नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको राम्रो कामको श्रेय लिएको तर गलत कामको जिम्मेवारी नलिएको बताएका छन्।
आइतबार पत्रकार सम्मेलन गरी थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाबारे रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारलाई निर्देशन दिएको तर त्यसको जिम्मेवारी नलिएको बताएका हुन्।
'सरकारले कुनै राम्रो काम गर्यो भने रास्वपा, अनि कुनै काममा प्रश्न उठ्यो भने चाहिँ प्रधानमन्त्री? सरकारले गरेका कामको जिम्मेवारी रास्वपाले लिनुपर्दैन?,’ उनले भने।
थापाले विगतमा नेपाली कांग्रेस सहभागी भएको सरकारले गलत काम गर्दा रास्वपाका नेताहरूले त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्ने भन्दै प्रश्न उठाउने गरेको स्मरण पनि गराए।
'नेपाली कांग्रेसको सरकार हुँदा सरकारले कुनै कुरा गलत गर्यो भने रास्वपाको धारणा के हुन्थ्यो भने यो सरकार त नेपाली कांग्रेसको हो, त्यसैले गलत कामको जिम्मेवारी तिमीले लिनुपर्छ भन्ने हुन्थ्यो,' उनले भने, 'यो सिद्धान्त तपाईंहरूको हकमा लागू हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न हो।'
उनले सरकारका राम्रा कामको श्रेय लिने र गलत कामको जिम्मेवारीबाट पन्छिने छुट रास्वपालाई नभएको बताए।
सभापति थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए। केही पत्रकार पक्राउ परेर छुट्दैमा घटना टुंगिएको नमानिने उनको भनाइ छ।
'केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो,' उनले भने, 'यसले उठाएको मुख्य प्रश्न भनेको सरकारले राज्यलाई कसरी हेरेको छ, आफ्नो अधिकारलाई कसरी बुझेको छ र नागरिकको अधिकारलाई कसरी बुझेको छ भन्ने हो।'
थापाले प्रहरी र प्रधानमन्त्रीको सचिवालयबाट आएका फरकफरक वक्तव्यले घटनालाई थप गम्भीर बनाएको बताए।
सुरुमा प्रहरीले साइबर सेलले बोलाएको भन्दै पक्राउको बचाउ गरेको र त्यसपछि मध्यराति १:४० बजे प्रहरी प्रवक्ताको नामबाट अर्को वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्न पक्राउ गरिएको उल्लेख गरिएको उनले बताए।
शनिबार बिहान उक्त वक्तव्य हटाइएको उनको भनाइ छ।
त्यस्तै, प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारलाई पक्राउ गर्न प्रहरीकहाँ सूची पठाइएको भन्ने समाचारसमेत सार्वजनिक भएको उनले उल्लेख गरे।
थापाले प्रहरी आफैले निर्णय गरेर सञ्चारमाध्यममा प्रवेश गरेको नभई माथिल्लो तहको आदेशमा यस्तो भएको हुन सक्ने दाबी गरे। उनले घटनालाई राज्यका निकायमाथि निजी आदेश चलाउने प्रवृत्तिका रूपमा व्याख्या गरे।
'एउटा सानो समूह छ, जसले हामी नै राज्य हौँ भन्न थालेको छ। हामीले बोलेको कुरा वक्तव्य होइन, हुकुम हो र राज्यका निकायहरू हाम्रा निजी आदेश पालना गर्ने कार्यालय हुन् भन्ने ठान्न थालेको छ,' उनले भने, 'यो शक्तिको स्वेच्छाचारी प्रयोग हो।'
उनले यस्तो प्रवृत्तिलाई सामान्यीकरण नगर्न सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरे।
'सरकारमा बसेकाहरूको प्रवृत्तिले हद नाघ्यो,' थापाले भने।
थापाले रास्वपाले यसअघि पनि प्रेसलाई तर्साउने काम नगर्न सरकारलाई निर्देशन दिएको तर त्यसको कार्यान्वयन नभएको प्रसंगसमेत उठाए।
गएको असार २९ गते केही सञ्चारगृहको कार्यालयबाहिर अनधिकृत रूपमा सरकारी गाडी राखिएको थियो।
त्यही दिन रास्वपाले प्रेसलाई तर्साउने काम नगर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई निर्देशन दिएको थियो।
तर त्यसबेला पनि छानबिन भएर दोषीमाथि कारबाही नभएको सभापति थापाले बताए।
'हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,' उनले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसोस्। प्रधानमन्त्रीलाई त्यहाँ बोलाइयोस्। संसदीय दलको बैठकबाट निर्देशन दिने काम होस् र प्रधानमन्त्रीले त्यो निर्देशन बोकेर गएर सरकारले काम गरोस्। छानबिन होस्, परिणाम आओस्। हामीले चाहेको कुरा त्यही हो।'