हदबन्दी छुट पाएको पतञ्जली योगपीठको जग्गा बेच्न दिने प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्कंदैछन्।
उनी पार्टी कामको सिलसिलामा बुधबार रौतहट पुगेका थिए। पार्टी कार्यक्रममै रहेका बेला आफूविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा गर्दा गरेको थाहा पाएपछि उनी बिहीबार नै काठमाडौं फर्कन लागेका हुन्।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए।
‘पार्टी अध्यक्षविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको हामीले पनि सुन्यौं। कसरी दर्ता भयो? के कारण छ? हामी पनि बुझ्दैछौं। अध्यक्ष फर्किएपछि हामी बैठक बसेर धारणा सार्वजनिक गर्छौं,’ उनले भने।
उनले भने सत्यतथ्य नबुझी हतारिएर प्रतिक्रिया दिने पक्षमा आफू नरहेको पनि बताए।
‘अहिले प्रतिक्रिया व्यक्त गर्नु हतार हुन्छ। हामी बैठक बसेर सार्वजनिक गर्छौं,’ उनले भने।