प्रदेश ५ का ११ जिल्लामा हालसम्म ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ मा भेटिएका संक्रमित मध्ये झण्डै आधा संक्रमित कपिलवस्तु जिल्लाबाट रहेका छन्।
हालसम्म कपिलवस्तुमा ४ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार त्यहाँका १० वटै पालिकामा कोरोना संक्रमित रहेका छन्।
कपिलवस्तुमा अझैपनि भारतबाट नेपालीहरु आउने क्रम जारी रहेको र क्वारेन्टिनमा रहेकाहरुको समेत स्वाब संकलन हुन बाँकी रहेकोले संक्रमितको संख्या थपिदै जाने कोरोना फोकल पर्सन कुमार थापाले बताए।
कपिवस्तुमा बुधबारसम्मको तथ्यांक अनुसार ३ हजार ३ सय २५ जना क्वारेन्टिनमा छन् भने १ हजार ३ सय ९६ स्वाव परीक्षण गर्न बाँकी रहेको छ।
कोरोना परीक्षणका लागि प्रदेशका १२ वटै जिल्लाबाट १८ हजार ३ सय ६३ जनाको स्वाब संकलन गरिएको छ, जसमा १४ हजार २ सय ६७ जनाको स्वाव परीक्षण रिपोर्ट आएको छ।
ती मध्ये ८ सय ११ जनामा कोरोना पोजेटिभ पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संकलन गरिएको मध्ये ४ हजार १ सय जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको छ।
त्यस्तै बुधबार मात्रै ८ सय ८५ जनाको स्वाब संकलन गरिएको निर्देशनालयले जनाएको छ।
कपिलवस्तु बाहेकका बाँकी संक्रमितमध्ये बाँकेमा २ सय १३ जना रहेका छन्।
रुपन्देहीमा ८९, दाङमा ५८, नवलपरासीमा १५, जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
निर्देशनालयका अनुसार बर्दियामा १३, पाल्पामा ७, गुल्मीमा ५, तथा अर्घाखाँची, पूर्वी रुकुम र प्यूठानमा ३-३ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये बुधबारसम्म ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।
बाँकी ७ सय ३१ जना संक्रमितको प्रदेशका कोरोना विशेष अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा उपचार भईरहेको निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए।
प्रदेशका ११ वटा जिल्लामा संक्रमितको संख्या दैनिक रूपमा थपिदै गएपनि एउटा पहाडी जिल्ला रोल्पामा भने हालसम्म संक्रमत फेला परेका छैनन्।