प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट मनोद्विपक पदार्थ ५१९४ एम्पुल र लागुऔषध नाइट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।
ब्युरोले बिहीबार काठमाडौं-२८ रत्नपार्कस्थित सडक किनारबाट मकवानपुरका ५५ वर्षीय रमेश शिवभक्ति, बालुकुमारी पुलबाट काभ्रेका २४ वर्षीय धनबहाददुर वाइबा र मकवानपुरकी ३६ वर्षीया सुनिता गोलेलाई पक्राउ गरेको हो।
गोले र वाइबाटको साथबाट डाइजेपाम १४८७ एम्पुल, ब्रुफेनोर्फिन १५६४ एम्पुल, फेनारगन १५७० एम्पुल र नाइट्रोजेपाम ५५५० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
शिवभक्तिको साथबाट मनोद्विपक पदार्थ डाइजेपाम १९४ एम्पुल, ब्रुफेनोर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल बरामद भएको छ।
पक्राउ परेका शिवभक्ति र वाइबा यसअघि पनि लागुऔषध कारोबारमा संलग्न रहेको ब्युरोले जनाएको छ। उनीहरू भारतको सिमा नाकाबाट नियन्त्रित मनोद्विपक पदार्थ काठमाडौं भित्र्याउने मुख्य व्यक्ति रहेको प्रारम्भिक
अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
एक किलो लागुऔषध पोल्याण्डसहित भारतीय पक्राउ
महानगरीय प्रहरी प्रभाग साँखुले अबैध लागुऔषध पोल्याण्ड एक किलोसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार बिहान साढे ११ बजे शंखरापुर नगरपालिका-९ इन्द्रेणीमा लागुऔषधको कारोबार भइरहेको स्थानबाट बा९६प ९८५३ नम्बरको मोटरसाइकलबाट गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने भारत जितिया जिल्ला पोखरियाका राकेश साहलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका उनी लागुऔषध कारोबारी रहेको थाहा भएको छ। यस्तै, महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। वीगन्जबाट काठमाडौं आउँदै गरेको ना५ख ८२५० नम्बरको सवारी साधन नागढुङगामा चेकजाँच गर्दा चितवन रत्ननगर नगरपालिका-१२ का विशाल पौडेलको साथबाट फेनारागन,डाइजेपाम र नुफिन गरी २७ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।