नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन।
पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो।
माओवादीले पदाधिकारी टुंग्याउने भने पनि आज पदाधिकारीको टुंगो लाग्न सकेन।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागिसके पनि निर्णय भने भइनसकेको बताए। उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको जानकारी दिए।
माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपी पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन।
‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौं। भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ। पदाधिकारीका विषयमा पनि करिव करिव टुंगिएको स्थिति छ। अध्यक्ष र अरू कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलि सम्मका लागि सरेको हो,’ प्रवक्ता महराले भने।
उनकाअनुसार पदाधिकारीको विषय शनिबार टुंगिन सक्छ। कति सदस्यीय पदाधिकारी बनाउने भन्ने विषय पनि माओवादीले टुंगो लगाउन सकेको छैन।
पार्टी स्थायी कमिटीको अर्को बैठक शनिबार १ बजेका लागि बोलाइएको छ।
माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।