जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसरमा शुक्रबार ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ।
समारोह समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुक्तरूपमा मुकेशलाई सम्मानपत्र प्रदान गरेका हुन्।
समारोहका प्रमुख केसीले घाइते मुकेशको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचार र हेरचाहमा विशेष ध्यान दिन उनका परिवारलाई आग्रह गरेका थिए। सो अवसरमा मुकेशका बुबा कृष्णमान कायस्थले मुकेश प्रतिष्ठान गठनका लागि आवश्यक पलह गरिदिन आग्रह गरेका छन्।
मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष एवं मुकेशका तत्कालीन विद्यालयका प्रधानाध्यापकसमेत रहेका हीरा शर्मा नेपालले पूर्वप्रधानमन्त्रीले नै घोषणा गरेको पर्यटन मन्त्रालयबाट तत्कालीन जिल्ला विकास समितिमार्फत आएको पाँच लाख रुपैयाँ रकम लिन जाँदा नगरपालिकामार्फत आउँछ भनेर फिर्ता पठाएको बताए। उनले उक्त रकम अझसम्म पनि प्राप्त नभएको उल्लेख गर्दै त्यसलाई पुनः प्राप्त गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समिति र नगरपालिकालाई आग्रह गरे।
धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जुले कुनै कार्यक्रमको योजना बनाएर पेश गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक पहल गर्ने बताए।
जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्। उनी १५ दिनदेखि थप बिरामी परेका छन्।
स्वाश/प्रस्वाशमा समस्या देखिएको उनको शिर मेमोरियल अस्पतालमा केही दिन उपचार गरेर पुनः घरमा नै उपचार गराइरहेको उनका बुबा कृष्णमानले बताए। उनलाई अहिले पनि अक्सिन दिइराखेको छ।
अस्पतालमा नै राखेर उपचार गर्न आग्रह गरे पनि सङ्क्रमण हुनसक्ने भन्दै घरमा राखेर उपचार गर्न चिकित्सकहरुले सल्लाह दिएपछि घरमा नै अक्सिन जोडेर राखिएको कृष्णमानले बताए। रासस