दाङमा स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बरुवागाउँ निवासी २७ बर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. २ प्रेमनगर निवासी ४२ बर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ९ निवासी ४३ बर्षीय प्रकाश केसी र जाटरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ८ निवासी २७ वर्षिय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता विनोद शाहले उनीहरु सबैलाई मंगलवार दिउँसो सुराकीको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नं. ९ जलकुन्डी क्षेत्रवाट पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथवाट स्रोत नखुलेको १५ लाख ७९ हजार ५ सय ८० नगद र अन्य नेपाली रकम समेत जोड्दा कुल ३० हजार ८ सय बढी रकम बरामद भएको डिएसपी शाहले बताए ।
जलप लगाएको मूर्तिलाई सुनको मूर्ति भन्दै बेच्ने गरेको खुलासा
उनीहरुले काठमाडौंबाट बुद्धको मुर्ती किनेर त्यसमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महंगोमा बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
‘बुद्धको मुर्ती काठमान्डौंमा किनेर त्यसमा सुनको जलप लगाई दाङको नाका हुँदै भारतमा गएर झुक्काएर महंगोमा बेचेको खुल्न आएको छ,’ डिएसपी शाहले भने ।
प्रहरीका अनुसार उनीहरुले दाङको राजपुरनाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई सुनको मूर्ति भन्दै महंगोमा बेचेका थिए ।
मूर्ति बेचर उनीहरु जिल्लाकै भैंसाही नाका हुँदै फर्कदै गर्दा गोप्य सुराकीको आधारमा पक्राउ परेका हुन् ।
‘उनीहरु सबैले रकम भागवन्डा गरि सकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता शाहले भने ‘उनीहरुकै बिचबाट सूचना प्राप्त भएपछि प्रहरीलाई सजिलो भएको हो।’
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान सुरु गरिएको डिएसपी शाहले जानकारी दिए ।