नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा सीमा विवाद लगायतका संवेदनशील विषय नउठाएको आपत्ति जनाएको छ।
शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताएका हुन्।
उनले प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरे।
प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा प्रस्तुत गर्ने गरेको अभिव्यक्ति अहिले कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखाएको उनको भनाइ छ।
सीमा विवादको विषयलाई प्रवेश नै नगराई फर्कनुले उनको दोहोरो चरित्र उदाङ्गो भएको उनको दाबी छ।
विगतमा प्रधानमन्त्री साहले सीमा सम्बन्धी अभिव्यक्तिलाई लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।
उनले भने, ‘नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक, ऐतिहासिक र विशिष्ट छ। दुई देशबीच सहकार्यमा अनेकौँ सम्भावना छन् भने वर्षौँदेखि समाधान हुन बाँकी सिमा लगायतका केही संवेदनशील विषयहरू पनि छन्। यस्ता संवेदनशील विषयहरूको समाधान कुनै एउटा भ्रमण वा बैठकबाट मात्र सम्भव हुँदैन भन्ने यथार्थताप्रति नेपाली कांग्रेस स्पष्ट छ। यसको समाधानका लागि निरन्तर र गम्भीर अनि परिणाममुखी कूटनीतिक पहल अनिवार्य हुन्छ। द्विपक्षीय सहकार्यका बहुआयामिक सम्भावनालाई निरन्तर अगाडि पढाउँदै आपसी विश्वास, सम्मान र समझदारीका आधारमा थाती रहेका संवेदनशील विषयहरूको कूटनीतिक समाधान खोज्ने तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र गतिशील बनाउँदै लैजाने नेपाली काङ्ग्रेसको स्पष्ट र अविचलित दृष्टिकोण रहँदै आएको छ। तर प्रधानमन्त्री, प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध विशेषगरी सिमाका विषयमा जसरी वर्तमान प्रधानमन्त्रीज्यूले प्रस्तुत हुने गर्नुहुन्थ्यो।’
उनले अगाडि भने, ‘यसभन्दा अगाडि उहाँको प्रस्तुति अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिको रूपमा हामीले लिएका थियौँ। लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो। त्यो कुरा जब कूटनीतिक संवादमार्फत् त्यही विषयलाई निर्णायक रूपमा उठाउने अवसर उहाँले प्राप्त गर्दा, ती विषयहरू नउठ्दै गरेको यो स्थितिले हिजो हामीले गरेको अनुमान आज पुष्टि भएको अवस्था छ। त्यसैले उक्त विषयलाई प्रवेश नै नगराई फर्कनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको छ। कथनी र करनीबीचको यो विरोधाभास आफैँमा विडम्बनापूर्ण छ। त विडम्बनापूर्ण त छँदै छ, सँगसँगै यसले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वतालाई पनि उजागर गरेको हाम्रो ठहर छ।’
उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमा लगायतका संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको बताए।
यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको बताए।
उनले प्रधानमन्त्री भारत भ्रमणका क्रममा भएका कतिपय सहमतिहरु सकारात्मक रहेकोले त्यसलाई कार्यन्वयनमा ल्याउन जोड दिए। –न्युज एजेन्सी नेपाल