कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा भीड बढेपछि काठमाडौं महानगरपालिकाले विभिन्न ११ स्थानमा वैकल्पिक तरकारी बजारका लागि ठाउँ उपलब्ध गराउने भएको छ।
महानगरले महानगर क्षेत्रभित्रका कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गगंबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तीनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो।
पहिलो चरणमा महानगरपालिकाले परीक्षणका लागि ११ ठाउँबाट थोक विक्रीका लागि स्थान उपलब्ध गराएको काठमाडौं महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले बताए।
‘कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण–व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान २ बजेदेखि ८ बजेसम्म विक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौं,’ भण्डारीले भने, ‘सबै ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौं।’
बुधबारदेखि यी ठाउँहरूबाट तरकारी विक्री सुरू गर्ने तयारी रहेको उनले बताए।
सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफूल तथा तरकारी बजारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो।
त्यसैगरी, बैठकले भारतबाट तरकारी तथा फलफूल नेपाल भित्रिँदा जोखिम बढ्ने भन्दै भारतबाट भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्ण रूपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने निर्णय गरेको थियो।
त्यस्तै, फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वभाविक मूल्यबारे सम्बन्धित सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ।