नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को शनिबारदेखि सोमबारसम्म बसेको आवासीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।
बरू त्यो कार्यदलले अर्को सानो कार्यदल बनायो।
जसमा कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादल, अर्का उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेल छन्।
बैठकभर कार्यदल संयोजक थापाले कार्यदलको औचित्यमाथि नै प्रश्न उठाइरहेका थिए। जसले गर्दा तीन दिन बसेको बैठकले कुनै निष्कर्षमा पुगेन।
'संयोजकले जतिबेला पनि कार्यदल नै ठिक भएन भन्ने तरिकाले कुरा गर्नुभयो। हामीले आफ्ना धारणा राखेका छौं। अब कार्यदलले छलफल गरेर असोज १ को बैठकमा प्रस्ताव पेस गर्छ,' एक सदस्यले सेतोपाटीसँग भने, 'असोज १ गते बस्ने बैठकले टुंगो लगाउनु पर्छ।अब यसलाई सधै अल्मल्याएर हुँदैन।'
काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा भएको छलफलमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र उपाध्यक्ष थापाले त्यसको काउन्टरमा लेखेको प्रतिवेदनमाथि छलफल भएको थियो।
थापाको प्रतिवेदनको हुबहु बचाऊ गर्नेमा थापा र अर्का सचिवसमेत रहेका कार्यदल सदस्य महेश बस्नेत मात्र थिए।
'अध्यक्षलाई हटाउन लागियो भन्ने तरिकाले मात्र बादलजी प्रस्तुत हुनुभयो। पार्टी अध्यक्षले पनि उहाँलाई पटक पटक फोन गरेर दबाब दिइरहनुभएको थियो,' ती सदस्यले भने, 'बादलजी कै नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई महासचिवको मात्र प्रतिवेदन भन्ने जस्तो गरेर प्रचार गर्न खोजिएको छ। तल्ला कमिटीबाट आएका सुझावका आधारमा त्यो प्रतिवेदन तयार पारेको उहाले विर्सनभुयो।'
प्रतिवेदन तयार पर्न संयोजक थापा तयार नभएपछि तीन जनालाई अन्तिम प्रस्ताव तयार पर्ने जिम्मेवारी दिइएको कार्यदलका अर्का सदस्यले बताए।
थापा यो कार्यदल नै खारेज गर्ने पक्षमा रहेको नेताहरू बताउँछन्। अब महासचिवले तयार पारेको प्रतिवेननै पारित हुने ती सदस्यले दाबी गरेका छन्।
कार्यदलको तर्फबाट तयार पारेको प्रतिवेदनअनुसार अघि नबढेमा पार्टी बलियो बनाउन नसक्ने उनले बताए।
'हामीले पार्टीलाई सशक्त बनाउन खोजेको हो तर संयोजकले अध्यक्ष हटाउन खोजिएको भनेर मात्र व्याख्या गर्न खोज्नुभएको छ। उहाँका लागि ग्रेसफुल एक्जिट जरूरी छ भन्ने लाग्छ। त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा पार्टीमा छलफल गरेर हुने हो,' कार्यदलका ती सदस्यले भने।
स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनर्लेखन गर्न चाहेका छन्।
ओलीको चाहनाअनुसार नै संयोजक थापाले अडान लिइरहेका छन्।
'अब बादलले चाहेर पनि कार्यदलको काम रोकिने भन्ने हुँदैन। बहुमत अल्पमतको आधारमा पनि प्रतिवेदन त बन्छ नै। पार्टी अध्यक्षले अरू बैठक टारेर एकैचोटि केन्द्रीय कमिटी बैठक गर्न खोज्नुभएको छ,' कार्यदलका ती सदस्य भन्छन्, 'असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्नो पक्षमा धेरै सदस्य देखिन्छ् भन्ने उहाँको अपेक्षा होला तर तलदेखिका कार्यकर्ताको चाहना के छ भनेर उहाँहरूले बुझ्नुहुन्छ भन्ने लाग्छ।'