प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा बस्ने नेपालीको मताधिकारबारे सरकारले छलफल गरिरहेको बताएका छन्। यसलाई कसरी प्रविधिमैत्री बनाउने भन्नेबारे सरकारले थप छलफल गर्ने बताए।
प्रतिनिधि सभाको आइतबारको बैठमा सांसद महावीर पुनले विदेशमा बस्ने नेपालीको मताधिकारबारे प्रश्न सोधेका थिए। आफूले अन्तरिम सरकारको मन्त्री हुँदा र त्यसपछि पनि विभिन्न छलफलमा भाग लिएको तर मताधिकारको व्यवस्था नभएकोबारे उनले चासो राखेका थिए।
त्यसको जबाफ प्रधानमन्त्रीले दिएका हुन्।
‘अन्तरिक सरकारको पालामा पनि कुरा उठेको थियो। समस्या के छ भने, विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूले भोट हाल्दाखेरी दुइटा उपाय रहेछन्, एउटा दूतावासमा गएर भोट हाल्ने र भोट दिने, अर्कोचाहिँ मोबाइलबाट भोट दिने, मोबाइलबाट भोट दिँदा प्रभावित हुन सक्ने हुन्छ। किनभने नेपालमा रहेका नेपालीहरूले भोट दिँदा कसैको प्रभावमा परेर भोट नदियोस्, स्वतन्त्र रूपमा भोट दिनुपर्छ भन्ने कुराले त्यतिबेला अल्झिएकोजस्तो लाग्छ। अब त्यसका लागि दूतावासमा गएर भोट दिने कि प्रविधि मैत्री बनाउने भन्ने कुरा हो। त्यस विषयमा नेपाल सरकारले आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ,’ उनले भने।
सांसद पुनले सुत्र सफ्टवेयर नचलेकोबारे पनि जबाफ मागेका थिए।
प्रधानमन्त्री बालेनले यथाशीघ्र समाधान गर्न मन्त्रीलाई निर्देशन दिएका थिए।
‘सूत्रको विषयमा आइटीका मन्त्रीले सुन्न नै भयो होला यो सम्बन्धी तुरून्त व्यवस्थापन गर्न निर्देशन दिन्छु,’ उनले भनेका थिए। यो हेर्न छुट्टै मन्त्री नियुक्त भएको छैन।
रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रधानमन्त्रीले आफैसँग राखेका छन्।