प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएका अभिव्यक्तिमाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा दिएका अभिव्यक्तिमाथि आज मन्त्री बडुले टिप्पणी गरेका थिए। त्यसक्रममा मन्त्री बडुले प्रयोग गरेका शब्द आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदहरूले माग गरेका छन्।
मन्त्री बडुले 'साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैं हरियो देख्छ भन्ने उखान स्मरण गराउँछु' भन्ने अभिव्यक्ति दिएका थिए।
ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोप मन्त्री बडुको थियो।
‘आफू प्रधानमन्त्री हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन परेकोले कमिसनबाहेक के नै देख्न र सोच्न सक्दछ र भन्ने कुरालाई स्मरण गराउँछु,’ मन्त्री बडुले भनेका थिए, ‘यस कुराले पूर्वप्रधानमन्त्री र प्रतिपक्षी दलका नेताकै व्यक्तित्व र गरिमालाई कति क्षति पुर्याएको छ स्वयम बुझ्ने विषय हो। सत्ता गुमाएको कुन्ठा र रोदन कम गर्न पनि म सुझाव दिन चाहन्छु।’
यो अभिव्यक्तिपछि एमाले सांसद खगराज अधिकारीले उठेर नियमापत्ति जनाएका थिए। प्रमुख सचेतक विशाल भट्टराईले मन्त्रीले बोलेका कुरा रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्। सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९, ०२:०१:००