टी-२० विश्वकप २०२६ विशेष
ललितनारायण राजवंशी नेपाली क्रिकेट टोलीमा किफायती बलरको रूपमा चिनिन्छन्। बायाँ हाते स्पिनर ललितका लागि आइसिसी टी-२० विश्वकप २०२६ दोस्रो विश्वकप हो।
सामान्य परिवारमा हुर्किएका ललित संघर्षले बनेका क्रिकेटर हुन्। विराटनगरको गल्ली-गल्ली चहारेर क्रिकेट सिकेका ललितले धेरैपटक राष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गरेका छन्। तर पछिल्लो समय उनको प्रदर्शनमा स्थिरता नहुँदा भने चिन्ता थपिएको छ।
पूरा नाम: ललित नारायण राजवंशी
जन्म: फेब्रुअरी २७, १९९९, विराटनगर
उमेर: २६ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
बलिङ शैली: बायाँ हाते स्पिन
भूमिका: बलर
टी-२० आई डेब्यू: नेदरल्याण्ड्स विरुद्ध नेपाल, लर्ड्स — जुलाई २९, २०१८
ललित राजवंशी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बायाँ हाते अर्थोडक्स स्पिनर हुन्। बलिङमा जहिले पनि अनुशासन र निरन्तरतालाई प्राथमिकता दिने ललित किफायती बलिङ गर्छन्।
ललित विराटनगरका स्थायी बासिन्द हुन्। क्रिकेटप्रति उनको लगाव विद्यालय पढ्दादेखि नै थियो। सन् २००० को दशकको मध्यतिरबाट क्रिकेटलाई गम्भीर रूपमा लिन थालेका थिए उनले।
विराटनगरको स्थानीयस्तरबाट आफ्नो खेल जीवनको यात्रा अघि बढाएका उनी सुरूमा तीव्र गतिका बलर थिए।
घरमा खेल्ने वातावरण नभए पनि उनी लुकीलुकी टोल-टोल गएर क्रिकेट खेल्थे। सामान्य परिवारमा जन्मेका ललितलाई क्रिकेट खेल्नका लागि सामग्रीको सधैँ अभाव हुन्थ्यो।
आमाले खाजा खानका लागि दिएको पैसा समेत उनले नखाएर बचाउँने गर्थे। त्यही पैसा जम्मा गरेर क्रिकेट सामग्री किन्थे। बुबाआमाको आँखा छलेर क्रिकेट खेल्न जाने गर्थे।
दिनभरि क्रिकेट खेल्दा उनी भोकै हुन्थे, तर घर फर्कँदा बुबाको गाली र कुटाई तयार हुन्थ्यो। गाउँमा ‘पप्पु’ नामले चिनिने ललित सुरुमा तीव्र गतिको बलिङ गर्थे, तर उनले लय भने समाप्त सकेका थिएनन्।
गति कम भएको भन्दै सिनियर क्रिकेटरले दिएको सल्लाह अनुसार उनी स्पिन बलिङतर्फ मोडिए। एकेडेमीमा नभई गाउँघरका गल्ली र मैदानहरूमा अभ्यास गरेरै आफूलाई निखारे।
क्रिकेटप्रतिको लगाव यति थियो कि खेल्न नपाउँदा पनि उनी खेलबाट टाढा बसेनन्। उनले विराटनगरमा हुने स्थानीय प्रतियोगितामा अम्पायरिङ गरेर तथा अरूले खेलेको हेरेर पनि धेरै कुरा सिक्ने कोसिस गरे।
ललितको खेलप्रतिको दृष्टिकोण परिपक्व छ। एक क्रिकेट खेलाडीले आफ्नो सीपलाई निरन्तर परिमार्जन र अपडेट गरिरहनु पर्ने उनको भनाइ छ।
एसिसी प्रिमियर कप ललितको करियरको सबैभन्दा ठूलो सफलतामध्ये एक हो। नेपालले तीन वर्षअघि घरेलु मैदानमा एसिसी प्रिमियर कपको उपाधि जित्नु उनको मुख्य उपलब्धिमा पर्छ। यहि उपाधिले नेपालले एसिया कपमा भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका शक्ति टोलीहरूसँग प्रतिस्पर्धा गर्ने ऐतिहासिक अवसर प्राप्त गर्यो।
उनले ४ मार्च २०१८ मा जिम्बाब्वेविरुद्ध २०१८ क्रिकेट विश्वकप छनोट खेलमार्फत नेपालको तर्फबाट 'लिस्ट ए' क्रिकेटमा डेब्यू गरेका थिए।
सन् २०१८ जुलाईमा नेदरल्यान्ड्स विरुद्धको एकदिवसीय सिरिजका लागि उनलाई नेपाली टोलीमा राखिएको थियो, तर उनले अन्तिम ११ मा परेर खेल्ने मौका भने पाएनन्। सन् २०१८ को विश्वकप छनोटमा एकदिवसीय मान्यता पाएपछि नेपालको यो पहिलो एकदिवसीय खेल थियो।
उनले २९ जुलाई २०१८ मा एमसिसी त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरे। सन् २०१९ मा संयुक्त अरब इमिरेट्सविरुद्ध उनले आफ्नो पहिलो एकदिवसीय खेल खेले।
जुन २०१९ मा उनलाई २०१८-१९ आइसिसी टी-२० विश्वकप एसिया छनोटको क्षेत्रीय फाइनलका लागि नेपाली टोलीमा छानिएको थियो। उनले ६ नोभेम्बर २०१९ मा नेपाल भ्रमणमा आएको मेरिलेबोन क्रिकेट क्लबविरुद्ध प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरे। सोही वर्ष उनलाई बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र दक्षिण एसियाली खेलकुद (साग) को टोलीमा पनि समावेश गरियो। साग नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य पदक जितेको थियो।
उनले सन् २०२४ को नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुर बोल्ट्सका लागि खेल्दै १७ विकेट लिँदै स्कट कुगेलेनसँगै संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका थिए। उनी सो सिजन उत्कृष्ट बलर घोषित भएका थिए। यद्यपी उनी दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा भने चल्न सकेनन्।
नेपाली टोलीका खेलाडीबारे पढ्नुहोस् :-