नेकपा एमालेको ११ औं महाधिवेशमा लुम्बिनी प्रदेशबाट चारजना निर्विरोध भएका छन्। निर्विरोध हुनेहरुमा तिनजना महिला र एकजना युवा छन्।
लुम्बिनी प्रदेशको भूगोलबाट तिनजना महिला केन्द्रीय सदस्यमा तीनजाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्।
निर्विरोध हुनेहरुमा रुपन्देहीकी गुमादेवी आचार्य (गोमा), बाँकेकी शान्ति ढकाल र दाङकी मेनका पोखरेल छन्। आचार्य यसअघि पनि केन्द्रीय सदस्य रहेकी थिइन् भने २०७४ सालमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख निर्वाचित भएकी थिइन्।
त्यस्तै दाङबाट निर्विरोध बनेकी पोखरेल विघटित प्रतिनिधि सभामा सदस्य र एमालेको निवर्तमान केन्द्रीय सदस्य समेत रहेकी थिइन्। उनी एमालेका निवर्तमान महासचिव शंकर पोखरेलकी सहोदर बहिनी हुन्।
बाँकेकी शान्ति ढकाल पनि यसअघि केन्द्रीय सदस्य तथा बांके जिल्ला इन्चार्ज थिइन्। तीनजनाको उम्मेदवारी माग भएकोमा तीनजनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्।
त्यस्तै पूर्वी रुकुमका लिलामणि गौतम पनि निर्विरोध निर्वाचित भएका छन्।
पूर्वी रुकुममा एमाले जिल्ला अध्यक्ष समेत रहेका गौतम युवा केन्द्रीय सदस्यबाट निर्विरोध बनेका हुन्।
एकजना ४० वर्ष मुनिका युवामा लुम्बिनी प्रदेशबाट गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध बनेका हुन्।