बर्दियाको गेरूवा गाउँपालिका–५ की १० वर्षीया भारती (एन्जल) देउवा हत्या घटनामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
जिल्ला अदालत बर्दियाले मुख्य अभियुक्त मानिएका २१ वर्षीय समिर सुनार, ४२ वर्षीय मामा टेकबहादुर शाही र उनका २४ वर्षीय भान्जा शिबु शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
पछिल्लो प्रहरी अनुसन्धानबाट एन्जलमाथि बलात्कार पछि हत्या भएको खुलेको बर्दियाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए।
‘सुरूमा एन्जलले कानमा लगाएका सुन लुट्ने उदेश्यले लुटपाट मात्रै भएको भन्ने थियो,’ कार्कीले भने, ‘तर अनुसन्धानका क्रममा सुन लुटपाटपछि बलात्कारसमेत भएको भन्ने खुलेको छ।’
लुटपाटमा मामा– भान्जा शाहीले सुनारलाई सघाएको तथा सहयोगी भूमिका खेलेको तथ्य खुलेको कार्कीले बताए।
एन्जलमाथि लुटपाट गरी हत्या गरिएको घटनाका प्रमुख अभियुक्त सुनार असोज २२ गते पक्राउ परेका थिए भने कार्तिक १८ गते फरार टेकबहादुर शाही पक्राउ परेका थिए भने फरार शिबु शाही आफैँ अदालतमा उपस्थित भएका थिए।
गेरूवा गाउँपालिका–५ स्थित झबहीमा खोला किनारमा गाडेको अवस्थामा असोज २० गते दिउँसो एन्जलको शव फेला परेको थियो।
असोज १७ गते दिउँसोदेखि बेपत्ता एन्जलबारे परिवारले अबेर राति मात्रै प्रहरीलाई सूचना दिएको थियो। असोज १८ गतेदेखि एन्जलको खोजीमा प्रहरी र स्थानीय खटिएका थिए।
खोजीको क्रममा स्थानीयस्तरमा सिँचाइका लागि निर्माण गरिएको खोलाको इन्टेकको पानी सुकाएपछि एन्जलले प्रयोग गरेको पहेंलो रङको साइकल असोज फेला परेको थियो।
त्यसअघि स्थानीय र प्रहरी मिलेर झाडी सफा गरेपछि एन्जलको चप्पल फेला परेको थियो ।
असोज २० गते गुडिखोला किनारमा बालुवामा गाडेको अवस्थामा एन्जलको शव फेला परेको थियो ।
समिर सुनारले एन्जलको हत्या गरी थुतेको सुनका मुन्द्री र चाँदीको सिक्री बेच्न गएको खुलेपछि प्रहरीले उनीहरूलाई पछ्याएर पक्राउ गर्न सफल भएको थियो ।
यो पनिः
प्रहरीले यसरी पत्ता लगाएको थियो १० वर्षीया एन्जलको हत्या आरोपीलाई