प्रधानमन्त्री बालेन शाहले विद्युतमा लगाइएको ५ प्रतिशत भ्याटले क्षमता विकास गरिने बताएका हुन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रश्नउत्तर कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीको प्रश्नको जबाफ दिँदै उनले भ्याटबाट उठेको रकमले विद्युतीय क्षेत्रको क्षमता विकास गरिने बताएका हुन्।
शुक्रबार भएको बजेटमार्फत विद्युतको ५० युनिट भन्दा बढीमा प्रति युनिटमा ५ प्रतिशत भ्याट लाग्ने घोषणा भएको हो।
यसबारे प्रधानमन्त्री शाहले तत्कालै विद्युतीय युगमा तुरून्तै प्रवेश गर्न सकिने अवस्था नरहेको पनि बताए। उनले अहिले सबै घरमा इन्डक्सन पकाउन थाल्ने हो भने ट्रान्सफर्मर पड्किने अवस्था रहेको बताए।
‘अहिले के छ भन्दा साँच्चै हामी विद्युतीय युगमा तुरून्तै जान सकिने अवस्था छैन। हरेक किचेनमा अहिले नै बिजुलीको प्रयोग हुने इन्डक्सनबाट पकाउन थाल्ने हो भने देशमा भएका सबै ट्रान्सफर्मर नै पड्किन्छन्, त्यसको क्षमता नै छैन,’ उनले भने, ‘त्यो क्षमता विकास गर्न पैसा चाहिन्छ, त्यही पैसाका लागि ५० युनिट भन्दा माथिको ५ प्रतिशत भ्याट लगाउने कुरा अस्ती अर्थमन्त्रीज्यूले अस्ती भन्नुभएको छ। त्यो भनेको धेरै होइन, १०० रुपैयाँमा ५ रुपैयाँ हो। त्यो पैसा देशभर ट्रान्फर्मरलाई अपग्रेड गर्नुपर्छ। ट्रान्समिशन लाइनको मोटाइलाई अपग्रेड गर्नुपर्छ। सबस्टेशनलाई अपग्रेड गर्नुपर्नेछ। अनि बल्ल हामी विद्युतीय युगमा जान सक्छौं। त्यसका लागि नेपाल सरकार अग्रसर छ।’