प्रिय अमृत गुरुङज्यू,
नेपथ्य केवल एउटा सांगीतिक समूहको नाम होइन। यो नेपाली माटोको आवाज हो, गाउँबस्तीको प्रतिध्वनि हो, श्रमजीवी मानिसको कथा हो र हाम्रो प्रकृति, संस्कृति तथा जीवनसँग जोडिएको एउटा गहिरो भावनात्मक यात्रा हो।
तपाईंका गीतहरूमा नेपाली जनजीवनका लोकबेँसीका भाका, जीवनका संघर्ष, देशप्रतिको प्रेम र प्रकृतिसँगको आत्मीयता भेटिन्छ। त्यसैले नेपथ्यको संगीत सुन्दा मनोरञ्जन मात्र होइन, आफ्नै समाज, परिवेश र जीवनसँग जोडिएको अनुभूति हुन्छ।
गत मंसिर ४ गते चितवनको सौराहास्थित चित्रसारी चौरमा आयोजित नेपथ्यको कार्यक्रममा तपाईंलाई नजिकबाट हेर्ने र सुन्ने अवसर पाएँ। त्यो मेरा लागि विशेष अनुभव थियो। संयोगले उक्त कार्यक्रमको ट्राफिक व्यवस्थापनमा समेत मेरो जिम्मेवारी थियो।
हजारौँ दर्शक संगीतमा रमाइरहेका थिए। तपाईंको प्रस्तुतिमा दर्शकको उत्साह, गीतसँगै उठेका हातहरू र नेपालीपनप्रतिको सामूहिक भावनाले वातावरण साँच्चै अद्भुत बनेको थियो।
तपाईंले गीत प्रस्तुत गर्दै गर्दा नेपाली जनजीवन, प्रकृति संरक्षण र सामाजिक जिम्मेवारीका विषयमा व्यक्त गर्नुभएका भावनात्मक सन्देशहरूले मन छोए। एउटा कलाकारले संगीतमार्फत मनोरञ्जन मात्र होइन, समाजलाई सोच्न, महसुस गर्न र सकारात्मक बाटो रोज्न प्रेरित गर्न सक्छ भन्ने कुरा त्यस साँझ फेरि अनुभूत भयो।
त्यही कार्यक्रममा एउटा अपेक्षा मेरो मनमा थियो– तपाईंले सडक सुरक्षा र सुरक्षित यात्राका बारेमा पनि केही बोलिदिनुहुनेछ कि? सायद त्यो प्रसंग उठेन, अथवा ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा व्यस्त हुँदा मैले सुन्ने अवसर पाइनँ। तर कार्यक्रम सकिएपछि पनि त्यो अपेक्षा मनमा रहिरह्यो। त्यसैले आज यो पत्र लेख्दैछु।
अमृत गुरुङज्यू,
नेपालमा सडक दुर्घटना आज एउटा गम्भीर सामाजिक संकट बनिरहेको छ। दिनहुँ सडकमा निस्कने मानिसमध्ये कतिपय सकुशल घर फर्कन पाउँदैनन्। दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ठूलो संख्या युवा पुस्ताको छ।
उनीहरू केवल दुर्घटनाका पीडित होइनन्; कसैका छोराछोरी, कसैका जीवनसाथी, परिवारका आशा र देशका सम्भावना हुन्। एउटा युवा सडक दुर्घटनामा गुम्दा एउटा जीवन मात्र समाप्त हुँदैन, परिवारको भविष्य र समाजको एउटा सम्भावना पनि कमजोर हुन्छ।
हामी सडक दुर्घटनाका समाचार सुन्छौँ, केही क्षण दुःखी हुन्छौँ र फेरि आफ्नै दैनिकीमा फर्कन्छौँ। तर सडकमा हुने धेरै दुर्घटना रोक्न सकिने हुन्छन्। हेल्मेट नलगाउनु, तीव्र गतिमा सवारी चलाउनु, जथाभावी ओभरटेक गर्नु, सवारीहरूबीचबाट जिगज्याग गर्दै अघि बढ्नु, मोबाइल प्रयोग गर्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु र अगाडिको सवारीसँग सुरक्षित दूरी कायम नगर्नुजस्ता व्यवहारले जोखिम बढाउँछन्। समस्या नियम थाहा नहुनु मात्र होइन; थाहा भएको नियमलाई आफ्नो जीवनको संस्कार नबनाउनु पनि हो।
हामी सडक सुरक्षाका विषयमा प्रहरी, सरकारी निकाय र विभिन्न अभियानबाट धेरै सन्देश सुन्दै आएका छौँ। तर मानिसको व्यवहार परिवर्तन गर्न केवल नियम र कारबाहीभन्दा कहिलेकाहीँ आत्मीय आग्रह, प्रेरणा र आफूले सम्मान गर्ने व्यक्तिको आवाज बढी प्रभावकारी हुन सक्छ। यही कारण तपाईंलाई यो अनुरोध गर्न मन लागेको हो।
तपाईंका गीतहरू सुन्न हजारौँ युवाहरू आउँछन्। तपाईंको स्वर, विचार र प्रस्तुतिप्रति उनीहरूको गहिरो विश्वास र आत्मीयता छ। तपाईंले मञ्चबाट प्रकृति संरक्षण गर्न, नेपालीपन जोगाउन वा जीवनप्रति संवेदनशील हुन आग्रह गर्दा त्यसलाई मनमा राख्ने प्रशंसकहरू धेरै छन्।
त्यसैले कुनै दिन गीतको बीचमा तपाईंले केवल ३० सेकेन्ड खर्चेर भन्नुभयो– ‘मोटरसाइकल चलाउँदा हेल्मेट लगाउनुहोस्, कार चलाउँदा सिटबेल्ट बाँध्नुहोस्, गति नियन्त्रण गर्नुहोस्, सुरक्षित दूरी कायम राख्नुहोस् र ट्राफिक नियम पालना गर्नुहोस्। तपाईं सकुशल घर फर्किनुहोस्, तपाईंलाई कसैले पर्खिरहेको छ’ भने त्यो सन्देश हजारौँ मानिसको मनसम्म पुग्न सक्छ।
नेपथ्यको सांगीतिक यात्रा एउटा सहरमा मात्र सीमित छैन। देशका विभिन्न ;हरदेखि विदेशका नेपाली समुदायसम्म तपाईंको आवाज पुगिरहेको छ। तपाईंका आगामी कार्यक्रमहरू पनि संगीतको यो यात्रा निरन्तर अगाडि बढिरहेको संकेत हुन्। प्रत्येक कार्यक्रम केवल संगीतको उत्सव मात्र होइन, हजारौँ मानिससँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि हो।
यही यात्राका क्रममा सडक सुरक्षाको एउटा सानो सन्देशलाई पनि तपाईंले आफ्नो प्रस्तुतिको हिस्सा बनाइदिनुभयो भने कति राम्रो हुन्थ्यो होला! देशका विभिन्न सहरमा आयोजना हुने कार्यक्रमदेखि विदेशका नेपाली समुदायबीच हुने प्रस्तुतिसम्म, प्रत्येक मञ्चलाई जीवनप्रतिको जिम्मेवारी र सुरक्षित यात्राको सन्देश प्रवाह गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ।
गीतको बीचमा केही सेकेन्ड खर्चेर गरिने एउटा आत्मीय आग्रहले हजारौँ दर्शकलाई कार्यक्रमस्थलबाट फर्कँदा जिम्मेवार चालक बन्न प्रेरित गर्न सक्छ। संगीतको उत्सव सकिएपछि पनि त्यो सन्देश उनीहरूको यात्रा र जीवनमा गुञ्जिरहन सक्छ।
सायद तपाईंको त्यही एउटा आग्रहले कुनै युवा हेल्मेट लगाउन प्रेरित हुनेछ। कसैले जाममा जथाभावी सवारी चलाउन छोड्नेछ। कसैले तीव्र गतिमा सवारी चलाउने आफ्नो बानी सुधार्नेछ। कसैले मादक पदार्थ सेवन गरेर सवारी चलाउने निर्णय त्याग्नेछ। र, सायद कुनै दुर्घटना रोकिनेछ; कुनै आमाको काख रित्तिनबाट जोगिनेछ, कुनै परिवारको भविष्य सुरक्षित हुनेछ।
तपाईंको संगीतले मानिसलाई भावनात्मक रूपमा जोड्छ। सडक सुरक्षा पनि अन्ततः मानवीय संवेदनासँग जोडिएको विषय हो। हामी सडकमा नियम पालना गर्छौँ भने त्यो केवल ट्राफिक प्रहरीको डरले होइन, अर्को मानिसको जीवनको सम्मान गरेर हो। सुरक्षित दूरी राख्नु, गति नियन्त्रण गर्नु र धैर्यपूर्वक सवारी चलाउनु केवल चालकको सीप होइन, उसको सभ्यता र जिम्मेवारी पनि हो।
मैले यसअघि पनि एउटा लेखमा ‘जब नायकहरू बोल्छन्, दुर्घटना रोकिन्छ’ भन्ने विचार व्यक्त गरेको थिएँ। मेरो विश्वास आज पनि त्यही छ—समाजले आदर्श मानेका व्यक्तित्वहरूको आवाजले व्यवहार परिवर्तन गर्न सक्छ।
कलाकारको प्रभाव केवल मञ्चमा सीमित हुँदैन। उनीहरूका शब्दहरू सामाजिक सञ्जाल, प्रशंसकहरूको दैनिक जीवन र पुस्तौँसम्मको सोचमा पुग्न सक्छन्। तपाईं जस्तो कलाकारले सडक सुरक्षालाई आफ्नो प्रस्तुति वा सामाजिक सन्देशको सानो हिस्सा बनाइदिनुभयो भने त्यसले एउटा सकारात्मक अभियानको रूप लिन सक्छ।
यो आग्रह तपाईंमाथि थप जिम्मेवारी थोपर्नका लागि होइन। तपाईंले संगीत र सामाजिक चेतनाका माध्यमबाट नेपाली समाजलाई दिनुभएको योगदानप्रति सम्मान गर्दै, जीवन जोगाउने एउटा अभियानमा तपाईंको आवाज पनि जोडियोस् भन्ने आशा मात्र हो।
हामी सडकमा दिनहुँ जीवन गुमाइरहेका छौँ। दुर्घटनापछि आँसु बगाउनु र परिवारलाई समवेदना दिनु हाम्रो मानवीय कर्तव्य हो; तर दुर्घटना हुनुअघि नै कसैलाई सचेत गराउनु, कसैलाई हेल्मेट लगाउन प्रेरित गर्नु र कसैलाई सुरक्षित रूपमा घर फर्कने संस्कार सिकाउनु अझ ठूलो जिम्मेवारी हो।
प्रिय अमृत गुरुङज्यू, तपाईंका गीतमा जीवन छ, नेपाली माटो छ र मानिसलाई जोड्ने शक्ति छ। त्यो शक्तिले सडकमा पनि जीवन जोगाउने सन्देश प्रवाह गरोस्। तपाईंको आवाज सुनेर रमाउने हजारौँ प्रशंसकले तपाईंको सन्देशलाई आफ्नो व्यवहारमा उतारून्। उनीहरू सुरक्षित यात्रा गरून्, सकुशल घर फर्किऊन् र भोलि फेरि जीवनका गीतहरू गाउन सकून्।
कुनै दिन तपाईंको मञ्चबाट गुञ्जिने सडक सुरक्षाको एउटा छोटो आग्रहले कसैको जीवन बचायो भने, त्यो पनि एउटा गीतले दिएको जीवनकै सुन्दर उपहार हुनेछ।
गीतले मन जोड्छ, तपाईंको आग्रहले जीवन जोडोस्।
सडकमा भेटिने हरेक जीवन सुरक्षित रहोस्। यात्राहरू गन्तव्यमा मात्र होइन, घरको खुसीमा पुगेर पूरा होऊन्।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी वरिष्ठ नायव निरीक्षक हुन्।)