भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीसँग छलफल गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का पुगेका छन्।
होल्डिङ सेन्टरमा अहिले छलफल भइरहेको त्यहाँ आश्रित दलमर्दन कामीले जानकारी दिए।
‘उहाँहरू आउनुभएको छ। अहिले छलफल भइरहेको छ,’ उनले भने।
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमै बसेर खाना खाएका थिए। प्रशासनले भित्र खाना लैजान नदिएपछि उनीहरू गेटबाहिरै बसेर खान बाध्य भएका थिए।
सरकारले होल्डिङ सेन्टर खाली गर्न भनेपछि गास र बासको चिन्तामा रहेका उनीहरूका लागि जेनजी अभियानी रक्षा बम, माजिद अन्सारीसहितको समूह खाना लिएर पुगेको थियो।
तर प्रशासनले खाना भित्र लैजान अनुमति नदिएपछि बालबालिका र उनीहरूका अभिभावकले सडकमा बसेर खाना खाएका थिए।
यसअघि शान्ति सेवा गृहले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई बिहान चिया–बिस्कुट र बिहान–बेलुका खाना खुवाउँदै आएको थियो।
तर शुक्रबारदेखि खाना खुवाउने टोली फर्किएपछि उनीहरूलाई समस्या भएको थियो। शुक्रबार केही बालबालिका बिस्कुट खाएर बसेका थिए भने केही भोकै विद्यालय गएका थिए।
शुक्रबार दिउँसो होल्डिङ सेन्टर पुगेका अभियानीहरूले आफैं पैसा उठाएर चिउरा किनिदिएका थिए।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेका सुकुम्बासीलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरेर शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
तर वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान उनीहरूले लिँदै आएका छन्।
शुक्रबार प्रशासनले तोकेको समयसीमा सकिनुअघि नै प्रहरी टोली होल्डिङ सेन्टर पुगेको थियो।
प्रहरीको गाडी देखेपछि त्यहाँ रहेका सुकुम्बासीमा त्रास बढेको थियो। प्रहरी टोली भित्र पसे पनि उनीहरूलाई तत्काल बाहिर निकालिएन। पत्रकारलाई भने होल्डिङ सेन्टरभित्र प्रवेश गर्न दिइएको थिएन।
१५ दिनका लागि भन्दै होल्डिङ सेन्टरमा ल्याइएका उनीहरूको बसाइ आठ महिना पुगिसकेको छ।थापाथलीलगायतका ठाउँबाट बस्ती हटाइएपछि उनीहरूलाई यहाँ राखिएको थियो।
सरकारले कतिपयलाई भूमिहीन ठहर गरेको छ भने कतिपयलाई विगतको जग्गाको अभिलेखका आधारमा भूमिहीनको सूचीमा राखेको छैन। प्रशासनले उनीहरूलाई आफ्नो गृहजिल्लामा गएर समन्वय गर्न भनेको छ। तर वर्षौंदेखि गाउँ छाडेर बसेका र त्यहाँ बस्ने ठाउँसमेत नभएका उनीहरू प्रशासनको निर्देशनले मात्रै समस्या समाधान नहुने बताउँछन्।
होल्डिङ सेन्टरमा रहेका कृष्णमाया राइगाईं, हरिमाया जिम्बा, दलमर्दन कामी, कमला चौधरी र पुनम पासवानलगायतले वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई नहटाउन माग गर्दै आएका छन्। खाना बन्द हुनु, बालबालिकाको पढाइ प्रभावित हुनु र बस्ने ठाउँको टुंगो नहुनुले दैनिक जीवन कठिन बनेको उनीहरूको भनाइ छ।
शुक्रबार साँझ पौने ५ बजेतिर प्रहरी टोली होल्डिङ सेन्टरबाट फर्किएको थियो। त्यसपछि उनीहरूले कम्तीमा त्यो रात त्यहीँ बस्न पाउने भन्दै राहत महसुस गरेका थिए। तर खाना र स्थायी बसोबासको समस्या भने कायमै छ।
मन्त्री रावल र सिडिओ खड्का अहिले उनीहरूसँग यही अवस्थाबारे छलफलमा छन्।