपालले सहमतिको विन्दु भेट्टाउन सकेका थिएनन्।
ती वार्तामा नेपालले ओलीलाई २०७५ जेठ २ मा फर्किन भनेका थिए भने ओलीले नेपाललाई बिनाशर्त पार्टीमा फर्किन आग्रह गरेका थिए।
यसैबीच आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधव कुमार नेपालबीच पनि भेट भएको छ ।