सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए।
उनका अनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटो सहितको परिचयपत्र उपलब्ध गराउने समेत निर्णय भएको छ।
यस्तै, माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत् मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय भएको बताए।
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ भने कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको उनको भनाइ छ।
त्यस्तै, सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको छ भने वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गरेको छ।