राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई स्वागतका क्रममा खिचेको तस्बिर देखाएर आगामी निर्वाचनमा उम्मेदवार बन्ने दाबी नगर्न आग्रह गरेका छन्।
कर्णाली प्रदेशमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूलाई स्वागत गर्न आउने नेता तथा कार्यकर्ताले खिचेका तस्बिरलाई उम्मेदवारीको दाबीसँग नजोड्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।
‘एयरपोर्टबाट एयरपोर्ट पुग्दा नेताहरू कार्यकर्ताबाट घेरिन्छन्। तिनै साथीहरू फोटोमा वरपर देखिन्छन्। यिनै तस्बिर देखाएर उस्तै परे यसपालिको उम्मेदवार मै हो पनि भन्न भ्याउँछन् होला,’ उनले भने, ‘तर त्यो फोटो बेच्न त पाइँदैन।’
आफ्नो काम छाडेर स्वागत गर्न आउनुलाई आफूले प्रेमका रूपमा बुझेको बताउँदै उनले त्यस्ता तस्बिरलाई आफू र कार्यकर्ताबीचको सम्झनाका रूपमा मात्रै राख्न आग्रह गरे।
‘त्यही फोटो देखाएर निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइँदैन,’ उनले भने।
लामिछानेले रास्वपालाई ‘झोले’ शब्दबाट बाहिर निकाल्ने भन्दै पार्टीको आगामी महाधिवेशनदेखि झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्न पनि आग्रह गरे।
‘झोला बोकेर हिँडेपछि झोले भन्ने नै भयो। हाम्रो अबको महाधिवेशनबाट झोला भन्ने चिजलाई फालौं। अब स्मार्ट डायरी सुरू गरौं,’ उनले भने।
उनले झोलाको सट्टा फाइल बोक्न र आवश्यक सामग्री ल्यापटपमा राख्न सकिने बताए। आर्थिक अवस्था कमजोर भएका कार्यकर्तालाई अरूले फाइल किनिदिन पनि उनले आग्रह गरे।
‘आजदेखि झोला नबोक्ने, फाइल बोक्ने। कम्तिमा झोले युगबाट पार्टीलाई बाहिर निकाल्यौं,’ उनले भने।
पार्टीका कार्यक्रममा मोबाइल फोनको प्रयोगमा पनि उनले रोक लगाउने घोषणा गरे।
आयोजकले अनुमति दिएको अवस्थामा बाहेक रास्वपाका कुनै पनि कार्यक्रममा बैठक चलिरहँदा फोन प्रयोग नगर्न उनले निर्देशन दिए।
प्रशिक्षणमा सहभागीलाई अनुशासित भएर अध्ययन गर्न र टिप्नुपर्ने कुरा आफ्नै फाइलमा टिप्न आग्रह गर्दै उनले गोपनीयताको विषयसमेत रहेकाले फोन बन्द गर्न भनेका थिए।