नेपाली कांग्रेसको कार्यक्रमका लागि वीरगञ्ज आएका गृहमन्त्री रमेश लेखक विभिन्न कार्यक्रममा व्यस्त छन्।
उनले शनिबार बेलुका वीरगञ्जको नारायणी अस्पताल, आइतबार बिहान वीरगञ्ज हेल्थ केयर अस्पतालमा पुगेर हैजा तथा झाडापखालाबाट संक्रमित बिरामीको अवस्था बुझेका थिए।
तर अस्पतालहरूमा बिरामी भेट्न गृहमन्त्री लेखक एक्लै गएका थिएनन्।
नारायणी अस्पतालमा जाँदा उनीसँगै पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला, कानून मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका कृषि मन्त्री जर्नादन सिंह क्षेत्री, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको लावालस्कर थियो।
उनीहरूसँग अन्य नेता कार्यकर्ताहरू र सुरक्षाकर्मीहरू, चिकित्सक, स्वास्थ्यकर्मीहरू पनि थिए।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा नारायणीको तुलनामा कम भिड देखिन्थ्यो, कानूनमन्त्री चौरसियालगायत केही सहभागी भएको भिडिओ सार्वजनिक भएका छन्।
बिरामीको उपचार भइरहेको कक्षलाई संवेदनशील मानिन्छ। त्यहाँ ‘एक बिरामी, एक कुरूवा’ को नीति अपनाइएको हुन्छ।
आइसियु कक्षमा त अझ बिरामीका कुरूवालाई पनि आवश्यक परेको बेलामा मात्रै बोलाइन्छ। इर्मजेन्सी होस् वा सामान्य उपचार कक्ष बिरामी भएको ठाउँमा भिडभाड वर्जित हुन्छ।
नेपालमा अस्पताल आगन्तुक नीति सम्बन्धमा राष्ट्रिय स्तरमा कुनै कानूनी प्रोटोकल वा नियम सार्वजनिक गरिएको छैन। त्यसैले आगन्तुक संख्या र नियमहरूको निरूपण प्रत्येक अस्पताल/स्वास्थ्य संस्थाले आफैले निर्धारण गर्दै आएका छन्।
प्रायः अस्पतालहरूमा एक बिरामी एक कुरूवा नीति नै अबलम्बन गरिएको पाइन्छ भने कतै कतै दुई जनासम्मलाई अनुमति दिइएको छ। कतै तोकिएको समयमा मात्रै बिरामी भेट्न दिइन्छ।
वीरगञ्जका बासिन्दा हैजा प्रकोपको चपेटामा छन्। आइतबार बिहान वीरगञ्ज महानगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार विभिन्न अस्पतालमा १ सय ९५ जना संक्रमित उपचाररत छन्।
हालसम्म भर्ना भएका ८ सय ४ जनामध्ये ६ सय ९ जना उपचारपछि घर फर्किएका छ । आरडिटी परीक्षण गर्दा १५९ जनामा हैजा पुष्टि भएको छ। ३० जनाको दिसाको नमुनामा कल्चर जाँच गर्दा २० जनामा हैजा पुष्टि भयो।
हैजा ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरिया भएको दूषित खाना वा पानी सेवन गर्दा हुने आन्द्राको संक्रमण हो। समयमै उपचार नगरिएमा छिट्टै शरीरमा पानीको मात्रा घटाइदिन्छ र मृत्युसम्म हुनसक्छ। यो विश्वव्यापी जनस्वास्थ्यको लागि खतरा हो। यसले असमानता र सामाजिक तथा आर्थिक विकासको अभावलाई संकेत गर्छ। हैजा र अन्य पानीजन्य रोगहरू रोक्न सुरक्षित पानी, आधारभूत सरसफाइ र सरसफाइमा पहुँच आवश्यक हुन्छ।
हैजाले लगातार पानी जस्तो झाडापखाला निम्त्याउन सक्छ, जुन बेलैमा उपचार नगरिएमा केही घण्टाभित्रै प्राणघातक बन्न सक्छ। हैजाबाट संक्रमित धेरैजसो मानिसहरूमा लक्षणहरू देखा पर्दैनन् तर १–१० दिनसम्म तिनीहरूको दिसाबाट ब्याक्टेरिया फैलाउन सक्ने शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालमा कार्यरत संक्रामकरोग विज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
हैजा संक्रमण भएको १२ घण्टादेखि ५ दिनमा लक्षणहरू देखा पर्छन्।
विश्वव्यापी रूपमा प्रत्येक वर्ष हैजाका कारण १३ देखि ४० लाख बिरामी पर्ने र २१ लाख १ लाख ४३ हजार जनाको मृत्यु हुने अनुन्धानकर्ताहरुको अनुमान छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा तीव्र ग्यास्ट्रोएन्टेराइटिस/हैजाको प्रकोपका लागि राष्ट्रिय तयारी तथा प्रतिक्रिया योजना सन् २०१७ देखि २२ तयार गरेको छ।
जसमा नेपालका विभिन्न क्षेत्रहरूमा अझै खुला दिसा गर्ने प्रवृत्ति रहेको, सहरी क्षेत्रमा जनघनत्व निरन्तर बढ्दै गएको सुरक्षित पिउने पानीको अपर्याप्त आपूर्ति, सरसफाइको र अव्यवस्थित ढलका कारणले हैजा प्रकोपको उच्च जोखिममा रहेको उल्लेख छ।
दूषित खाना र पानीबाट नै हैजा संक्रमण फैलने निश्चित भए पनि वीरगञ्जमा हैजा फैलाउने स्रोत पत्ता लाग्न सकेको छैन। राज्यले हैजाको संक्रमणको स्रोत पत्ता लगाएर सम्पूर्ण शक्ति यसको रोकथाममा लगाउनुपर्ने हो।
तर पार्टीगत वा अन्य विभिन्न कामले वीरगञ्ज आएका मन्त्री र पूर्व मन्त्रीहरूको लावालस्कर अस्पतालमा उपपचार बिरामीको कक्षमा पुग्ने गरेको छ।
गृहमन्त्रीसँगै बिरामीको अवस्था बुझ्न नारायणी अस्पतालमा प्रवेश गरेका कानूनमन्त्री चौरसिया र खानेपानी मन्त्री यादव यसअघि नै बिरामी भेट्न भनी अस्पताल गइसकेका थिए।
खानेपानी मन्त्री यादवले ७ भदौमा, १२ भदौमा कानूनमन्त्री चौरसिया आफ्नो दलबलसहित बिरामी भेट्न नारायणी अस्पताल पुगेका थिए। ९ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र १३ भदौमा अस्पताल पुगेका थिए।
वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले मन्त्रीहरू अस्पतालमा बिरामी आउँदा जरूरी मानिसहरुलाई बाहेक अरूलाई प्रवेश गर्न नदिएको बताए।
‘आइतबार बिहान हाम्रो अस्पतालमा गृहमन्त्री र कानूनमन्त्री बिरामी भेट्न आउनुभएको थियो, हामीले जनरल वार्डमा उपचाररत बिरामीहरुसँग भेटायौं,’ उनले भने, ‘सुरक्षाकर्मीलाई समेत बाहिरै राखेर उहाँहरू भित्र छिर्नुभयो। स्वास्थ्यकर्मीहरू भने थियौं।’
जोखिम र भिडभाडलाई ध्यानमा राखेर मन्त्रीहरूलाई आइसियुमा उपचाररत बिरामीसँग भेट नगराएको उनको भनाइ छ।
नारायणी अस्पताल प्रवक्ता एवं आकस्मिक विभागका निमित्त प्रमुख डा. उदयनारायण सिंह महामारीको समयमा ‘भिआइपी मुभमेन्ट’ नगर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको बताउँछन्।
‘महामारी रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सबै सुरक्षा, स्वास्थ्य संयन्त्र भिआइपी मुभमेन्टमा सक्रिय हुनुपर्छ,’ उनले भने, ‘नीति नियम बनाउने मान्छेहरू नै आउनुभएको हो, उहाँहरू आफै बुझ्ने हुनुहुन्छ।’
दुई चार जना मात्रै बिरामी भएको कक्षमा छिर्न आग्रह गरे पनि अटेर गर्ने गरेको उनको भनाइ छ।
‘मन्त्रीज्यूहरू सँगै नेता कार्यकर्ता पनि छिर्नुहुन्छ, अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी दुई चार जना त हुने नै भए,’ सिंहले भने।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमन लाल दास मापदण्ड बनाएर लागू नगरे पनि ‘एक बिरामी एक कुरूवा’ कै नीति अबलम्बन गरिएको बताउँछन्।
‘बिरामी कुर्न नै चार पाँच जना आउँछन्, धेरै गाह्रो हुन्छ, एक एक जना मात्रै बसाउनु भनेर गार्डलाई भनेका छौं। लेखेर टाँसिए पनि लागू गराउन सकिएको छैन, बिरामीका कुरूवा मान्दैनन्, सबै बुझ्दैनन्, कहिलेकाहीँ झगडा नै भइहाल्छ,’ उनले भने।
मन्त्रीहरू अस्पतालमा बिरामी भेट्न आउँदा निकै भिड देखिन्छ नि भन्ने प्रश्नमा उनले आफूहरूलाई पनि तनाव हुने गरेको प्रतिक्रिया दिए।
‘प्रयास त गरेका हुन्छौं, कुनै बेला नियन्त्रण हुन्छ, कुनै बेला हुँदैन, गाह्रो भइरहेको छ, हामीलाई पनि टेनसन नै भएको छ,’ उनले भने।