एमालेबाट राष्ट्रिय सभा सदस्य निर्वाचित रामकुमारी झाक्रीले चुनावको खर्च विवरण सार्वजनिक गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय सभा निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी हुन्।
उनको सबैभन्दा धेरै खर्च गोष्ठी/ कार्यकर्ता परिचालनमा लागेको विवरणमा उल्लेख छ।
उनले परिचालनका लागि एक लाख २० हजार रुपैयाँ खर्च गरेको बताएकी छन्।
सवारीसाधनका लागि ६० हजार, इन्धनका लागि १५ हजार, कार्यक्रम सञ्चालन गर्न १५ हजार, प्रतिनिधि परिचालन गर्न १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
मतदाता नामावली खरिद गर्न ३ हजार, प्रचारप्रसार सामग्रीका लागि ५ हजार, अन्य प्रचार प्रसारका लागि ५ हजार र विविध विषयमा ३ हजार रुपैयाँ खर्च भएको बताएकी छन्।
झाक्री गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएकी थिइन्।
