प्रहरीले नियन्त्रणमा लिने क्रममा ज्यान गुमाएका अमेरिकाका जर्ज फ्लोयडलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हेन्नेपिन काउन्टी मेडिकल एग्जामिनरको अफिसले जारी गरेको पोष्टमर्टम रिपोर्टमा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।
४६ वर्षिय फ्लोयडमा गत अप्रिल ३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको रिपोर्टले जनाएको छ। उनको मृत्युपछि पनि मिनीसोटाको स्वास्थ्य विभागले स्वाब परीक्षण गरेको थियो। त्यसमा पनि कोरोनाभाइरस पोजिटिभ देखिएको मेडिकल एग्जामिनरका प्रमुख एन्ड्रिउ एम बेकरले बताए।
गत सोमबार जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा अत्याधिक बल प्रयोगका कारण मृत्यु भएको थियो। एक गोरा प्रहरीले उनको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेका थिए। ‘म सास फेर्न सक्दिनँ,’ भन्दै याचना गरिरहेका फ्लोयडको केहीबेरपछि मृत्यु भएको थियो।
फ्लोयडलाई प्रहरी अधिकारीले गरेको क्रुरता भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त हत्या र नश्लीय विभेदको विरोधमा एक सातादेखि आन्दोलन जारी छ। केही सहरहरूमा कर्फ्यू जारी गरिएको छ तैपनि अवज्ञा गर्दै प्रदर्शनकारीहरू सडकमा आइरहेका छन्।