नेसनल मेडिकल कलेज वीरगन्जमा दोस्रो दिन पनि शुक्रबार विद्यार्थीले धर्ना दिएका छन्। बिहीबारदेखि धर्नामा बसेका विद्यार्थीलाई शुक्रबार कलेज प्रशासनले दुर्व्यवहार गरेको छ।
विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्। ‘केही मान्छे आएर हप्कीदप्की गरे। हातपात गर्ने प्रयास गरे,’ एक विद्यार्थीले भने।
विद्यार्थी र कलेज प्रशासनबीच धकेलाधकेल समेत भएको थियो। प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा मौखिक गुनासो गरेका छन्।
विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो। दुर्व्यवहार भएपछि विद्यार्थी र्यालीसहित प्रहरीमा पुगेका थिए।
कलेजले भने विद्यार्थीमाथि दुर्व्यवहार नभएको दाबी गरेको छ। कलेज सञ्चालक बसरूद्दिन अन्सारीले विद्यार्थीको धर्नाका बखत कुनै पनि किसिमको दुर्व्यवहार नभएको बताए।
नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।
तर, उक्त निर्देशन दिएको एघार दिन पुगे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थी धर्नामा बसेका थिए। पर्सा प्रहरीले विद्यार्थीले सुरक्षा मागेको बतायो। प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले धर्नामा कलेज या बाहिरका व्यक्तिले दुर्व्यहार गरेको गुनासो आएपछि सुरक्षा बढाएको बताए।
नेसनल मेडिकल कलेजले एमबिबिएसमा सय सिट संख्यामा विद्यार्थी भर्ना गरिरहेको छ। त्यहाँ अध्ययनरत् अधिकांश विद्यार्थीले कलेजले अतिरिक्त शुल्क उठाएको बताइरहेका छन्। सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।
होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको छ। शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको विद्यार्थीहरू बताउँछन्।