न्यायपरिषदले उच्च अदालतमा तीन न्यायाधीश सिफारिस गरेको छ।
मंगलबार बसेको परिषद् बैठकले उच्च अदालतमा तीन, जिल्ला अदालतमा एक जना न्यायाधीश नियुक्ति सिफारिस गर्नुका साथै दुवै अदालतका न्यायाधीशहरूको सरूवा पनि गरेको हो।
परिषदले सर्वोच्च अदालका रजिष्ट्रार भद्रकाली पोखरेल, फैसला कार्यान्वयन महाशाखाका महानिर्देशक गजेन्द्रबहादुर सिंह र जिल्ला न्यायाधीश हिमाल बेलवासेलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरेको हो।
पोखरेललाई सुर्खेत, सिंहलाई विराटनगर र बेलवासेलाई जनकपुर उच्च अदालतमा पदस्थापनका लागि सिफारिस गरिएको परिषदले जनाएको छ।
सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति गरि कैलाली जिल्ला अदालतमा पदस्थापन गर्न सिफारिस गरेको छ।
त्यस्तै परिषदले उच्च अदालतका तीन न्यायाधीशलाई सरूवा, ४ न्यायाधीशलाई काजमा राख्न सिफारिस गरेको छ। मंगलबारको बैठकले १५ जिल्ला न्यायाधीशको सरूवा गरेको परिषदले जनाएको छ।