आइसिसी टी-२० विश्वकप २०२६ मा लगातार तीन खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ। आइतबार भारतको मुम्बईको वानखेडे रंगशालामा नेपालले वेस्ट इन्डिजसँग नौ विकेटको हार ब्यहोर्यो।
हारपछि रोहितले नेपालले ब्याटिङका कारण हार ब्यहोरेको प्रतिक्रिया दिएका छन्।
‘बिहान ब्याटिङ गर्दा चुनौतीपूर्ण थियो, विशेषगरी वेस्ट इन्डिज म्याथ्यू फोर्ड, अकिल होसेन र जेसन होल्डरले पावरप्लेमा गरेको बलिङको कारण चुनौतीपूर्ण रह्यो। उनीहरूले अवस्थालाई राम्रोसँग प्रयोग गरे। हाम्रो ब्याटिङ युनिटले फेरि असफलता व्यहोर्यो र हामीले सुधार गर्नुपर्छ। हामी ब्याटिङ साझेदारीमा चुकेका छौं,’ उनले भने, ‘हामी २० वा ३० रनको साझेदारी बनायौ तर त्यसलाई लम्ब्याउन सकेनौ। सुरुवात गरे पनि ब्याट्सम्यानहरूले ठूला इनिङ्समा बदल्न सकेका छैनन्। यो क्षेत्र नै हामीले सुधार गर्न आवश्यक छ।’
खेलमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए। यो अर्धशतक नेपालले विश्वकपमा प्रहार गरेको दोस्रो र १२ वर्षपछिको हो।
ऐरीको अर्धशतकको विषयमा रोहितले भने, ‘उसले समय लिएर खेल्यो र धेरै राम्रो खेले। अन्त्यतिर उसले गति बढायो, तर सुरुमा जब विकेट कठिन थियो, उसले अवसरको पर्खाइ गर्यो र पछि राम्रोसँग फाइदा उठायो। हामी सबैले त्यसबाट सिक्नुपर्छ।’
उनले मैदान बाहिरको कुराहरुबाट टाढा बस्नु निकै महत्त्वपूर्ण भएको बताए। यसअघि प्रशिक्षक स्टुअर्ट ल नेपाली टोलीलाई सामाजिक सञ्जालले नकारात्मक असर गरेको बताएका थिए।
‘यदि खेलाडीहरूले बाहिरका कुरा सुने भने उनीहरूका लागि राम्रो प्रदर्शन गर्न गाह्रो हुन्छ। जब टिम हारिरहेको हुन्छ, सबैलाई सकारात्मक राख्नु अत्यावश्यक हुन्छ, र हामी त्यही प्रयास गरिरहेका छौं,’ उनले भने।