ललितपुर एक कारणले कम्युनिस्टहरूका लागि महत्त्वपूर्ण छ।
ललितपुर नेकपाका संस्थापक सदस्य तुलशीलाल अमात्यको गृहजिल्ला पनि हो। अमात्य कम्युनिस्ट आन्दोलनका सूत्रधार र भूमिगत कालमा टिएलका नामले चिनिन्थे।
अमात्य तिनै हुन्, जसले २०१५ सालको आम निर्वाचनमा ललितपुरबाट सांसद जितेका थिए। काठमाडौं उपत्यकाका जित्ने एक्लो वामपन्थी नेता थिए। त्यो निर्वाचनमा नेकपाले जम्मा चार सिट जितेको थियो। र, अमात्य दल नेता चुनिएका थिए।
नेपालमा किसान आन्दोलन संगठित तुल्याउन अमात्यको हात छ। नेकपा विभाजनपछि नेकपा (अमात्य) को गठन गरी कम्युनिस्ट आन्दोलनको अलग्गै धार विकास गराउन लागेका थिए। तर त्यो धार त्यति बलशाली हुन सकेन।
नेकपा संस्थापकको जिल्ला भएकाले पनि ललितपुर र खास गरी २ नम्बर निर्वाचन क्षेत्रमा वापन्थीहरूको प्रभाव लामो समयसम्म पर्यो। नेकपाको मूल धार अहिलेको एमालेले त्यसको लाभ उठाइरह्यो। २०४८ देखिको आम निर्वाचनमा नेकपा एमालेले ललितपुर–२ मा आफ्को प्रभाव कायम राख्दै आएको छ। निर्वाचन इतिहासमा ललितपुर–२ मा दुई पटक मात्रै नेकपा एमालेको जनमत अन्यत्र धकेलिएको छ। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन समयमा नेकपा (माओवादी) ले जित हात पारेको थियो।
माओवादीका राजकाजी महर्जनले संविधान सभा सदस्य जितेका थिए। २०६४ सालको निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्र माओवादीले जितेको थियो भने २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ललितपुरका तिनवटै क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो। र, ललितपुरमा पहिलोपटक जित दर्ता गरेको थियो।
त्यतिबेला ललितपुर–२ मा नेपाली कांग्रेसका चन्द्र महर्जनले संविधान सभा सदस्य जितेका थिए। त्यसपछि कांग्रेसले उक्त क्षेत्रमा नतिजा दोहोर्याउन सकेको छैन। ललितपुर–३ को अवस्था पनि त्यही हो। यहाँ पनि २०७० सालमा मदन अमात्यले संविधान सभा सदस्य जितेका थिए। त्यसपछि यहाँ पनि कांग्रेसले नतिजा दोहोर्याउन सकेको छैन।
तुलशीलालले रोपेको कम्युनिस्ट आन्दोलनको उर्वर थलो ललितपुुर–३ मा एमालेले अहिले प्रेम महर्जनलाई उम्मेदवार बनाएको छ। महर्जन यसअघि पनि त्यहाँ निर्वाचित भएका थिए। २०७८ सालमा नेकपा एमाले विभाजन हुँदा उनी एकीकृत समाजवादीतिर लागेको थिए। बीचमा एमाले नै फर्किएका उनलाई २०७९ मंसिर ४ गते भएको निर्वाचनमा पार्टीले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो। १५ हजार २५ मत ल्याएर महर्जन सांसद निर्वाचित भएका थिए।
तुलशीलालकै पथिक भन्न सुहाउने महर्जन किसानहरूको बीचमा आफ्नो प्रभाव विस्तार गरेका छन्। पार्टीको सांगठनिक आधारसमेत बलियो भएकाले महर्जनले नतिजा दोहोर्याउन सक्ने आकलन एमालेले गरेको छ। महर्जन ललितपुर महानगरपालिका गुइटोलका हुन्। हाल यो वडा नम्बर ८ मा पर्छ। ठूलो मताधार क्षेत्रको प्रतिनिधित्व गर्ने गरी उम्मेदवार उठाएकाले पनि परिणाम आफ्नो पक्षमा पर्ने एमाले बुझाइ देखिन्छ।
नेपाली कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ। उम्मेदवारका हिसाबले उनी नयाँ अनुहार भने होइनन्। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा ललितपुर–२ (२) बाट उम्मेदवार भइ पराजित भएका थिए।
इँटा भट्टा सञ्चालकसमेत रहेका महर्जन ललितपुर महानगरपालिका दुपाटका हुन्। ललितपुर महानगरपालिकाका वडाभित्र नेपाली कांग्रेसको सुदृढ संगठन छ। महानगर प्रमुख चिरिबाबु महर्जनको सकारात्मक छाप र नेपाली कांग्रेसको परम्परागत भोट रहेकाले त्यहाँ जित्न कठिन नहुने नेपाली कांग्रेसको विश्लेषण देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई उम्मेदवार बनाएको छ। सञ्चारकर्म हुँदै सञ्चारमन्त्रीको कुर्सीमा पुगेका खरेल राजनीतिकर्मीका हिसाबले नवीन हुन्। सञ्चारमन्त्री हुनुअघि उनी इमेज टेलिभिजनमा हटसिट नाम टक शो चलाउँथेँ। खरेल लामो समय इमेज च्यानलमै बिताए।
हठात् राजनीतिमा प्रविष्ट भएका खरेल उम्मेदवारका रूपमा मैदानमा परीक्षणमा छन्।
दोलखा निवासी खरेल शालीन स्वभाव, खरो प्रश्न सोध्ने छविका कारण परिचित पनि थिए। उम्मेदवारका रूपमा स्थानीय मतादाताबीच कत्तिको भिज्न सक्छन्, परीक्षाकै विषय छ।
यद्यपि नबोदित राष्ट्रिय स्वतन्त्र पार्टीको फैलँदो प्रभाव, नयाँ मतदाताको रूझान र सहरी क्षेत्रमा मत बदल्ने बदलिँदो चरित्रका कारण परिणाम आफ्नो पक्षमा पर्छ कि भन्ने उनको सोचाइ देखिन्छ। अघिल्लो निर्वाचनमा ललितपुर–२ मा नयाँ पार्टी र उम्मेदवारतर्फ मनग्गे मत ट्रान्सफर भएको थियो।
त्यसो त खरेललाई अघिल्लोपटक प्रतिस्पर्धामा आएका हाम्रो नेपाली पार्टी (हानेपा)का उम्मेदवार सुदीन शाक्यले पनि समर्थन गरेका छन्। शाक्यले यसअघि ८ हजार ८८६ मत ल्याएका थिए। त्यही निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार रहेका बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका थिए। यसरी नयाँ पार्टी र उम्मेदवारतिर मत ट्रान्सफर भएको विगतकै अवस्थाले पनि अहिले जित सहज बनाउने खरेलको बुझाइ छ।
नेपाली कम्युनिस्ट पार्टीले ललितपुर–२ मा राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ। अमात्य पनि नवीन अनुहार हुन्। एकीकृत समाजवादीबाट अघिल्लोपटक उम्मेदवार बनेका कृष्णलाल महर्जन यसपटक प्रतिस्पर्धामा छैनन्। उनले यसअघिको निर्वाचनमा ८ हजार २६४ मत ल्याएका थिए। हुन त त्यतिबेला नेपाली कांग्रेस, माअोवादी केन्द्र, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए, महर्जन साझा उम्मेदवार थिए।
त्यस भेगमा माओवादी, एकीकृत समाजवादी दुवैको पुरानो मताधार पनि रहेकाले अहिले नेकपा जितको आशामा देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले रघुवर थापालाई उम्मेदवार बनाएको छ। थापा अघिल्लोपटक पनि त्यस क्षेत्रबाट उम्मेदवार थिए। त्यहाँ राप्रपाको पनि राम्रै मताधार देखिन्छ। अघिल्लो निर्वाचनमा थापाले ६ हजार ६४२ मत ल्याएका थिए। नबोदित उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार बनेका छन्। खोला मापदण्डविरूद्ध अभियान चलाइरहेका तण्डुकार स्थानीयहरूबीच परिचय विस्तारको क्रममा छन्।
ललितपुर–२ उपत्यकाको ठूलै मताधार भएको निर्वाचन क्षेत्र हो। यहाँ ३९ मतदान स्थल र १०४ केन्द्र छन्। यहाँ ८९ हजार ८२ मतदाता रहेका छन् भने २३ जना उम्मेदवार मैदानमा छन्। यसमध्ये सात जना उम्मेदवार स्वतन्त्र हुन्।
ललितपुर–२ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका ९ वटा वडा समेटिएका छन्।
महालक्ष्मी नगरपालिकामा प्रमुख (हरिगोविन्द श्रेष्ठ) एमालेले जितेको छ भने उपप्रमुख (लक्ष्मी महर्जन) कांग्रेसले जितेको छ। १० वटा वडामध्ये वडा नम्बर १, २, ३, ४, ८, १० एमालेले जितेको छ। ५, ७, १० नेपाली कांग्रेस र वडा नम्बर ६ माओवादी केन्द्रले जितेको थियो।
ललितपुर महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १६ नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर १२, १७ र १९ एमालेले जितेको छ।
प्रदेश सभातर्फ ललितपुर २ (१) एमालेले जितेको छ। २०७४ सालमा महालक्ष्मी नगरपालिकाका मेयरसमेत रहेका रामेश्वर श्रेष्ठ ८ हजार २९८ मत ल्याएर प्रदेश सभा सदस्य जितेका थिए। उनका प्रतिस्पर्धी राप्रपाका ६ हजार ८५१ मत ल्याएका थिए। प्रदेश २ मा कांग्रेसका रामकृष्ण चित्रकारले ६ हजार ९९५ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत ल्याएका थिए।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको थियो। रास्वपाले ११ हजार ८९५ मत ल्याएको थियो। दोस्रो भएको एमालेले ११, ८५, नेपाली कांग्रेसले ९ हजार २५२, राप्रपाल् ७ हजार ६९५ र हाम्रो नेपाली पार्टीले ४ हजार ४३ मत पाएका थिए। माओवादी केन्द्रले १ हजार ८७८, नेपाल मजदुर किसान पार्टीले १ हजार ८३६ र एकीकृत समाजवादीले १ हजार ५७८ मत पाएको थियो।
प्रदेश सभा निर्वाचनतर्फ एमाले पहिलो बनेको थियो। एमालेले १२ हजार ६०५ मत पाउँदा दोस्रो भएको राप्रपाको १० हजार ७०७, कांग्रेसको १ हजार १८४, हाम्रो नेपाली पार्टीले ७ हजार ३२७, माओवादी केन्द्रले २ हजार ५४३, एकीकृत समाजवादीले २ हजार ५०२ मत प्राप्त गरेका थिए।
अघिल्लो निर्वाचनमा पुराना पार्टीको मताधारबाट रास्वपाले यथेष्ट मत तानेकाले यसपटक जित्न सहज हुने उसले आकलन गरेको हो। नेपाली कांग्रेस, एमालेलगायत पुराना दलको सांगठनिक आधार बलियो रहेकाले ललितपुर–२ को परिणाम अन्त नजाने बुझाइ उनीहरूको पनि देखिन्छ।
यी पनि पढ्नुहोस्:
कम्युनिस्टहरूको सेल्टर इलाका, जहाँ सधैं हुन्छ कांग्रेससँग टक्कर
एक समय एउटै पार्टीमा रहेका रञ्जु दर्शना र रवीन्द्र मिश्र आमने–सामने
सितिमिति प्रतिनिधि दोहोर्याउँदैन, सधैं नयाँ अनुहार छान्न रूचाउँछ काठमाडौं–२
काठमाडौंको खानेपानी मुहानमा चुनावी परीक्षा दिइरहेका कुलमान घिसिङ
मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?
हेभीवेट नेताहरू भिडिरहेको काठमाडौं–५
कम्युनिस्ट गढमा रास्वपाको उदय, पाउला निरन्तरता?
रास्वपाका लागि २ कारणले महत्त्वपूर्ण छ काठमाडौं-७
काठमाडौं महानगरका सबभन्दा बढी वडा समेटिएको ८ नम्बर क्षेत्र
अघिल्लो चुनावमा रास्वपाले मनग्गे भोट तानेको एमाले गढ काठमाडौं–९
मदन भण्डारीले जितेको क्षेत्रमा ३१ वर्षदेखि जित फर्काउन सकेको छैन एमालेले