सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
ईश्वरपुर नगरपालिका–११ करमुहान निवासी ३५ वर्षीय राजेश साहलाई शनिबार राति ८ बजे गाउँ नजिकै गोली लागेको थियो ।
गोली लागेका साहले नै बोकेको पेस्तोल पक्राउ परेका रञ्जित रायले असावधानिकरुपमा चलाउँदा साहलाई नाइटो नजिक गोली लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उमेश साह गोली लागेका राजेश साहका भाइ हुन् ।
घटनामा प्रयोग भएको मेड इन युएसए ११७० लेखिएको ७.५ एमएम कैलिबरको पेस्तोल एक थान र दुई थान गोली, पेस्तोल प्रयोग हुने म्यागजिन एक थान ईश्वरपुर–११ करमुहानबाट खैरातर्फ जाने बाटोको झाडीबाट प्रहरीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।
गोली लागेका साहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।
(रासस)