दसैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाडपर्वमा ट्राफिक व्यवस्थापनमा कुनै समस्या नआउने ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले स्पष्ट पारेका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरूले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारेका हुन्।
उनले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको ट्राफिक व्यवस्थापन गरेका छौं। सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ। हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं।’
यात्रुहरूलाई सजिलो तुल्याउनेगरी आफूहरूले सुरक्षा व्यवस्था अपनाएको उनको भनाइ छ।
उनले यात्रुहरूलाई सहज होस् भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरूमा नागरिकता सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको सुनाए।
जसअन्तर्गत नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन्।
उनले एक/दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने विश्वास दिलाए।
सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरबाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फ पनि आफूहरूले विशेष ध्यान दिएको सुनाए।
उनले भने,‘चालकको लापरबाहीको कारणले धेरै दुर्घटना भएको देखिन्छ। मादक पदार्थ सेवन गर्ने, एउटै चालकले लामो दूरीसम्म गाडी चलाउने कारण बनेका छन्, यसलाई मध्यनजर गर्दै हामीले लामो दूरीको गाडीमा अनिवार्य रूपमा दुई जना चालक राख्न कडाइ गरेका छौं। यसको लागि काठमाडौंबाट छुट्ने गाडीमा थानकोटमा ड्राइभरको फोटो लिन्छौं। र, सोही फोटो अरु ठाउँमा पुर्याउँछौं।’
चाडपर्वको मुखमा दुर्घटना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घटना नहोस् भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाइएको उनको भनाइ छ।
उनले अहिले ट्राफिक प्रहरीको जनशक्ति १३ सय ६८ जना रहेको सुनाए। यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन्।
उनले भने,‘६, ७ सय सवारी एक जना ट्राफिक प्रहरीले हेर्नुपरेको छ। त्यस्तै, ‘हिट एण्ड रन’ का घटना पनि बढेकोले आफूहरूले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए।
ढकालले बसपार्कमा यात्रुहरूलाई सास्ती नहोस् र कोही पनि यात्रु नठगिउन् भन्नको लागि बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि सुनाए। त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाइ छ।
जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडिओ-जिंगल बजाउनको लागि एक हजार गाडीलाई वितरण गरिएको पनि उनले जनाए।
उनले काठमाडौंको ट्राफिक व्यवस्था राम्रो रहेको सुनाए। सवारी नियम उल्लंघन गर्नेहरू दैनिक १६, १७ सय सवारीहरू कारबाहीमा पर्ने गरेको पनि उनले आंकडा सुनाए।
त्यस्तै, मापसे गर्ने पनि दैनिक १५० जना कारबाहीमा परेका छन्। ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरू हिजोबाट परिचालित भएको पनि सुनाए।
ढकालले केही समस्या परे सिधै आफूहरूलाई सम्पर्क गर्न पनि सुझाए। त्यसको लागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन्। आफूहरू चौबिसै घण्टा सेवमा समर्पित रहेको उनको भनाइ छ।