मंसिर २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरका केही कर्मचारी बोडेको होल्डिङ सेन्टरमा आएका थिए।
उनीहरूले त्यहाँ बसिरहेका सुकुम्बासीलाई भनेका थिए, 'अब तपाईंहरूले होल्डिङ सेन्टर छाड्नुपर्छ। सरकारले जग्गा दिएको ठाउँमा जानुहोस्।'
त्यति सुन्नेबित्तिकै ५८ वर्षीया कृष्णमाया राइगाईंले जबाफ फर्काएकी थिइन्, 'जाऊ भन्नेबित्तिकै हामी जाँदैनौं। लालपुर्जा दिनुहोस्, तत्काल निस्किन्छौं।'
होल्डिङ सेन्टरमा बसिरहेका अरू सुकुम्बासीले पनि कृष्णमायाको कुरामा समर्थन जनाए।
त्यस दिन जिल्ला प्रशासनका कर्मचारीहरू चुपचाप फर्किए पनि कृष्णमायाको मनमा डर पस्यो — सरकारले थापाथलीको बस्तीबाट जस्तै यहाँबाट पनि एकाएक निकालिदिने त होइन?
फेरि कहाँ जाने? कहाँ बस्ने? के खाने?
कृष्णमायाको सात जनाको परिवार छ। छोरा–बुहारी र स–साना नातिनातिनाको भविष्य सम्झेर सरकारले कतै बसोबासको व्यवस्था गरिदेला, रोजगारीको अवसर जुटाइदेला भन्ने झिनो आशामा उनी यहाँ बसिरहेकी थिइन्।
सरकारले भने उनलाई तीन–चार दशकअघि नै श्रीमानले छाडेको गाउँ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका गएर समन्वय गर्न भनेको छ।
'सरकारले छोड्न भने पनि यसै अलपत्र अवस्थामा नलखेट्लान् भन्ने लागेको थियो। तर मंसिर ९ गते बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र ठाउँ खाली गर्न भन्दै सूचना टाँसिदियो,' कृष्णमायाले भनिन्, 'दया नभएको सरकारले जे पनि गर्न सक्छ भनेर निदाउनै सकिनँ।'
प्रशासनले सूचना टाँसेपछि होल्डिङ सेन्टरभरि त्रास फैलियो। कहाँ जाने, के गर्ने भन्ने अन्योलमा सबै परे।
केही व्यक्तिले होल्डिङ सेन्टर छाडे। जाने ठाउँ कतै नभएकाहरू भने मरे पनि यहीँ मर्ने भन्दै मन दह्रो बनाएर बसेको कृष्णमाया बताउँछिन्।
बुधबार सूचना टाँसेर गएको प्रशासनले बिहीबार साँझ करिब ६ बजे प्रहरी पठायो।
दुई–तीन जना प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै माइकिङ गरे।
त्यसपछि होल्डिङ सेन्टरभित्र रूवाबासी चल्यो।
'कहाँ जाने, के खाने कुनै अत्तोपत्तो थिएन। ओत लाग्ने ठाउँ कतै छैन,' कृष्णमायाले भनिन्, 'सम्बन्धित जिल्लामा गएर बस्नू भन्छ। के हामी रूखको फेदमा गएर बस्नू?'
सरकारले कृष्णमायाको परिवारलाई भूमिहीन ठहर गरेको छ। तर सुनकोशी गाउँपालिकामा गएर समन्वय गर्न भनेकै भरमा होल्डिङ सेन्टर नछाड्ने उनको अडान छ।
बुधबार र बिहीबार दुवै रात उनी राम्ररी निदाउन सकेकी थिइनन्।
शुक्रबार बिहान सूर्य उदाउँदै गर्दा उनले घामतिर फर्केर दुई हात जोडिन्। भोलिको सूर्योदय देख्न पाउँछु कि पाउँदिनँ भन्ने उनलाई लागिरहेको थियो। उनले भगवानसँग आफ्नो परिवारको रक्षा गरिदिन पुकारिन्।
बिहान उठ्नेबित्तिकै उनले वरपर हेरिन् — प्रहरी आइसके कि?
कतै प्रहरी देखिनन्। तर उनको मन शान्त भएन।
खाना खुवाउने टोली पनि बिहीबार साँझ नै हिँडिसकेको थियो। अब छोराछोरी र नातिनातिनालाई के खुवाउने भन्ने अर्को पीर थियो।
यसअघिका दिनमा शान्ति सेवा गृहले बिहान साढे ८ बजेतिर चिया–बिस्कुट र बिहान–बेलुका खाना खुवाउँदै आएको थियो।
परिवारका सदस्य भोकभोकै बस्नुपरेपछि उनलाई सरकारप्रति आक्रोश जागिरहेको थियो। सन्तानको भोक देख्न नसकेर उनी नजिकैको पसल पुगिन्। बिस्कुट किनेर ल्याइन् र खुवाइन्।
समय आफ्नै गतिमा चलिरहेको थियो। कृष्णमायाको ध्यान भने एउटै कुरामा थियो — कति बेला २ बज्छ र सरकारले के गर्छ?
बिहान ९ बज्यो। कोही आएनन्।
१० बजे पनि उनले गेटतिर हेरिन्। कोही देखिनन्।
११ बजेपछि भने केही पत्रकार आएको खबर पाइन्।
'पत्रकारहरू आए भनेपछि झन् अब निकाल्छ भन्ने त्रास भयो। त्यसैले अब गोली हाने पनि हान्छ भनेर बाहिर निस्किएँ,' उनले भनिन्, 'सन्तानलाई भोकभोकै राख्नुभन्दा सरकारको गोली खाएरै ज्यान दिन्छु।'
साँझ आफूहरू कहाँ पुग्ने हो भन्ने टुंगो नभएकाले उनले शुक्रबार नातिनातिनालाई विद्यालय पनि पठाएकी थिइनन्।
हाँस्ने–खेल्ने उमेरका नातिनातिनालाई कहिले भोकभोकै राख्नुपरेको छ, कहिले चिसो भुइँमा सुताउनुपरेको छ। यस्तो अवस्था सहनुभन्दा बरू सबैको एउटै चिहान बनाइदे सरकार भन्दै विरोधमा अगाडि सरेको उनले बताइन्।
दिउँसो १२ बजेतिर सञ्चारकर्मीहरूको उपस्थिति बाक्लिँदै गयो। एक बजेसम्म होल्डिङ सेन्टरको गेटबाहिर उल्लेख्य संख्यामा पत्रकार जम्मा भइसकेका थिए।
त्यति बेलासम्म प्रशासनका कर्मचारी वा वर्दी लगाएका प्रहरी आइपुगेका थिएनन्। सादा पोसाकका केही प्रहरी भने देखिन्थे।
दिउँसो १ बजेर २५ मिनेट जाँदा कृषि विकास बैंकको तालिम केन्द्र अर्थात् होल्डिङ सेन्टरको गेटअगाडि प्रहरीको एउटा गाडी रोकियो।
त्यसबाट प्रहरी ओर्लिएपछि होल्डिङ सेन्टरमा त्रास झन् बढ्यो।
सुकुम्बासीहरू भित्र–बाहिर गर्न थाले। केही प्रहरी गेटबाहिरै बसे। एक टोली प्रहरी होल्डिङ सेन्टरभित्र पस्यो। उनीहरू सुकुम्बासी बसिरहेका कोठासम्म भने पुगेनन्।
बन्दुक बोकेका सुरक्षाकर्मी देखेपछि सुकुम्बासीहरू आक्रोशित भए। सरकारले आफूहरूमाथि शक्ति प्रदर्शन गर्न खोजेको भन्दै विरोध गर्न थाले।
त्यहाँ त्रास र आक्रोशको माहोल उस्तै थियो।
कृष्णमाया राइगाईं
'आठ महिना कुखुरालाई खोरमा थुनेजसरी राख्यो'
'दुई बजेसम्म समय दिएको छ। हेरौं, के गरी निकाल्छ,' ४७ वर्षीया हरिमाया जिम्बाले भनिन्, 'हामीलाई बिचल्ली बनाएर यसै निकाल्न पाइन्छ?'
उनले थपिन्, 'आठ महिनासम्म हामीलाई कुखुरालाई खोरमा थुनेर राखेजसरी राख्यो। उनीहरूले दानापानी दिए खान्थ्यौं, नदिए भोकभोकै बस्थ्यौं।'
सरकारले हरिमायालाई पनि भूमिहीन ठहर गरेको छ। उनलाई गृहजिल्ला सिन्धुलीको मरिण गाउँपालिकामा जान भनिएको छ।
श्रीमान बितेपछि २५–२६ वर्षअघि नै छाडेको गाउँमा अब उनी कसरी फर्किने?
त्यहाँ उनको बस्ने ठाउँ छैन। आफन्त कोही छैनन्। स्थानीय तहले जग्गा उपलब्ध गराउँछ भन्ने कुनै सुनिश्चितता पनि छैन।
सरकारले तोकेको स्थानीय तहमा पुगेर पनि जग्गा नपाएपछि केही साथीहरू त्यसै फर्किएको उनले सुनाइन्।
हरिमायाका एक छोरा र एक छोरी छन्। आर्थिक अभावकै कारण उनी २१ वर्षदेखि थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी थिइन्। त्यहाँको छाप्रो भत्काइएपछि सरकारले दिएको खानाको भरमा बाँच्नुपरेको उनले दुखेसो पोखिन्।
शुक्रबार भने दिउँसो साढे १ बजिसक्दा पनि होल्डिङ सेन्टरमा खाना उपलब्ध गराइएको थिएन।
'पेरूङ्गोमा हालेको कुखुराजस्तो, अर्काले ल्याएको दाना बिहान–बेलुकी खुवाउँथ्यो, जिउँदा थियौं,' हरिमायाले भनिन्, 'अब हिजोबाट उठाउने भनिसकेपछि दानापानी पनि बन्द भयो। दानापानी बन्द भएपछि अब हामी कसरी बाँच्ने?'
उनले थपिन्, 'खाना नदिई लास बनाएर उठाउन खोजेको भए उठाओस्।'
हरिमाया जिम्बा
'कागजको भरमा होइन, यथार्थ बुझेर निर्णय गर्नुपर्छ'
१५ दिनका लागि भनेर होल्डिङ सेन्टरमा ल्याइएका सुकुम्बासीको बसाइ आठ महिना पुग्यो।
अहिले सरकारले 'सुकुम्बासी होइनौ' भन्ने ठहर गरेर निकाल्न खोज्दैमा आफू ननिस्किने दलमर्दन कामीको अडान छ।
सरकारले भूमिहीन ठहर भएका र नभएका दुवैलाई आ–आफ्नो जिल्लामा फर्किन भनिरहेको छ।
पुर्ख्यौली सम्पत्ति वा विगतको अभिलेखमा जग्गा देखिएकाहरूलाई भूमिहीनको सूचीबाट हटाइएको दलमर्दन बताउँछन्। विगतमा कसैको नाममा थोरै जग्गा हुनु र बाध्यतावश त्यो जग्गा बेच्नुपरेपछि अहिले भूमिहीन हुनु फरक कुरा भएको उनको तर्क छ।
'पहिले कसैको एक आना, पाँच आना, चार आना वा पाँच–दस धुर जग्गा थियो होला,' दलमर्दनले प्रश्न गरे, 'कोही बिरामी भएर त कोही साहुको ऋण तिर्न बेच्यो होला। अनि त्यो नागरिक चाहिँ बाँच्नै नपाउने, कहीँ बस्नै नपाउने हो त?'
उनले थपे, 'कागजको भरमा वर्ग मापन गर्ने होइन, यथार्थ बुझेर गर्नुपर्छ।'
कागजमा विगतमा जग्गाको कारोबार भएको देखिएकै भरमा निर्णय गर्न नहुने उनी बताउँछन्। सम्बन्धित व्यक्तिसँग संवाद गरेर उसको वास्तविक अवस्था बुझ्नुपर्ने उनको माग छ।
दलमर्दन स्वयं त्यसको उदाहरण हुन्।
उनी २०५२–५३ सालदेखि गम्भीर बिरामी परेका थिए। उपचारमा करिब ३८ लाख रूपैयाँ खर्च भयो।
उपचारपछि ज्यान त बच्यो, तर ऋणको भारीले थिच्यो। दैनिकी चलाउनै मुस्किल भएपछि पुर्ख्यौली अंशमा पाएको १३ धुर जग्गा पनि उनले पाँच–छ वर्षअघि बेचे।
अझै ऋण तिर्न बाँकी छ।
सरकारले भने त्यही १३ धुर जग्गाको पुरानो अभिलेख देखाएर आफूलाई सुकुम्बासी मान्न अस्वीकार गरेको उनी बताउँछन्।
'मलाई सबैले मर्छ भनेका थिए, अप्रेसन गरेर बाँचेँ,' उनले भने, 'सरकारले मेरो पुरानो १३ धुर जग्गा देखायो। १३ धुर भनेको एक कट्ठा पनि होइन। एकपल्ट पनि नसोधी, संवादै नगरी कागजको भरमा सुकुम्बासी होइन भनेर निकाल्न मिल्छ?'
उनले आक्रोश पोख्दै भने, 'सरकारले मलाई दोषी देखेको भए झूटा विवरणको मुद्दा लगाएर कारबाही गरोस्। ज्यान लिओस्, जे सजाय दिन्छ भोग्न तयार छु। अहिले मेरो नाममा एक टुक्रा जग्गा देखाओस्।'
'ज्यान जाओस्, लालपुर्जाबिना निस्किँदैनौं'
केही दिनअघि होल्डिङ सेन्टरमा आएका मन्त्रीहरूले बसोबासको व्यवस्था नभएसम्म यहाँबाट नहटाउने विश्वास दिलाएर फर्किएको ४२ वर्षीया कमला चौधरी बताउँछिन्।
त्यसको केही दिनमै दुई दिनभित्र ठाउँ खाली गर्नू भनेर सूचना जारी गरेपछि उनी आक्रोशित छिन्।
'ज्यान जाओस्, लालपुर्जाबिना निस्किँदैनौं,' उनले भनिन्, 'सुकुम्बासी भयौं भन्दैमा हामी यो देशको नागरिक नै होइनौं जस्तो गर्नुभएन। यही देशका नागरिक हौं। हामीलाई बाँच्न देऊ।'
राज्यले आफ्ना नागरिकको अभिभावक बन्नुपर्नेमा उल्टै रूवाबासी गराएर सडकमा पुर्याउन खोजेको उनको गुनासो छ। लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्प नदिई उठाउन नपाइने उनको तर्क छ।
कमलाको परिवारमा उनी र उनका श्रीमान मात्र छन्।
सरकारले दिएको पीडा सहन नसकेर श्रीमान मानसिक रूपले विचलित हुन थालेको उनले सुनाइन्। भोलि श्रीमानलाई केही भइहाले त्यसको जिम्मा कसले लिन्छ भन्दै उनले आँसु झारिन्।
'पहिला थापाथलीको छाप्रोमै बसेर भए पनि दुई छाक खुसीले खाएका थियौं। आज सरकारले दिनहुँ निकाल्ने, खाना बन्द गरिदिने गरेर यातना दिएको छ,' उनले भनिन्।
कुराकानी गर्दागर्दै उनको ध्यान गेटतिर मोडियो।
'हेर्नुहोस् त, अर्को गाडी प्रहरी पनि आयो। जबरजस्ती निकाल्छ कि क्या हो?'
यति भनेर कमला प्रहरी आएको ठाउँतिर लागिन्।
दिउँसो १ बजेर ४४ मिनेट जाँदा होल्डिङ सेन्टरको गेटअगाडि प्रहरीको दोस्रो गाडी आइपुगेको थियो। यसपटक गाडीबाट ओर्लिएका सबै सुरक्षाकर्मी होल्डिङ सेन्टरभित्र पसे।
पत्रकारहरूलाई भने होल्डिङ सेन्टरभित्र प्रवेश गर्न दिइएको थिएन।
चार–पाँच महिनादेखि त्यहाँ खटिएका सुरक्षाकर्मीले सुकुम्बासीहरूलाई राम्ररी चिन्थे। उनीहरूलाई आउजाउ गर्न रोक लगाइएको थिएन।
कोही पत्रकार भित्र पस्न खोज्दा भने सुरक्षाकर्मी रोकिहाल्थे, 'तपाईंहरूलाई यहाँ प्रवेश छैन।'
पत्रकारलाई भित्र छिर्न नदिन माथिबाट आदेश आएको उनीहरू बताइरहेका थिए।
प्रहरीको टोली होल्डिङ सेन्टरभित्र थियो। केही सुकुम्बासी र पत्रकार गेटबाहिर उभिएका थिए।
त्यही बेला पातलो शरीरकी ४५ वर्षीया पुनम पासवान बाहिर निस्किइन्। आफ्नो पीडा पोख्न थालिन्।
कमला चौधरी
'मेरा तीन छोरीको बिचल्ली भयो'
'मेरा तीन छोरीको बिचल्ली भयो,' पुनमले भनिन्।
बिहान स्कुल बस आएपछि उनले तीन छोरीलाई भोकभोकै विद्यालय पठाएकी थिइन्।
अब साँझ स्कुल बसले छोरीहरूलाई नल्याउने भयो रे! लिन आउनू भनेर फोन आइरहेको थियो।
भक्तपुरबाट छोरीहरूलाई लिन जाने भाडासमेत आफूसँग नभएको भन्दै उनी रून थालिन्।
थापाथलीमा बस्दा पुनम र उनका श्रीमान कारखानामा लुगा सिलाउँथे। त्यही कमाइले आठ सन्तान हुर्काइरहेका थिए। सरकारले घर भत्काइदिएपछि भने उसैले दिएको गाँसको भरमा बाँच्नुपरेको उनले बताइन्।
बिहान–बेलुका दिएको खानाले सास धानिएको थियो। घर भत्किएदेखि स्वाद मानेर खाना खान नपाएको उनी सुनाउँछिन्। यहाँ त केवल बाँच्नका लागि खाएजस्तो भएको थियो।
त्यसमा पनि उनले कुनै गुनासो गरेकी थिइनन्। तर अब ओत लाग्ने अर्को ठाउँ नभई यहाँबाट पनि निकाल्न खोजेपछि भने आफूमाथि ठूलो अन्याय भएको उनलाई लागिरहेको छ।
'जाने ठाउँ कहीँ छैन। ओत लाग्ने ठाउँ कतै छैन। यसै जाऊ भन्छ। मर्न तयार छौं, तर विकल्प नभएसम्म यहाँबाट एक इन्च पनि निस्किँदैनौं,' पुनमले आक्रोश पोखिन्, 'ससाना छोराछोरीलाई लिएर कहाँ जानु?'
पुनमका चार छोरी र चार छोरा छन्। तीमध्ये चार जना कालिमाटीको परोपकार स्कुलमा पढ्छन्।
कान्छो छोरा बिरामी भएकाले शुक्रबार उनले विद्यालय पठाएकी थिइनन्। तीन छोरी विद्यालय गएका थिए।
दिउँसो ४ बजेसम्म पनि उनी छोरीहरूलाई विद्यालयबाट कसरी ल्याउने भनेर यताउता हारगुहार गरिरहेकी थिइन्।
पुनम पासवान
पुनमसँग कुराकानी गरिरहेकै बेला सुमन चौधरी आइपुगे।
'हामीलाई निकाल्न प्रहरी आइसक्यो। यहीँ मरिन्छ, तर यसै छोडिँदैन,' उनले भने।
सरकारले सुकुम्बासीमाथि गरिरहेको अन्यायबारे सबैले थाहा पाउनुपर्छ भन्ने उनलाई लागिरहेको थियो। त्यसैले उनी त्यहाँ उपस्थित हरेक पत्रकारलाई आफ्ना कुरा सुनाइरहेका थिए।
'सुकुम्बासी भन्दैमा बाँच्नै नपाउने भन्ने होइन होला नि?' उनले भने, 'यसरी दिनहुँ तनाव दिएर, खाना खोसेर राख्नुभन्दा मारिदिए हुन्थ्यो।'
सुमनले आफ्ना कुरा राखिरहेकै बेला केही अभियन्ताले चिउरा र दालमोठ किनेर ल्याएछन्।
खाना खान बोलाएपछि सुमन बालबालिकालाई खुवाउन पाए हुन्थ्यो भन्दै कुराकानीबाट बाहिरिए।
त्यसपछि होल्डिङ सेन्टरको गेटबाहिर बालबालिकालाई बोलाएर चिउरा र दालमोठ बाँड्न थालियो।
बालबालिकासँगै उनीहरूका अभिभावक पनि सडकमै बसेर चिउरा–दालमोठ खान थाले।
दुई–तीन वर्षका एक बालक भने आमासँग बसेर चिउरा–दालमोठ खानुको सट्टा गेटभित्र उभिएका प्रहरीतिर माटो र ससाना ढुंगा टिपेर फ्याँकिरहेका थिए।
ती बालकको गतिविधिले त्यहाँ उपस्थित धेरैको ध्यान खिच्यो।
प्रहरीले त्यसो गर्न हुँदैन भनिरहेका थिए। बालकले भने केही बेरसम्म माटो र ढुंगा टिपेर फ्याँकिरहे। त्यसपछि प्रहरी बालकको नजरबाट ओझेल पर्ने गरी पछाडि सरे।
त्यही बेला उनकी आमाले बालकलाई तानेर काखमा राखिन्। अनि सडकमै बसेर नाराबाजी गर्न थालिन्।
उनीसँगै केही अभियन्ताले स्थायी बसोबासको विकल्प नदिई सुकुम्बासीलाई हटाउन खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी गरे।
कटकबहादुर थापा र गृभानिका थापामगर पनि चर्को स्वरमा नारा लगाइरहेका थिए।
त्यसको केही समयपछि कटकबहादुरले अनुहारमा थोरै खुसी झल्काउँदै सोधे, 'सरकार पछि हट्यो रे नि, हो म्याम?'
प्रशासनले तत्काल कुनै निर्णय नगरेको सुनाएपछि उनी निराश भए।
साँझ पर्दै थियो। सञ्चारकर्मीको उपस्थिति पनि पातलिँदै गएको थियो।
गृभानिकालाई भने अर्को डरले सताउन थाल्यो — पत्रकारहरू सबै फर्किएपछि पो सरकारले आफूहरूलाई निकाल्ने हो कि!
'पत्रकारहरू कति बाँकी छन् भनेर सोधिरहेका छन् रे! तपाईंहरू गएपछि केही गर्ने हुन् कि?' गृभानिकाले आशंका व्यक्त गरिन्।
उनीसँगै उभिएकी चन्द्रकलाले भने ससाना बालबालिका भएको ठाउँमा राति त्यसो नगर्ला नि भन्दै आफूलाई र गृभानिकालाई आश्वस्त पार्न खोजिन्।
त्यहीबीच हामी त्यहाँबाट निस्कियौं।
साँझ पौने ५ बजेतिर प्रहरी होल्डिङ सेन्टरबाट फर्किएको खबर दलमर्दन कामीले खुसी हुँदै सुनाए।
उनले भने, 'आज बस्न ओत लाग्ने ठाउँ रह्यो। खाना पाइन्छ कि पाइँदैन, थाहा छैन।'
***
सुमन चौधरी
कटकबहादुर थापा
गृभानिका थापा मगर