पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी)मा रहेको निर्वाचन आयोगमा जानकारी गराएका छन्।
आयोगले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललगायतलाई बुधबारका लागि सनाखतमा आउन समय दिएको छ।
तर खनाल भारतमा छन्। केही समयअगाडि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
खनालले आज आयोगमा पत्र पठाएर आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको र दिल्ली दूतावासमार्फत् सनाखतको व्यवस्था गर्न निवेदन पठाएर माग गरेका छन्।
‘दूतावासमै सनाखत गर्ने व्यवस्था गराई पाऊँ भनेर आयोगमा एउटा निवेदन प्राप्त भएको छ,’ आयोगका सचिव सुरेश अधिकारीले सेतोपाटीसँग भने, ‘निवेदन आएको छ तर त्यसउपर कुनै कारबाही भएको छैन।’
आयोगले भौतिक उपस्थितिमै सनाखत गराउने कानुनी व्यवस्था रहेको अधिकारीले बताए।
‘यसबारे के गर्ने भन्ने आयोगको बैठकपछि निर्णय होला,’ उनले भने, ‘केही कानुनी अप्ठ्यारा छन्, यो विषय आयोगमा छलफलको क्रममा छ।’
नेता खनालको सचिवालयका अनुसार बुधबार अस्पतालमा उनको फलोअप छ। त्यसपछि उनी कहिले काठमाडौं फर्कन्छन् भन्ने यकिन हुनेछ।
आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ।