प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ। तर पछिल्ला केही दिनको तुलनामा प्रतिनिधि सभाको बैठकको दृश्य आजको पहिलो बैठकमा फरक देखिएको छ।
अघिल्ला दिनमा मर्यादापालक र सांसदहरुबीच घम्साघम्सी देखिएको थियो। प्रतिस्थापन बजेट पेश गर्ने क्रममा एमाले सांसदहरुले काँधमा चढेर रोष्टम पुग्ने प्रयास गरेका थिए। मर्यादापालकहरुले पनि एमाले सांसदहरुलाई वेलको आधा भागमा रोकेका थिए।
तर आजको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गर्दै नारा लगाए पनि कुने घम्साघम्सी भएन। प्रतिनिधि सभाको बैठक अघि एमाले दलका नेता केपी शर्मा ओलीले मर्यादित भएर प्रस्तुत हुन आफ्ना सांसदहरुलाई भनेका थिए।
अघिल्लो बैठकमा मर्यादापालकहरुले सभामुख बस्ने स्थान अघिको खाली ठाउँको आधा भागमा मात्र प्रतिपक्षीलाई रोकेका थिए। तर आज उनीहरुले पुरै वेल खुल्ला छाडेका थिए।
बैठकमा सभामुख अग्नि सापकोटाले संवादतर्फ अग्रसर हुन सांसदहरुलाई आग्रह गरेका छन्।
'आखिरमा हामीले सहकार्य र समन्वयमा जानैपर्छ। संवादतीर जान सत्तापक्ष र प्रतिपक्षले पहल गर्नुपर्छ। म विनम्रतापूर्वक आग्रह गर्दछु। वातावरण सहज बनाउने भूमिका खेलौँ', सापकोटाले भने, ' बैठक सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन विपक्षी दलका सांसदहरुलाई अनुरोध गर्दछु। सत्तापक्ष, विपक्ष र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरु जनताको सर्वोच्च प्रतिनिधि संस्थालाई मर्यादित बनाउन संवादतीर अग्रसर होऔँ।'
तर नेकपा एमालेका सांसदहरुले नाराबाजी जारी राखे। उनीहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद जस्ता नारा लगाए।
सभामुख अग्नि सापकोटाले नियमित अवरोधले अन्य सांसदहरुले आफ्नो कुरा राख्न नपाएको उल्लेख गरे।
उनले अदालतमा विचाराधीन विषयमा छलफल संविधानमा निषेध गरेको सम्झाए। तर एमाले सांसदहरुले नाराबाजी कायम राखे। एमाले सांसदहरुले मावध नेपाल सहित १४ सांसदलाई कारवाहीको सूचना सभामखुले प्रकाशित नगरेकोमा प्रश्न उठाउँदै आएका छन्। उनीहरुले नारबाजीमा गैर सांसदलाई प्रवेश निषेध गर भन्दै नारा लगाइरहेका छन्।
आजको वेल घेराउमा प्रमुख प्रतिपक्षी दलका नेता अध्यक्ष केपी शर्मा ओली पनि उभिएका थिए। अघिल्ला दिनमा उनी कुर्सीमा बस्ने गरेका थिए। तर उनी आजको बैठकमा वेलमा उभिए।
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।