नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा' ले आफ्नो उपचारको सहयोगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन्।
अस्ट्रेलियाको 'निन्जा ए-लिग' क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको 'एसिएल' पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाएकी थिइन्।
चोटको उपचारमा लाग्नु पर्ने साम्बाले आफू अझै पनि उपचारका लागि भौंतारिएको र एन्फाबाट उचित सहयोग नपाएको बताइएकी हुन्।
ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते भएकी थिइन्। यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमा लामो पोस्ट हाल्दै सहयोगका लागि समर्थकसँग अपिल समेत गरेकी छन्।
‘पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु। सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरू गरेको केही समय बितिसक्ने थियो। तर अझै पनि म उपचारको लागि भौंतारिएको छु,’ साम्बाको भनाइ छ, ‘मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें।’
यसअघि पनि उनी चोटका कारण एक वर्षपछि मैदान फर्किएकी थिइन्। २०७८ सालमा मैदान फर्कनुअघि साम्बा एन्फाको पहलमा कतार पुगेकी थिइन्। जहाँ उनले शल्यक्रिया गराएकी थिइन्। तर यसपटक एन्फाबाट सहयोग नपाएको उनको गुनासो छ।
‘तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन। चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो। तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन। मैले पटक पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो। अघिल्लो साता एन्फा अध्यक्ष आफैले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफै गर्न भन्नुभयो। एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ,’ साम्बाले भनेकी छन्।
क्लबले पनि सहयोग गर्ने बताए पनि साम्बाले आफ्नो गम्भीर चोटका कारण फेरि कतारमा नै शल्यक्रिया गर्ने योजना रहेको बताएकी छन्।
‘यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ। तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोही अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ। क्लबले बीमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ। तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु। यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ।’
उनले सहयोगका लागि अपिल गरेकी छन्, ‘म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन्। तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन। मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु। यसपटक पुन:माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ।’
साथै उनले आफ्नो करिअरको सबभन्दा कठिन लडाइँ लड्न लागेको र एन्फाले साथ नदिए पनि समर्थकको साथ पाउने अपेक्षा गरेकी छन्।
‘आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ। एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफै निराश भएको छु। तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु। इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ। यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगतभन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेको छु। आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ। त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु,’ उनको भनाइ छ।
साम्बा र वेलिङ्टन फोनिक्सबीच दुई वर्षको सम्झौता छ। उनी चोटबाट फर्किएपछि क्लबमा फेरि आबद्ध हुने क्लबको भनाइ छ।
साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेकी थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो।
उनी फ्रान्स युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी भएकी थिइन्।
साम्बाले यसअघि इसराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्। तर युद्धका कारण उनी सिजनको बीचैमा फर्किएकी थिइन्। उनी युरोपियन लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।
त्यसअघि भारतको महिला लिगमा साम्बाले तहल्का पिटेकी थिइन्। पछिल्लो पटक उनले गोकुलम केरलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। १० खेलमा २९ गोल गर्दै उनी लिगकै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आबद्ध गोकुलमले लिग नै जितेको थियो।
भारतमा तीन सिजन महिला लिग खेल्दा उनले तीनै सिजन उपाधि जितेकी थिइन्। उनले भारतीय लिगमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमान समेत बनाएकी छन्।
साम्बा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येमा पर्छिन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्।
साम्बा २०१४ मा नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन् साम्बा। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटान विरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। उनले डेब्यू खेलमै गोल गरेकी थिइन्।
त्यसयता साम्बाले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन्। साम्बा यसै वर्ष नेपाली महिला टोलीको कप्तान समेत बनेकी थिइन्।