एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै दुवै समूह पदाधिकारीमा आ-आफ्नो पक्षका उम्मेदवार टुंगो लगाउन घनिभूत छलफलमा छन्।
संस्थापन इतरबाट ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिँदैछन्। उनको समूहमा रहेका नेताहरू पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन थापा गाउँस्थित कार्यालयमा छलफलमा छ।
सोमबार बिहानसम्म केही पदाधिकारीमा उम्मेदवारको नाम टुंगो लागिसकेको इतरपक्षका एक नेताले जानकारी दिएका छन्।
पदाधिकारीको संख्या बढाउने गरी आइतबार केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव पारित गरेसँगै तुलनात्मक रूपमा ईश्वर पोखरेल समूहलाई आकांक्षीहरूको व्यवस्थापनका लागि सहज भएको ती नेताले बताए।
हालसम्म उपाध्यक्षमा पाँचमध्ये चार जनाको नाम टुंगो लागिसकेको छ। उपमहासचिवमा दुई र सचिवमा दुई जना टुंगो लाग्न बाँकी छ।
जसमध्ये गोकर्ण विष्ट, परशुमेघि गुरूङ, बिन्दा पाण्डे र अरूण नेपाललाई उपाध्यक्षको उम्मेदवार बनाउने तयारी छ। एक जनाको नामबारे भने छलफल भइरहेको छ।
महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ।
तीन उपमहासचिवमध्ये अहिलेसम्म योगेश भट्टराईको नाम टुंगिसकेको छ। बाँकी दुई जनाबारे छलफल भइरहेको छ।
त्यस्तै सचिवमा कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल र इन्द्रलाल सापकोटालाई उठाउने तयारी छ।
जारी महाधिवेशनबाट ९ जना सचिव रहनेगरी विधान संशोधन गरिएको छ।
९ जनामध्ये दुई जनाको नाम टुंगो लाग्न बाँकी रहेको एक नेताले जानकारी दिए।
इतर पक्ष ओली पक्षका असन्तुष्टहरूलाई समेट्ने रणनीतिमा पनि छ।
सोमबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण र बिहान १०:३० देखि दिउँसो साढे १ बजेसम्म फाराम दर्ता गर्ने कार्यक्रम छ।