जसले व्यवसाय हुर्काए
केही वर्षअघिसम्म प्रशान्त घिमिरे हाइलाइफ फुड्स कम्पनीमा सक्रिय थिए।
यो उनको पारिवारिक व्यवसाय थियो। उनी यसलाई सम्हालेर उत्पादन बढाउँदै ब्रान्डिङ गर्न दौडिए।
पाँच वर्ष उनी दिनरात नभनी खटे। उनको मेहनत र दृढताले हाइलाइफलाई एउटा उचाइमा पुर्यायो। यसको बजार राम्रो भएपछि उनले यसमा लगानीकर्ता भित्र्याए।
हाइलाइफले निश्चित बाटो समातिसकेपछि प्रशान्तले त्यसलाई डोहोर्याउन छाडे।
'छोटो समयमै हाइलाइफ यसरी माथि पुग्यो कि केही वर्ष नयाँ उत्पादन गर्नुभन्दा पनि चुपचाप बस्नुपर्ने अवस्था भयो,' ३४ वर्षीय प्रशान्तले भने, 'सफ्टवेयरले नै व्यवस्थापन गर्न थालिसकेको थियो। पाँच–सात वर्षका लागि पाइपलाइनमा रहेका काम अगाडि नै भइसकेका थिए।'
दिनरात खटिरहेका प्रशान्तलाई अब यसपछि के गर्ने भन्ने भयो। यसरी एकै ठाउँमा बसेर हुँदैन भन्ने सोचे।
अनि उनी मोडिए अर्को व्यवसायतिर।
प्रशान्तले दुई वर्षअघि आफ्नी श्रीमती कामनासँग मिलेर सुरू गरे 'पहाडी फुड्स'।
पहाडी फुड्सले देशका विभिन्न ठाउँबाट स्थानीय खाद्य उत्पादनहरू संकलन गर्छ र ब्रान्डिङ गरेर बजारमा बिक्री गर्छ।
मह, चामल, दाल, चियापत्ती र अचारबाट सुरू भएको पहाडी फुड्समा अहिले दुई सय वटाभन्दा बढी खाद्य उत्पादन पाइन्छ।
'हाइलाइफले स्वदेशी बजार लक्ष्य गरेको थियो,' उनले भने, 'पहाडी फुड्सको विशेषता अलि फरक छ। यसमा हामीले स्थानीय उत्पादन संकलन गरेर ब्रान्डिङ सहित बेच्छौं। हामी स्वदेशीसँगै विदेशी बजार पनि केन्द्रित छौं।'
यसरी देशका विभिन्न कुनाबाट सामग्री संकलन गर्नु प्रशान्तका लागि नयाँ काम थियो। तर उनले यसबारे पहिल्यै अध्ययन गरिरहेका थिए।
हाइलाइफको चिउरा बनाउन उनी गाउँघरमा चामल किन्न जान्थे। सो क्रममा रैथाने उत्पादनले बजार नपाएको देखेका थिए। ती उत्पादन सहरसम्म पुर्याएर बजारीकरण गर्न सके राम्रो सम्भावना छ भन्ने उनलाई लाग्थ्यो।
'त्यही अनुभवले म र कामनाले बीस–बीस लाख गरी ४० लाख रूपैयाँ लगानीमा पहाडी फुड्स सुरू गर्यौं,' प्रशान्तले भने, 'अहिले मासिक दुई करोड रूपैयाँभन्दा बढीको कारोबार भइरहेको छ।'
कम्पनीको मार्केटिङ, बिक्री र वितरण प्रशान्तले हेर्छन्। व्यवस्थापन कामनाले सम्हालेकी छिन्। कम्पनीमा अहिले सय जनाले रोजगारी पाएका प्रशान्तले बताए।
अहिले पहाडी फुड्समा पर्वत र बागलुङको जेठो बुढो चामल र सिमी, जुम्लाको फापरको पिठो र मकैको च्याख्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीको गेडागुडी, मकवानपुरको ताइचिन चिउरा, रसुवा, सिन्धुपाल्चोक र काभ्रेको राजमा लगायत थुप्रै जिल्लाका विशेष उत्पादन पाइन्छ।
यी सबै उत्पादनका लागि उनीहरूले ३७ वटाभन्दा बढी जिल्लाका पन्ध्र हजारभन्दा बढी किसानसँग सहकार्य गरेका छन्। यो सहकार्य जिल्ला कृषि विकास कार्यालयसँगको समन्वयमा भइरहेको छ। यही कार्यालयमार्फत् उनीहरू कुन गाउँमा के खेती भइरहेको छ भन्नेबारे जानकारी लिन्छन्। अनि किसानकहाँ पुगेर बाली लिन्छन्।
यसबाहेक विभिन्न जिल्लाहरूमा लाग्ने हाट बजारबाट पनि उत्पादन संकलन गर्छन्।
'उत्पादन बढाउने र किसानहरूसँग सहकार्य गर्ने क्रम जारी छ,' उनले भने।
हरेक सिजनमा फल्ने अन्नबाली उनीहरू सिधै किसानको बारीबाट उठाउँछन्। केलाउन, सफा गर्न भैरहवामा कारखाना खोलेका छन्। सबै उत्पादनको प्रशोधन र प्याकेजिङ त्यहीँ हुन्छ। यसपछि काठमाडौंबाट बिक्री वितरण गरिन्छ।
पहाडी फुड्समा विभिन्न समुदायले बनाएका रैथाने अचार पनि पाइन्छ। मुला, आँप, टिमुर, थकाली, तामा टुसाको अचार, निगुरो अचार, छोयला अचार लगायत करिब एक दर्जन बढी प्रकारको अचार उपलब्ध छ। सिजन अनुसार नयाँ स्वाद पनि थपिन्छ।
'यहाँ पाइने अचार फरक स्वादको हुन्छ,' प्रशान्तले भने, 'यी अचार विभिन्न जिल्लाका फरक फरक समुदायका विशेष परिकार हुन्। किसानहरूले अनुरोध गरेपछि बेच्न थालेका हौं। सबै जसो अचारको बजार माग राम्रो छ।'
यसरी सम्बन्धित किसान समुदायसँग सिधै सम्पर्क गरेर अचार सहरसम्म ल्याउँदा किसान र उत्पादकलाई लाभ भएको उनको भनाइ छ।
हाल ठूला मार्ट, स्टोर, किराना पसल लगायतमा पहाडी फुड्सका सामान पाइन्छ। अनलाइनबाट पनि मगाउन सकिन्छ।
व्यवसायमा आफ्नो अनुभवसँगै आफूले बनाएको सञ्जालका कारण पहाडी फुड्सलाई कम समयमा सोचेभन्दा माथि पुर्याउन सफल भएको प्रशान्त बताउँछन्।
अहिले कम्पनीले बेच्ने खाद्य उत्पादन अमेरिका, अस्ट्रेलिया, जापान, हङकङ, युरोप लगायत मुलुकमा पुगिरहेको छ।
'केही मुलुकमा पहाडी फुड्सबाट सिधै सामान गइरहेको छ। केहीमा भने नेपालमा कार्यालय रहेको विदेशी कम्पनीले पहाडीबाट लिएका छन्,' उनले भने, 'चामल अहिले बाहिर पठाउन प्रतिबन्ध छ। त्यसैले योबाहेक सबै उत्पादन बाहिर जान्छ।'
यसरी स्थानीय उत्पादनको बजारीकरणसँगै कृषि पर्यटनको अवधारणा अघि बढाइरहेका प्रशान्तले प्रत्यक्ष रूपमा सात वर्षअघि मात्र व्यावसायिक यात्रा थालेका हुन्।
प्रशान्तका बुबा तुलसी घिमिरेले २०५८ सालमा भैरहवामा उद्योग खोलेका थिए। त्यसले 'महिमा' ब्रान्ड नाममा कर्नफ्लेक्स उत्पादन गर्थ्यो। त्यो बेला कर्नफ्लेक्स खाने चलन धेरै थिएन। बिस्तारै तुलसीले यसबाट आशा मारिसकेका थिए।
तैपनि यो काम आफ्ना छोरा प्रशान्तले सम्हालून् भन्ने उनको चाहना थियो। प्रशान्त तयार थिए, लगानी डुब्ने हो कि भन्ने डर पनि थियो। तर पहिलेभन्दा समय र कर्नफ्लेक्सको बजार फेरिएकाले उनले आँट गरे। र, लगानी बढाएर व्यवसायलाई नयाँ नाम दिए — हाइलाइफ।
करिब पाँच वर्षमै उनले हाइलाइफलाई बजारमा बलियो स्थान दिलाउन सफल भए। हाइलाइफले हाल सय वटाभन्दा बढी खाद्य उत्पादन गर्छ।
हाइलाइफमा अहिले हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड र बिग इन्डस्ट्रिज लिमिटेडले साझेदारी गरेका छन्। यहाँ लगानीकर्ता भित्र्याएसँगै प्रशान्तको जिम्मेवारी कम भएको हो।
हाइलाइफमै धेरथोर अनुभव बटुलेकी कामना र प्रशान्तले स्थानीय तथा रैथाने उत्पादन आकर्षक प्याकेजिङ सहित बिक्री वितरण गर्ने योजनाले पहाडी फुड्स सुरू गरेका हुन्।
'पहाडी फुड्समा अझै धेरै खानेकुरा थप्नुपर्ने छ। गर्नुपर्ने कामहरू धेरै छन्,' प्रशान्तले भने, 'केही वर्षमा यो कम्पनी पनि निकै माथि पुर्याउनु छ। त्यसका लागि अहिले हामी लागिपरेका छौं।'