कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन्।
‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ,‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’
सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्।
विज्ञप्ति जारी गर्नेमा सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरूण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुवास घिमिरे र हरिबहादुर थापा छन्।
यसअघि मंगलबारको काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल छापेको थियो।
नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ।
सोही विषयलाई लिएर मंगलबार साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको छ।
सम्पादक काफ्ले पहिलादेखि नै चीनसम्बन्धी एकपक्षीय समाचार दिइरहेको र यसपालि हद नाघेको दूतावासको भनाइ छ। काफ्ले चीनविरोधी शक्तिको गोटी बनेको पनि दूतावासको आरोप छ।