नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ।
शनिबारदेखि सुरू भएको ११ औं महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने भनिए पनि केही ढिला गरी सुरू भएको हो।
मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ। मतदानस्थल भने परिवर्तन भएको छ।
भृकुटीमण्डपको हल बुधबारका लागि अरूले नै भाडामा बुकिङ गरिसकेको हुनाले एमालेले बन्द सत्र भएकै स्थानमा मतदान गर्ने भएको छ।
एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन्।
एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।
यसपालि पनि सोही कम्पनीले बनाएको मेसिन प्रयोग गर्नेछ।
यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ।
मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ।
मतदान सकिएलगत्तै मतगणना सुरू हुनेछ।
विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ।
रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार उपकरणमा डाटा इन्ट्री सकिएर मतदानका लागि तयारी अवस्थामा राखिएको छ।
'उपकरण तयार पारेका छौं। डाटा इन्ट्री सकिएर, तयारी अवस्थामा छ। हल खाली गर्नुपर्ने भएकाले लोकेसन चेञ्ज गरेर राखेका छौं। हामीसँग ८० वटा उपकरण छन्,' उनले भने।
११ औं महाधिवेशनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आगामी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ।
दुवैले आ-आफ्नो समूह बनाएर उम्मेदवारी दिएका छन्।
जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।
५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।
त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।
९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।