मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश दिएको छ।
सोमबार ७३ जना सांसदहरूले असंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उक्त परमादेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
'यो सरकार यथास्थिति नै रहने भयो तर २४ घण्टाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ,' उनले भने, 'विश्वासको मत पाउन नसकेको खण्डमा अर्को प्रावधानअनुसार सरकार गठन गर्न अघि बढ्नुपर्नेछ।'
मुख्यमन्त्री सरोज यादवले २४ घण्टाभित्र विश्वासको मत लिन नसकेको खण्डमा संविधान १६८ को २ बमोजिम सरकार गठन प्रक्रियाका लागि जानुपर्ने उनले बताए।
‘सरोज कुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेस प्रदेश, प्रदेश सभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सोही बमोजिम र प्राप्त गर्न नसके माथि प्रकरणमा उल्लेख भए बमोजिम नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा कारबाही गर्नू/गराउनू,’ आदेशमा भनिएको छ।