अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच शनिबार इरानसँगको अमेरिकी वार्ता र पुनः सैन्य कारबाही सुरू गर्ने समयबारे टेलिफोन संवाद भएको छ।
नेतान्याहुले इरानमाथि तत्काल आक्रमण गर्न ट्रम्पलाई दबाब दिएको तर ट्रम्प भने तत्काल सैन्य कारबाहीमा जानुभन्दा वार्ताबाट समाधान खोज्ने पक्षमा देखिएका अमेरिका र इसराइलका एक–एक अधिकारीलाई उद्धृत गर्दै एक्सियसले लेखेको छ।
संसदीय निर्वाचनपछि इरानमाथि आक्रमण गर्नुपर्ने नेतान्याहुको जोड रहेको तर ट्रम्पले भने अहिले नै हतार गर्न नचाहेको अमेरिकी स्रोतले जनाएको छ। इसराइली स्रोतले दुई नेताबीचको कुराकानीलाई अप्ठ्यारो भनेको छ भने अमेरिकी स्रोतले स्पष्ट र प्रत्यक्ष संवाद भएको बताएको छ।
वार्ता र सैन्य तयारी दुवैलाई सँगसँगै अघि बढाउँदै ट्रम्प
इरानसँगको तनाव समाधान गर्न ट्रम्प सरकारले एकातिर कूटनीतिक वार्ताको बाटो खुला राखेको छ भने अर्कोतिर सैन्य कारबाहीको तयारी पनि जारी राखेको छ।
यसअघि सन् २०२५ को जुनमा 'अपरेसन मिडनाइट ह्यामर' र सन् २०२६ को फेब्रुअरीमा 'अपरेसन एपिक फ्युरी' अघि पनि ट्रम्पले यस्तै दोहोरो रणनीति अपनाएका थिए।
गत साता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाइलाई पत्र पठाउँदै वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे संवाद गरेका थिए। पछिल्ला केही महिनायता इरानसँग अमेरिकाले गरेको यो सबैभन्दा उच्च तहको कूटनीतिक सम्पर्क थियो।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता राम्रोसँग अघि बढिरहेको बताए। आफूलाई वार्ताका लागि धेरै हतार नभएको पनि उनको भनाइ थियो।
'उनीहरू सम्झौता गर्न चाहन्छन्। तर उनीहरू त्यति भरपर्दा छैनन्। सम्झौता गर्छन् र फेरि पछि हट्छन्,' ट्रम्पले भने।
यद्यपि इरानका एक वा दुई आणविक केन्द्रलाई भने अमेरिकाले नियन्त्रणमा लिनुपर्ने उनको भनाइ थियो। 'हामीले यसको ख्याल गर्नैपर्छ। हामी १० मिनेटमै त्यो गर्न सक्छौँ। त्यसको योजना हामीसँग छ। पिकएक्स माउन्टेनलाई हेर्न सक्नुहुन्छ। हामीले त्यसलाई नियन्त्रणमा लिनुपर्छ। यो काम निकै छिटो गर्न सक्छौँ,' ट्रम्पले भने।
उनले उल्लेख गरेको पिकएक्स माउन्टेन इरानको पहाडभित्र निर्माण गरिएको आशंका गरिएको आणविक केन्द्र हो।
ट्रम्प र नेतान्याहुबीचको टेलिफोन संवादबारे सबैभन्दा पहिले 'द वाल स्ट्रिट जर्नल'ले समाचार प्रकाशित गरेको थियो। तर पत्रिकाले दुई नेताबीच के विषयमा कुराकानी भयो भन्ने विवरण सार्वजनिक गरेको थिएन।
इरानसँग वार्ता पुनः सुरु गराउन कतारको मध्यस्थता
यसैबीच अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता पुनः सुरु गराउने प्रयासमा कतारले मध्यस्थता गरिरहेको छ।
कतारी मध्यस्थकर्ताहरूले आइतबार लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वार्ता पुनः सुरु गर्ने सहमति जुटाउने उद्देश्यले छलफल भइरहेको हो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।
उनले सम्झौता हुनका लागि अमेरिकाले इरानका प्रश्नहरूको जवाफ दिनुपर्ने बताएका छन्।
'यसका लागि हामी सबै सम्भव प्रयास गरिरहेका छौँ। अर्को पक्षले पनि कूटनीतिलाई अन्य विकल्पभन्दा प्राथमिकता दिने पर्याप्त विवेक देखाउनेछ भन्ने आशा छ,' अराघचीले भने।
अमेरिकी राष्ट्रपति वार्तामार्फत समाधान खोज्ने पक्षमा देखिए पनि इसराइलले तत्काल सैन्य कारबाहीका लागि दबाब दिइरहेको छ। त्यसैले इरानसँगको वार्ता सफल हुन्छ वा निर्वाचनपछि अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन्छ भन्ने विषय अहिले अनिश्चित बनेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)