विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय निर्धारण गर्न सभामुख डोलप्रसाद अर्यालमाथि दबाब दिएका छन्।
प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता एक घण्टा प्रधानमन्त्रीसँग सांसदहरूले प्रश्न सोध्न पाउँछन्।
तर जेठको पहिलो साता सभामुख अर्यालले यस्तो समय निर्धारण गरेनन्। उनले प्रधानमन्त्री बालेन शाहलाई भेटेरै सांसदहरूको प्रश्नको जबाफ दिनका लागि संसदमा आउन आग्रह गरेका थिए।
तर प्रधानमन्त्री शाहले प्रश्नोत्तरका लागि समय दिएनन्।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि विपक्षी दलहरूले सभामुख अर्याललाई दबाब दिएका हुन्।
'हामीले सभामुखलाई आजको बैठकबाटै प्रधानमन्त्री आएर सांसदको प्रश्नमा जबाफ दिने मिति निर्धारण गर्नुहोस् भनेका छौं', नेकपा प्रमुख सचेतक युवराज दुलालले भने, 'समय प्रधानमन्त्रीको सहजता अनुसार तोक्नुस् तर यदि समय नतोक्ने हो भने हामी विरोध गर्छौं भनिएको छ।'
विपक्षी दलहरूले सभामुख माथि दबाब हालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले आजको शून्य र विशेष समय समय सञ्चालन भइरहँदा नै निकास खोज्ने बताएका छन्। दलहरूबीच छलफलका कारण बिहान ११ बजेका लागि डाकिएको बैठक आधा घण्टा पछि मात्र सुरू भएको थियो।
'हामीले संविधान र नियमावली कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा उठाउनु गलत हो भने भन्नुहोस् भनेर सभामुखलाई भनेका छौं', उनले भने, 'प्रधानमन्त्री उपयुक्त समयमा आउनुहुन्छ भन्न छाड्नुहोस्।'
सभामुखसँगको छलफलबारे जानकार रहेका विपक्षी दलका अर्का एक नेताले पनि सभामुखलाई प्रधानमन्त्री आउने मिति तोक्न आग्रह गरिएको बताए। मिति नतोके आज प्रतिपक्षी दलहरूले विरोध गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूले यसअघि छलफल गरी प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी राख्ने निर्णय गरेका थिए।